ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अध्ययन अध्यापनमा असर : भर्चुअल पढाइको प्रभावकारिता कम 

२०७७ बैशाख, १६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख १६, चितवन । देशभर भइरहेको लामो लकडाउनका असर शिक्षा क्षेत्रमा पनि गहिरो रुपमा परेको छ । अधिकांश विद्यालयका नयांँ शैक्षिक शत्र  र नियमित परीक्षा लकडाउनका कारण रोकिएको छ ।

एकातिर कहिलेदेखि पठनपाठन शुरु हुने भन्ने अन्यौल नै छ । रोकिएका परीक्षाबारे पनि निर्णय हुन सकेको छैन । यसको अनिश्चितता र अन्यौल बढेपछि अधिकांश जिल्लाका संस्थागत तथा सरकारी विद्यालयहरुले भर्चुअल माध्यमबाट पढाइ शुरु गर्न थालेका छन । वैकल्पिक रूपमा भर्चुअल पढाइको शुरु भए पनि यसको प्रभावकारिता न्यून भएको पाइएको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको अरोमा कलेजका प्रिन्सीपल शेरवहादुर क्षेत्री भर्चुअल पढाइ शुरु गरिए पनि यसको प्रभावकारिता र गुणस्तरीयता कम भएको बताउँछन् । ‘हामीले चैत्र १५ गतेदेखि नै अनलाइन क्लास शुरु गरेका छौं,’ उनले भने, ‘तर सबैलाई सहभागी गराउन सकेका छैनौं ।’

उनका अनुसार भर्चुअल पढाइ नेपालका लागि नयांँ अभ्यास भएकोले यसमा चुनौती र कठिनाइ उत्तिकै छ । भर्चुअल पढाइका लागि साधनस्रोतको अभाव र कतिपय विद्यार्थी यसको पहुंँचबाट बाहिर भएकोले पनि प्रभावकारिता कम भएको हो । 

अहिले कलेजले माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई केही हदसम्म समेटे पनि यस प्रणालीमा विद्यार्थीको चाख नै कम भएको छ । ‘एक त प्राथमिक तहका विद्यार्थीहरुलाई अभ्यस्त गराउन सकिएको छैन,’ उनले भने, ‘अर्कोतिर व्यावहारिक कक्षा भर्चुअल माध्यमबाट सम्भव छैन ।’ प्राथमिक तहका विद्यार्थीलाई कलेजका अनलाइन सञ्जालबाट रचनात्मक र सिर्जनात्मक काममा अभ्यस्त गराइरहेको उनको भनाइ छ । 

संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको अवस्था झनै नाजुक छ । जिल्लाका अधिकांश विद्यालयका साधनस्रोतको अभाव र बिद्यार्थी र शिक्षकमा समेत यस ज्ञानको अभाव भएका कारण केही शहरका सामुदायिक विद्यालयमा भर्चुअल पढाइ शुरु भए पनि सबैजस्तो विद्यालय अझ अन्यौलमा रहेका छन् ।

‘एक त सामुदायिक विद्यालय साधनस्रोत सम्पन्न हुँदैनन्, शिक्षा विकास तथा समन्वय एकाइ, चितवनका प्रमुख भूमिलाल सुवेदीले भने, ‘अर्कोतिर सबै विद्यार्थीमा अनलाइनको पहुंँचमा हुँदैनन् ।’ कार्यालयले नतीजा प्रकाशन र वैकल्पिक उपाय अपनाउन सबै शिक्षण संस्थासंँग समन्वय गरिरहेको सुवेदीले बताए । 

शिक्षण संस्था सुचारु हुन नसक्दा यसको दीर्घकालीन असर पर्ने र थप चुनौती हुने उनको भनाइ छ । उनका अनुसार यसलाई गतिशीलता दिन स्थानीय सरकार, अन्य सरोकारवाला निकायसंँग छलफल भइरहेको छ । 

भर्चुअल पढाइ प्रभावकारी नभए पनि विद्यार्थीहरुलाई अभ्यस्त राख्न र मनौवैज्ञानिक असरलाई कम गर्न पनि आवश्यक रहेको उनीहरुको भनाइ छ । सामुदायिक विद्यालयमा भर्चुअल पढाइको सहभागिता गर्न गराउन नसकिए पनि जिल्लाका सबैजसो संस्थागत विद्यालयले आंशिक रुपमा भर्चुअल पढाइ सञ्चालन गरिरहेको बताउंँछन् प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाई ।

‘लकडाउनले हालसम्म त्यति असर पुगिसकेको छैन,’ उनले भने, ‘अब लकडाउन अझ लम्बिए समस्या हुन्छ । तर आत्तिहाल्नुपर्ने अवस्था छैन ।’  लकडाउनका कारण नियमित परीक्षा र पठनपाठनमा असर परे पनि सार्वजनिक बिदाको दिनमा समेत अध्यापन गराएर यसको परिपूर्ति  गरिने उनको भनाइ छ । 

जिल्लामा सामुदायिक विद्यालय र संस्थागत गरी ५१९ ओटा विद्यालय छन्, जहांँ २ लाख १७ हजार ५७९ विद्यार्थी अध्ययनरत छन् । जिल्लामा प्याब्सनमा मात्र आबद्ध १५७ विद्यालय आबद्ध छन् ।  जिल्लामा  ५० प्रतिशतको हाराहारीमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरु छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)