ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेडा र ब्वाँसोको सम्मेलन

२०७७ बैशाख, १२  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

एकादेशमा एक राजा थिए । ए साँची ! राजा त इतिहासका एक वस्तु बनिसके । त्यसैले भनौं, एकादेशमा एक प्रधानमन्त्री थिए वा राष्ट्रपति थिए । हुन त यी मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिको त्यत्ति भर चैं हुन्न । किनकि कथा कुन मोडमा लगेर समाप्त गरिदिन्छन् वा कथा समाप्त हुनुअघि नै रातारात आफ्ना भूमिका र स्थान कतिखेर परिवर्तन गर्छन्, पत्तै पाइँदैन । त्यसैले यो राजा, मन्त्रीका कथाभन्दा पनि सानो छँदा पढेको एक पुरानै कथा कहन्छु, जुन पुरानो भैकन पनि सधैं नयाँ नै लाग्छ ।

५/५ वर्षमा हामी मुखिया त चुन्छौं, उसले जे जे बदमासी गरे पनि हामी चुप लागेर बस्छौं । हामी यो निर्णय गरौं कि हामीलाई सुख, समृद्धि, विकास आदिका नाममा हाम्रो रगत चुस्नेहरूविरुद्ध सामूहिक रूपमा डटेर लडौं ।

एउटा जंगल थियो । त्यहाँ केही ब्वाँसा र भेडाहरू साथै रहन्थे, बस्दा पनि एकै लहरमा सँगसँगै बस्थे, हाम्रा कतिपय ठूला मान्छेहरूले एउटै लहरमा कुर्सी राखेर बसेजस्तै । बाहिरबाट हेर्दा दुवै समूहमा कुनै झगडा थिएन । कहिलेकाहीँ कुनै भेडा घाँस खान जंगल जाँदा बाटो बिराएर धेरै दिनसम्म फर्केर आउँदैनथ्यो । कतिपपटक त टोलीबाट केही भेडा हराउँथे । तर त्यता कसैको पनि ध्यान जाँदैनथ्यो । किनकि प्राकृतिक प्रकोपमा परे होलान् भनेर चित्त बुझाउँथे । विस्तारै भेडाको संख्या घट्दै गयो । यता ब्वाँसाको रजगज बढ्दै गयो ।

भेडाहरूलाई ब्वाँसामाथि शंका हुन थाल्यो । अनि भेडाहरूले उनीहरूको टुँडिखेलमा एउटा सभा बोलाए । सभामा वक्ताहरूले गुनासो गरे कि यसैगरी हामी भेडाहरूको संख्या घट्दै जाने हो भने हामीहरूको नाम इतिहासको पानाबाटै गायब हुनेछ । वास्तवमा जंगलमा हाम्रो जन्मसिद्ध अधिकार छ । संख्याको दृष्टिकोणले पनि हामी धेरै नै छौं । हामी एकजुट भयौं भने शक्तिशाली पनि हुन्छौं । तर हामी संगठित नभएकै कारण ब्वाँसाहरूले हामीलाई सताइरहेका छन् ।

हामीमध्ये कसैलाई ब्वाँसाले दुःख दिँदा हामी हाम्रो आफ्नै दुःख हो भन्ने ठान्दैनौं । हाम्रा अधिकारका लागि लडेको, हाम्रो हितको खातिर काम गरिरहेको भन्दिएकै भरमा हामी विश्वास गर्छौं र यिनीहरूले जे जे भने पनि पत्याइदिन्छौंं । सबै भेडा हाम्रो परिवार हो भन्ने हामी सोच्दैनौं । हामीलाई हाम्रो रंग, नश्ल, आकार आदिका आधारमा छुट्याएर अझ हामीबीच नै एकअर्काप्रति घृणा फैलाएर हाम्राबीच झगडा गराउन उनीहरू सफल हुन्छन् ।

जबसम्म अर्को कुनै पनि भेडा परिवारको दुःख भोलि अर्को भेडालाई पनि पर्न सक्छ भन्ने ठान्दैनौं र सामूहिक रूपमा कुनै जालझेललाई मिलेर सामना गर्दैनौं, तबसम्म यी खुंखार ब्वाँसाहरूबाट हामी हाम्रो रक्षा गर्न सक्तैनौं । ५/५ वर्षमा हामी मुखिया त चुन्छौं । तर उसले जे जे बदमासी गरे पनि हामी चुप लागेर बस्छौं ।  त्यसैले आउनोस्, हामी यो निर्णय गरौं कि हामीलाई सुख, समृद्धि, विकास आदिका नाममा हाम्रो रगत चुस्नेहरूविरुद्ध सामूहिक रूपमा डटेर लडौं । र जबसम्म एउटा भेडामा मात्र पनि सास बाँँकी रहुन्जेल अब आइन्दा कुनै एउटा पनि हाम्रा दाजुभाइ दुःखमा वा अपहरणमा पर्नबाट जोगाऔं ।

जब यो कुरा ब्वाँसाहरूले सुने, उनीहरूको खुट्टामुनिको भुइँ भासिएजस्तो लाग्यो । अनि उनीहरूले तुरन्त एउटा संकटकालीन अधिवेशन बोलाए र यो विद्रोहको सामना गर्न सबै ब्वाँसाहरूसँग सुझाव मागे ।

सुझावहरू थुप्रै आए । कसैले भेडासँग लड्ने भने । कसैले भेडाहरूको संख्या धेरै भएकाले जित्न सकिन्न, त्यसैले बुद्धिले काम लिनुपर्छ भने । भेडाहरू भएनन् भने त आफ्नो जीवन चलाउन नै मुश्किल पर्छ । त्यसैले ब्वाँसो र भेडा सँगै बस्ने उपायमा जानुपर्ने अर्कोले सुझायो । अन्तमा भोलिपल्टै भेडाहरूलाई फकाएर एक सर्वदलीय सम्मेलनको आयोजना गर्ने जुक्ति निकालियो ।

भोलिपल्ट एक वृद्ध ब्वाँसोलाई प्रतिनिधि बनाएर भेडाहरूलाई सम्मेलनको नियन्त्रणा दिन पठाइयो । निमन्त्रणा पाएपछि भेडाहरूबीच निकै हल्लीहल्ली मच्चियो । ब्वाँसाहरूसँग कुनै हालतमा पनि साथै बस्न नसकिने कुरा आयो । धेरै वादविवादपछि अन्तमा मुखियाले सम्झाए कि हामीलाई माया गरेर, नम्र भाषामा बोलाएका छन् भने सम्मेलनमा जानमै त के समस्या भो र ? एउटै जंगलमा बसेपछि अलग अलग बसेर वा लडेर मात्रै पनि त साध्य लाग्दैन । सुनौं न उनीहरूका कुरा, के भन्दा रैछन् । उनीहरूले केही गडबढी गरे भने लड्न त हामी पनि सकिहाल्छौं नि ।

भोलिपल्ट जंगलको बीचमा ब्वाँसा र भेडाहरूको ऐतिहासिक सम्मेलन शुरू भयो । ब्वाँसाहरूले भेडाहरूलाई नम्र भएर, झुकेर अतिथि सत्कारमा कुनै कसर बाँकी राखेनन् । भेडाहरूलाई फूलमाला सहित सम्मानपूर्वक यथोचित स्थानमा लगेर आसन ग्रहण गराइयो र सभाको अध्यक्षता गर्न एक भेडालाई चुनियो । भेडाहरूमा हर्षको सीमा रहेन । यसका लागि उनीहरूले तालीको गडगडाहट गरेजस्तै आफ्ना हुंकारले समर्थन गरे ।

सम्मेलन शुरू गर्दै संयोजक एक ब्वाँसोले भने, ‘कमरेडहरू, वास्तवमा हामी सहोदर दाजुभाइ दिदीबहिनी सरह नै आदिमकालदेखि यस जंगलमा बसिरहेकै छौं । अब संसारको कुनै शक्तिले पनि हामीलाई अलग गर्न सक्तैन । यो जंगल हामी सबैको साझा सम्पत्ति हो । हामी दुवै जातिको मिलिजुली बस्नमै कल्याण हुन्छ । हामी एकआपसमा लडिरह्यौं भने त धूर्त र सामन्ती मानिसहरूले हामीलाई सिध्याउन सक्छन् ।

त्यसैले भेडाहरूको सुरक्षा गर्नमै ब्वाँसाहरूको कल्याण छ । त्यसैले आज यो सभाबाट यो घोषणा गर्छौं कि भेडाहरूको सुरक्षाका लागि हामी हाम्रो ज्यान दिन तयार छौं । आजबाट न कोही ब्वाँसो हो, न कोही भेडा, जंगलको नाताले हामी दुई दाजुभाई नै हौं र एउटै परिवार हौं । त्यसकारण आउनोस्, ठूल्ठूलो स्वरमा नारा लगाऊँ ‘ब्वाँसा र भेडा एक हौं । ब्वाँसा–भेडा एकता जिन्दावाद !’

त्यसपछि भेडाहरूको विशेष आग्रहमा केही भेडाहरूले पनि सम्मेलनको सफलताको विषयमा आ–आफ्ना विचार व्यक्त गरे । सम्मेलन सकिँदा आधा रात भैसकेको थियो । भेडाहरूको सम्मानमा ब्वाँसाहरूको तर्फबाट भव्य रात्रिभोजको आयोजना गरियो । भेडाहरू शाकाहारी भएकाले छुट्टै समूहमा बसेर भोज खान शुरू गरेका मात्र थिए, सँगै रहेको ब्वाँसाहरूको भोजबाट भेडाहरूले आफ्नै मासुको गन्ध आइरहेको थाहा पाए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[Apr 24, 2020 03:00am]

सटीक हो, सुन्ने को? हाँस्ने हुन्, बिर्सिने हुन्। फेरि पुरानै धुन गुनगुन।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)