ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मल र बीउ अभाव हुँदा किसान समस्यामा

२०७७ बैशाख, १५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । मकै छर्ने बेलामा उन्नत बीउ तथा मलको अभाव भएपछि दोलखाका कृषक समस्यामा परेका छन् । लकडाउनका कारण १ महीनादेखि मल तथा बीउ सहज ढंगले ढुवानी हुन नसक्दा किसानहरू समस्यामा परेका हुन् ।

जिल्लामा मकै छर्ने, धानको बीउ राख्ने तथा तरकारीखेती गर्ने मौसमका बेला मल र बीउ अभाव हुँदा आफूहरू मारमा परेको कृषकहरूको गुनासो छ । लकडाउनका कारण निजी तथा सरकारी कम्पनीले मल, बीउ विक्री नगरेको र व्यवसायीले ढुवानी गर्न नपाएकाले जिल्लामा मल बीउको अभाव भएको छ ।

दोलखामा कृषि कार्यालय नहुँदा र मल, बीउ कारोबार गर्ने सीमित एग्रोभेटले पनि ती सामग्री ढुवानी गर्न नसक्दा पहाडी कृषक मर्कामा परेका हुन् । मकै र गहुँ बालीमा युरिया मल हाल्न नपाए उत्पादन घट्ने भीमेश्वर नगरपालिका वडा नं १ क्षमावतीकी मिथुला थामीले बताइन् ।

दोलखाको माथिल्लो भूभागमा मकै रोपिसकेका किसानलाई मल अभाव र तल्लो भूभागका किसानले मकैको बीउ नै अभावको समस्या झेलिरहेको थापा एग्रोभेटका प्रोप्राइटर वासु थापाको भनाइ छ । वर्षे आलु गोड्ने बेलामा मल नपाउँदा उत्पादन घट्ने र लागत समेत उठ्न गाह्रो हुने भीमेश्वर नगरपालिका–३ पाखाटोलका किसान शंकर श्रेष्ठले बताए ।
जिल्लामा इजाजतप्राप्त निजी डिपो र सहकारीमार्फत रासायनिक मलको आपूर्ति तथा विक्री हुने गरेकोमा उनीहरूले पनि करीब १ महीनादेखि ढुवानी गर्न पाएका छैनन् । लकडाउन यथावत् रहेकाले खेतीपाती गर्न र मल तथा बीउबिजनको जोहो गर्न सकिँदैन कि भन्ने चिन्ता किसानमा थपिएको ओली एग्रोभेट चरीकोटका प्रोप्राइटर शान्तिप्रसाद ओलीले बताए ।
तत्कालीन कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा करीब ३ हजार टन रासायनिक मल खपत हुने गरेको थियो । विशेषतः जिल्लामा युरिया, डीएपी र पोटास मलको प्रयोग हुने गरेको पाइएको छ । २१९१ वर्ग किलोमिटर क्षेत्रफल रहेको दोलखाको २६ दशमलव ४५ प्रतिशत क्षेत्रफलमा खेती हुने गरेको तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)