ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मास्टर सेफ खड्कप्रसादको खिचडी !

२०७७ बैशाख, १९  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

यतिबेला लकडाउनले गर्दा देशभरका प्रायः होटल, रेष्टुराँ बन्द छन् । तर बालुवाटारमा एउटा रेष्टुराँ खुलै छ ।

नेपाली जनतालाई एक विशेष पकवान खिचडी ख्वाउने उद्देश्यले यो रेष्टुराँ खोलिएको हो । २०४७ सालतिर खुलेको यो रेष्टुराँमा धेरै कुकहरू जाने–आउने क्रम चलिरह्यो, खिचडीका अनेक प्रकार पाकिरहे । अहिले सो रेष्टुराँको मास्टर सेफ खड्कप्रसाद छन्, जसको पाककलाको चर्चा रेष्टुराँ आसपासको क्षेत्र (बालुवाटार) मात्र नभएर देश र विदेशमा समेत हुने गरेको छ । भलै यो रेष्टुराँको को–सेफमा पीके दाल पनि सँगै नियुक्त भएका थिए । तर खड्कप्रसादले डाडु–पन्युँ अरूलाई छुनसम्म पनि कहिल्यै दिएनन् । उनले सबै  खटनपटन आफैमा केन्द्रित गरेका छन् । यिनी आफै सेफ हुन्, कुक हुन् र हेल्पर पनि आफै हुन् । भनिन्छ, नेपालको इतिहासमै खड्कप्रसाद जत्तिका उम्लिएका अर्थात् उम्दा सेफ अरू कोही थिएनन् ।

यो खिचडी पकाउन माथिबाट दुई तिहाइको दम्भ हालेर सपनाहरूको आगो सल्काउनुपर्छ । तर तलबाट भने घृणा, द्वेष, अहंकार, कुण्ठा आदिका दाउरा ठोस्नुपर्छ । मसलाहरू भने एकपछि अर्को गरेर हाल्दै जानुपर्छ, जसअनुसार सुनकाण्ड, निर्मला काण्ड, बास्कोटा काण्ड, स्वास्थ्य किट काण्ड, गुठी विधेयक, ४० प्रतिशतमा पार्टी फुट्ने अध्यादेश, अपहरण लगायत काण्डैकाण्डका मसलाहरू जति हाल्यो, त्यति यो खिचडी स्वादिलो बन्छ ।

खड्कप्रसादको खिचडीको पारखीहरू यिनलाई देख्नेभन्दा सुन्नेहरू बढी छन् । किनकि यो खिचडीको पहुँच त सीमित झालेमाले झोलेहरू अर्थात् यिनका झोला बोक्नेहरू छन् । तर पनि यो रेष्टुराँमा खानकै लागि हिजोआज बालुवाटारमा निकै भीड लाग्ने गरेको छ । यहाँ पाक्ने खिचडीको स्वाद बसेका कसैकसैले त प्याक गरेरै घर, अफिस, पार्टी कार्यालय, खुमलटार, बालकोट, पेरिसडाँडा, लाजिम्पाट लगायत देशभरि लिएर जाने पनि गरेका छन् । अनि कसै कसैका लागि त यहाँको खिचडी त वीरबलको खिचडी जस्तै बन्छ, कहिले पाक्ने हो थाहा छैन । खड्कप्रसाद यति सिपालु छन् कि उनले भित्रभित्रै के पकाइरहेका छन्, के खटनपटन गरिरहेका छन् भन्ने कुरा उनको गर्लफ्रेण्डलाई पनि थाहा हुँदैन । तर, अचानक यस्तो नयाँ खिचडी पकाएर प्रस्तुत गरिदिन्छन् कि खाने र नखानेहरू दुवै हेरेको हेर्‍यै हुन्छन् ।

फेरि यो खिचडी पकाउने सामानको जोहो गर्न कुनै समस्या छैन । बालुवाटारको आफ्नै बारीमा अग्र्यानिक बुद्धिबाट फलेका तरकारी चीराचीरा पारी प्लटिङ गरेर पकाउने हो । घरबेटीको मार्सी चामल, ओम्नीको पीपीई किट, अस्गरको आईटी मुला त सधैं तयार नै छन् । तर यो खिचडी यति लोकप्रिय हुनुमा चैं यसको अरू पनि एकसे एक दमदार रेसिपी नै हो । जानकारहरूका अनुसार उनको खास रेसिपी यस्तो छ –

सबैभन्दा पहिला छानी छानी राम्रा राम्रा गफ, उखान–टुक्का र जोकहरू एक ठाउँमा जम्मा गर्नुपर्छ । गफका यी डल्लाहरूलाई सहानुभूतिको आँसुबाट राम्रोसँग पखाल्नुपर्छ । अनि शुरूमा यिनका नजिकका इष्ट देवताहरू विष्णु, सूर्य आदिलाई यो भोग लगाउनुपर्छ । त्यसपछि आफ्ना भजनमण्डली र अन्य चाटुकारहरूबाट झोले र पाल्तु मिडियाहरूको घोलमा राखेर खिचडीको विशेष रेसिपी तयार हुन्छ ।

यो खिचडी पकाउन संसद्को कसौंडी चाहिन्छ र लोकतन्त्रको चुल्हो । यो खिचडी बनाउन पहिला बेतुकका गफहरू खुब भुट्नुपर्छ । यसका लागि जनताको तेल हाल्नुपर्छ, त्यो पनि करको कोल याने घट्टामा पिसेर निकालिएको । यो तेल सित्तैमा आउने भएकाले जति मन लाग्छ, उति निकालेर हाले हुन्छ । यो खिचडी पकाउन माथिबाट दुई तिहाइको दम्भ हालेर सपनाहरूको आगो सल्काउनुपर्छ । तर तलबाट भने घृणा, द्वेष, अहंकार, कुण्ठा आदिका दाउरा ठोस्नुपर्छ ।

त्यसपछि बेलाबेलामा बिर्को खोलेर खिचडी माथिबाट देशभक्ति, राष्ट्रियता, स्वाभिमान, आत्मनिर्भरता, गरीबी उन्मूलन, बेरोजगार भत्ताजस्ता सामग्रीबाट ‘नयाँ युगको उदय’ ब्रान्डवाला मिसमासे छोप पनि हाल्नुपर्छ । तर, मसलाहरू भने एकपछि अर्को गरेर हाल्दै जानुपर्छ, जसअनुसार सुनकाण्ड, निर्मला काण्ड, बास्कोटा काण्ड, स्वास्थ्य किट काण्ड, गुठी विधेयक, ४० प्रतिशतमा पार्टी फुट्ने अध्यादेश, अपहरण लगायत काण्डैकाण्डका मसलाहरू जति हाल्यो, त्यति यो खिचडी स्वादिलो बन्छ । तर, शुरूमा भने घरघरमा ग्यास पाइप, ५/५ हजार वृद्धभत्ता, बेरोजगार भत्ता, हावाबाट बिजुली, रेल, मोनोरेल, पानी जहाजरूपी छोप चाहिँ जसलाई जस्तो मनपर्छ, त्यसैअनसार हालेर पकाउनुपर्छ ।

यो खिचडीको नाम एक भए पनि परिकार भने अनेक थरी व्यञ्जन बन्छ, जुन धेरै समयदेखि बालुवाटारको किचेनमा पाक्दै आएको छ । तर, खड्कप्रसादको जस्तो खिचडी अहिलेसम्म कसैले तयार पार्न नसकेको यसका पारखीहरू बताउँछन् । त, मसलाहरू तयार पारेपछि अब अन्तमा पालो आउँछ हेर्दा र सुन्दा खाऊँ–खाऊँ लाग्दो बनाउन मिठामिठा भाषणवाला अखाद्य रङहरू र घिसापीटा कुराहरूबाट टपिङ सजाउने ।

अब सबै कुराहरू हालिसकेपछि प्रहरी प्रशासन, अख्तियार, सम्पत्ति शुद्धीकरण, प्रेस याने नियन्त्रण आदि पन्युँहरूले राम्रोसँग चलाइरहनुपर्छ । चुनावको बेला तलबाट घृणाको आँच बढाउनुपर्छ । माथिबाट भने संविधान वा अदालतको बिर्को लगाउनुपर्छ । राष्ट्रवादको कृत्रिम बास्ना छरिदिनुपर्छ । बेलाबेलामा अफवाहहरूको दम पनि दिइरहनुपर्छ, खाशगरी चुनाव होउन्जेल । चुनाव भैसकेपछि लोकतन्त्रको शपथग्रहण होउन्जेलसम्म यो भर्सिन वा चिसो हुन दिनुपर्छ । यति गरेपछि खिचडी तयार हुन्छ । त्यसपछि यो खिचडीलाई पाँचवर्षे डीपफ्रिजमा लगेर राख्दिनुपर्छ । बीचमा कसैले यो डीपफ्रिज खोल्न खोज्यो भने बखेडाहरूको बिर्को उघारेर त्यसलाई सल्टाउनु पर्छ ।

अब जब जब खिचडी आवश्यक पर्छ, तब तब झिकेर यसलाई विरोध, प्रतिशोध, कटाक्ष आदिको आँच फेरि बढाउनुपर्छ । अनि अफवाहको दम पनि दिन शुरू गर्नुपर्छ । बस ! जब आवश्यक पर्छ, तब यो पकवानलाई डाइनिङ टेबलमा लगेर पस्किदिए हुन्छ । ल भन्नुस्, मास्टर सेफ खड्कप्रसादको यो खिचडी छैन त अजबको ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

Sanat Rimal

[May 1, 2020 09:33am]

यति बिधि मिहेनत गरी तैयार भको बिषेशत परिस्कृत अखाद्य समेतमा बिष्णू, सूर्य अनि स्वनामधन्यको स्वेतपत्र लेपन भएकैले जन-जनको मतिभ्रम गरायर ब्रह्मलूटको तान्डब नृत्य?? अझै अगाडिका दिनहरूमा कईयौॅ मीठासलेपीत भजन-कीर्तन सहितको अपाच्य दृश्य हेर्दै बस्न परेछ भनेपनि नेपाली पनको धैर्यले धोका नदेलानै ! जनतासङ्ग झन्डै 2/3rd को म्यान्डेट रूपी डन्डा बर्षाऊने सर्वाधिकार अझै आगामी अढाई बर्षका लागी, तसर्थ भन्न चाहेॅ होशियार अर्थात BEWARE FROM....


User Image

सुरेन्द्र प्रधान

[May 1, 2020 04:53am]

स्याबास मदनजी। तपाईंको श्रीजनशिलतालाई मान्नु पर्छ। निरन्तरता रहोस्।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)