ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असिना र हावाहुरीले  केराखेतीमा १ करोडको क्षति 

२०७७ बैशाख, ९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख ९, चितवन । ३ दिनदेखि परिरहेको असिना र हावाहुरी पूर्वी चितवनमा लगाइएको केराखेतीमा लाखौंको क्षति पुगेको छ । केराको पकड क्षेत्र पूर्वी चितवन र पश्चिम चितवन भए पनि पूर्वी चितवनमा लगाइएका केराखेतीमा आंशिक तथा पूर्णरूपमा क्षति पुगेको हो ।

केरा उत्पादक संघ, चितवनका अध्यक्ष घननाथ महतोका अनुसार हालसम्म १ करोड रुपैयाँ बराबरको क्षति भएको आंकलन गरिएको छ । उनले भने, ‘जिल्लाका अन्य किसानहरूको पनि क्षति विवरण संकलन गर्ने काम भइरहेको छ ।’ हाल संघले कृषकको बगानमा गएर क्षतिको विवरण संकलन गर्ने र बीमा कम्पनीसँग सहकार्य भइरहेको जानकारी दिएको छ । 

संघका महासचिव वेदप्रसाद भट्टराईका अनुसार पूर्वी चितवनमा एउटै किसानको ४ बिघामा लगाएको केराखेतीमा पूर्णरूपमा क्षति भएको छ । ‘एकै किसानको २० लाखसम्मको क्षति भएको छ,’ उनले भने, ‘३० जना किसानको पूर्णरूपमा क्षति भएको हामीले पाएका छौं ।’ केराको उपयुक्त समय भएकाले बेच्न राखिएका, फल्न लागेका र आगामी वर्षका लागि तयार पारिएका बिरुवा असिनापानीले सखाप पारेको भट्टराईले जानकारी दिए ।

 रत्ननगर नगरपालिका वडा नम्बर १६ का हरिप्रसाद अधिकारीले आफ्नो बगानमा रहेको करीब २ हजार बोट असिना र हावाहुरीले ध्वस्त पारेको बताए । सोही वडाका अर्का किसान रामचन्द्र दुवाडीले चार बिघामा रहेको तयारी केरा, पसाउन लागेको केरा र बिरुवा समेत काम नलाग्ने गरी ध्वस्त बनाएको बताए । ‘एक त बजारमा विक्री छैन,’ उनले भने, ‘लकडाउनपछि बेचौंला भनेर राखिएको केरा हावाहुरीले  ढालिदियो ।’ पश्चिम चितवनका केराखेतीमा असिनापानीले क्षति नगरे पनि बजारमा केरा लैजान नसक्दा बारीमै पाक्न थालेको संघका अध्यक्ष महतोको भनाइ छ ।

 गतवर्ष चितवनमा  डेढ अर्ब बराबरको केराको कारोबार भएको थियो । यस वर्ष कृषकको संख्या बढ्दै जांँदा र समय अनुकुलका कारण उत्पादन थप वृद्धि हुने अपेक्षा कृषकको थियो । चितवनमा हाल ३ हजार बिघाभन्दा बढीमा केराखेती गरिँदै आएको छ । यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसान सात सय जना छन् । अधिकांश किसानले बीमा गर्नसमेत पाएका छैनन् । यहाँको उत्पादन मुख्यगरी काठमाडौं, पोखरा लगायत देशका धेरै शहरमा जाने गर्दछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)