ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ढुवानी सहज हुँदा किसानलाई राहत महसूस

२०७७ बैशाख, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख १३, चितवन । केही दिनदेखि कृषि उत्पादनका ढुवानी सहज हुनुका साथै बजारहरू खुल्न थालेपछि चितवनका कृषकले राहत महसूस गरेका छन् ।

लकडाउनको कारण स्थानीय थोकबार बन्द भएपछि र आफ्ना उत्पादन उपभोक्ताको घरसम्म पुर्‍याउन नसकेको भन्दै कृषकले चिन्ता व्यक्त गरेका थिए । त्यसको केही दिनपछाडि नै स्थानीय प्रशासनले त्यस्ता ढुवानीका गाडीहरूलाई सहज गरिदिएपछि कृषकहरू उत्साहित भएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २६ का जोखबहादुर महतो केही दिनअघि चार बिघामा लगाएको गोलभेँडाले बजार नपाएर बारीमै खेर गए पनि अहिले भने केही सहज भएको बताउँछन् । उनले अहिले झण्डै ८ बिघा क्षेत्रफलमा गोलभेँडा, खुर्सानी, भेडेखुर्सान, बोडी लगाएका छन् । ‘पहिला त मेरो चार बिघाको गोलभेँडा कुहिएर गयो,’ उनले भने, ‘अहिले त त्यस्तो अवस्था आएको छैन ।’ 

उनका अनुसार हाल उनले उत्पादन गरेका गोलभेँडा, खुर्सानी, काठमाडौंको बजारसम्म पुग्ने गरेको छ । ढुवानी केही सहज भए पनि माग भने नबढेको उनले बताए । स्थानीय थोक बजार नखुले पनि बाहिरी जिल्लाबाट अर्डर आउन शुरू भएको उनको भनाइ छ । 

तरकारी र फलफूलसँगै माछाको समेत अर्डर आउन शुरू गरेको स्थानीय माछा किसान खगेन्द सुवेदी बताउँछन् । अहिले पोखरीमा माछा संकलन गर्न मजदूर र स्थानीय बजारमा पुर्याउने व्यापारीलाई समेत प्रशासनले अवरोध नगरेकाले केही सहज भएको उनको भनाइ छ ।

ढुवानी सहजभएसँगै केरा किसानले पनि केही राहत महसूस गरेका छन् । रत्ननगर नगपालिकाका वडा नम्बर १६ का वेदप्रसाद भट्टराई असिना र हावाहुरीले केराखेतीमा क्षति गरे पनि बाँकी रहेका केरा भने बजार जान थालेको बताउँछन् ।

‘अहिले पोखरा, काठमाडौ र स्थानीय बजारमा जान थालेको छ,’ उनले भने । स्थानीय प्रशासनले पनि जनजीवन सामान्य बनाउन र स्थानीय उत्पादन खेर जान नदिन कृषिउपजका गाडीहरूलाई सहज बनाइएको बताएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले लकडाउनका शुरुवाती क्षणमा ढुवानीमा केही कडाइ भए पनि अहिले त्यस्ता गाडीहरूलाई निर्बाध चल्न दिएको बताउँछन् ।

‘अहिले एक जिल्लाबाट अर्को जिल्लासम्म जान  सिफारिसबाट सहज गरेका छौं,’ उनले भने, ‘साथै स्वास्थ्य सावधानी अपनाएर कृषकलाई बारीमा काम गर्नेसमेत वातावरण तयार गरेका छौं ।’ भारतीय तरकारी र फलफूल भित्रन नदिई स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको उनको भनाइ छ । 

तर जिल्लाकै ठूलो नारायणगणको थोक तथा खुद्रा बजार खुला नहुँदा भने कृषकहरूको उत्पादन आवश्यकता अनुसार विक्री हुन सकेको छैन । कृषकहरूले वैकल्पिक उपाय गरी थोक बजार खुलाउनुपर्नेमा जोड गरेका छन् । प्रशासनले भने यसबारे सरोकारवालासँग बैठक बसेर मात्र निष्कर्ष निकालिने जानकारी दिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)