विश्व अहिले इतिहासकै ठूलो संकटमा हिँडिरहेको छ । यस संकटले अन्य क्षेत्रमा झैं अन्तरराष्ट्रिय व्यापारलाई समेत प्रभावित गरिरहेको छ । यसको स्वाभाविक प्रभाव नेपालमा पनि पर्ने निश्चित छ । यस प्रभावलाई न्यूनीकरण गर्न विश्वभर अनेक कोणबाट प्रयत्नहरू भइरहेका छन् । नेपालमा पनि वर्तमान संकटमा सृजित समस्याले आयात, निर्यात व्यापार (वस्तु तथा सेवा) मा पार्ने प्रभाव र त्यसले नेपालको भुक्तानी सन्तुलनमा पर्ने प्रभावका बारेमा अध्ययन शुरू भएको छ । नेपाल राष्ट्र बैंकले अध्ययन गर्न समिति नै गठन गरेको छ भने अन्य सरोकारवाला निकायहरू पनि वर्तमान संकटको आयतन मापन गर्दै भविष्यमा चाल्नुपर्ने कदमका बारेमा आन्तरिक गृहकार्य गरिरहेका छन् ।
आयातलाई न्यूनतम विन्दुमा पुर्याउन आवश्यक छ, ताकि हामीसँग सञ्चित विदेशी मुद्रा अत्यावश्यक कृषिजन्य उत्पादन, इन्धन, मेशिनरी र औद्योगिक आपूर्तिको भुक्तानीका लागि पर्याप्त हुन सकोस् ।
वर्तमान अवस्थामा नेपालको वैदेशिक व्यापारलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती प्रमुखताका साथ देखा परेको छ । यस व्यवस्थापनमा दुईओटा पक्ष आकर्षित हुन्छन् । पहिलो, अति आवश्यक खाद्य वस्तुहरू, औद्योगिक मेशिनरी र कच्चापदार्थको अनवरत, सुनिश्चित र पर्याप्त आपूर्ति, भन्सार राजस्वमा आउने ह्रासको न्यूनीकरण र दोस्रो निर्यात प्रवर्द्धन ।
औद्योगिक आपूर्ति र मेशिनरी (क्यापिटल गुड्स)को आयात नेपालको कुल आयातको करीब ५० प्रतिशत रहेको छ । यो आयातले मुलुकमा औद्योगिकीकरण र रोजगारी सृजना गरेको छ । आन्तरिक औद्योगिक क्रियाकलापलाई व्यवस्थित गर्दै यो आयातलाई निरन्तरता प्रदान गर्नु चुनौतीपूर्ण रहेको छ । कुल आयातको १५ प्रतिशतको हाराहारीमा रहेको खाद्य तथा पेय पदार्थको आयातलाई व्यवस्थापन गर्नु दोस्रो चुनौती हो । खाद्य तथा पेय पदार्थको आयातलाई खाद्य र पेय गरी दुई भागमा वर्गीकरण गरी अत्यावश्यक खाद्य पदार्थहरू धान, चामल, गहुँ, मकै, कोदोको आयातलाई पहिलो प्राथमिकतामा राखी सहज आपूर्तिको व्यवस्था गर्नु अर्को चुनौती हो । तयारी खाद्यमा पनि नभई नहुने खालका वस्तु र आयात नगर्दा पनि फरक नपर्ने वस्तुहरूको सूची तयार गरी तदनुरूप आयात व्यवस्थापन हुन जरुरी छ । कुनै आयात अस्वाभाविक आयतनमा भएमा त्यस्ता आयातमा परिमाणात्मक बन्देज लगाउन पनि सकिन्छ । हालै नेपाल सरकारले केराउ र छोकडाको आयातमा बन्देज लगाएर यस अभ्यासको थालनी गरी पनि सकेको छ । यस्ता व्यवस्थाहरूले नेपालको आयातको वर्तमान आकारलाई धेरै हदसम्म यथार्थपरक बनाउन सक्ने देखिन्छ । पेय पदार्थ र धूम्रपानजस्ता वस्तुहरूलाई नियन्त्रण गर्न जरुरी छ ।
गैरखाद्य वस्तुहरूमा अत्यावश्यक र विलासिता गरी दुई भागमा वर्गीकृत गरी सोहीअनुरूप व्यवस्था गर्नु जरुरी छ । महँगा गाडी, घडी, क्यामरा, चश्मा, फर्निचर, पहिरन, ब्यागेज, जुत्ता, गहना, हीरामोती, रत्न, सुनचाँदी, गृह सजावटका सामान आदिमा पनि विशेष व्यवस्था हुन जरुरी छ, ताकि आयातको आकारलाई न्यून गर्न सकियोस् ।
विप्रेषणबाट सृजित तडकभडकयुक्त प्रतिस्पर्धाले पनि नेपालको आयात वृद्धि गर्न भूमिका खेलेको विज्ञहरूको मत रहेको छ । यो आयातलाई निरुत्साहन गर्न जरुरी छ । विलासिताका वस्तुहरूको आयातमा परिमाणात्मक बन्देज, गुणस्तरका प्रावधानहरूको कडा व्यवस्था र भन्सारदर वृद्धिलगायत प्रावधानबाट यस आयातलाई निरुत्साहन गर्न सकिन्छ ।
विदेशबाट पर्यटक आउने क्रम बन्द हुँदा पर्यटन उद्योगमा पर्ने असरको आप्mनै पाटो छ । सेवा व्यापारमा नेपालबाट बाहिर जाने र भित्र आउने वैदेशिक मुद्राको आकारमा धेरै ठूलो विषमता नरहेको अवस्था छ । यस अवस्थामा नेपालबाट विदेश जाने र विदेशबाट नेपाल आउने क्रम रोकिएसँगै यो क्षेत्रमा पीँध तहको सन्तुलन कायम हुने देखिन्छ ।
नेपालको निर्यात व्यापार कृषि तथा पेय पदार्थ, औद्योगिक आपूर्ति र अन्य उपभोग्य सामग्रीहरू (म्यानुफ्याक्चर तीनओटा प्रधान वर्गमा केन्द्रित छ । नेपालका यी तीनओटै क्षेत्रका बजार पनि निश्चित छन्, ग्राहक पनि निश्चित छन् र नेपालको आपूर्ति क्षमता पनि निश्चित छ । अवस्था सामान्य हुँदा साथ यी क्षेत्रहरू पहिले जेजस्तो अवस्थामा थिए । भविष्यमा पनि स्वतः सोही आकार ग्रहण गर्ने निश्चित छ । अहिलेको समयमा सबैभन्दा महŒवपूर्ण पक्ष भनेको गन्तव्य मुुलुकको रूट खुल्ना साथ वस्तुहरू आपूर्ति गर्ने क्षमता कायम राख्नु नै हो ।
वर्तमान संकटमा नेपालको वैदेशिक व्यापारमा पीँधस्तरको सन्तुलन कायम हुने देखिन्छ । यो सन्तुलन न्यून आयात र न्यून निर्यातका कारण सृजना हुने गर्छ । यो सन्तुलनलाई जति तल्लो तहमा झार्न सकिन्छ त्यति नै बुद्धिमत्तापूर्ण निर्णय हुनेछ । हामीकहाँ निर्यात अभिवृद्धि गर्ने या निर्यातलाई वर्तमान अवस्थामा टिकाइराख्ने विकल्पहरू एकदम न्यून मात्रामा उपलब्ध छन् । तर, आयातलाई न्यून विन्दुमा झार्ने धेरै विकल्प हामीसँग उपलब्ध छन्, जसको योजनाबद्ध, व्यवस्थित र बुद्धिमत्तापूर्ण कार्यान्वयन आवश्यक छ । वर्तमान संकटमा दालभात, तरकारी र पकाउने इन्धन यी तीनओटा मात्र आवश्यकतामा सीमित आयातमा ठूलो ह्रास आउने निश्चितजस्तै छ । यस ह्रासले एकातिर स्वतः नेपालको वैदेशिक व्यापारलाई तल्लो तहको सन्तुलनमा ल्याई पुर्याउँछ । यसले नेपालको वैदेशिक मुद्रा सञ्चितिमा पर्ने चापलाई धेरै हलुका पार्ने निश्चित छ । संकटको घडीमा पनि बेलायती र भारतीय सेना, सिँगापुर पुलिस, ब्रुनाई पुलिसलगायत क्षेत्रबाट नेपाल भित्रिने तलब तथा पेन्सन र विदेशबाट आउने विप्रेषण (जो पहिलेको तुलनामा घट्दै जाने भए तापनि आत्तिहाल्नुपर्ने गरी नघट्ने विज्ञहरूको मत रहेको छ) ले नेपालको अर्थतन्त्रलाई भरथेग गर्ने नै छ ।
यस अवस्थामा आयातलाई न्यूनतम विन्दुमा पुर्याउन आवश्यक छ, ताकि हामीसँग सञ्चित विदेशी मुद्रा अत्यावश्यक कृषिजन्य उत्पादन, इन्धन, मेशिनरी र औद्योगिक आपूर्तिको भुक्तानीका लागि पर्याप्त हुन सकोस् । औद्योगिक कच्चा पदार्थको आपूर्तिमा सहजता र निर्मित वस्तुहरूको आयातमा भन्सार दरमा वृद्धिले यस व्यवस्थालाई अझ सहज हुन मद्दत गर्छ । भन्सार राजस्वमा आउने ह्रासलाई पनि यस व्यवस्थाले केही हदसम्म सम्बोधन गर्ने देखिन्छ । साथै, सरकारी निकाय र आमजनताले अहिलेको समयमा न्यूनतम र बुद्धिमत्तायुक्त उपभोग रणनीति अंगीकार गर्नु आवश्यक छ । यसैगरी प्रधान खाद्यान्न (धान, मकै, गहुँ, कोदो, फापर), प्रधान तरकारी (आलु, प्याज, लसुन, गोलभेडा, काउली, साग), प्रधान मसला (धनियाँ, खुर्सानी, अदुवा), प्रधान तेलहन (तोरी) को उत्पादनमा कृषकहरूलाई केन्द्रित गराउनु अति जरुरी छ । सारांशमा भन्नुपर्दा पीँधस्तरको सन्तुलनले नेपालको भुक्तानी सन्तुलनलाई धेरै चाप नपर्ने देखिन्छ । यस अवस्थामा सम्बोधन गर्नुपर्ने विषय भनेको यो पीँधस्तरको सन्तुलनबाट गुज्रिँदा यसले रोजगारीमा पर्न सक्ने असरहरू नै हुन् ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन्