ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ढुवानी सहज भएपछि चितवनका किसान लाभान्वित

२०७७ बैशाख, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । केही दिनदेखि कृषि उत्पादनका ढुवानी सहज हुनुका साथै बजारहरू खुल्न थालेपछि चितवनका कृषकले राहत महसूस गरेका छन् । लकडाउनको कारण स्थानीय थोक बजार बन्द भएपछि र आफ्ना उत्पादन उपभोक्ताको घरसम्म पुर्‍याउन नसकेको भन्दै कृषकले चिन्ता व्यक्त गरेका थिए । त्यसको केही दिनपछि नै स्थानीय प्रशासनले त्यस्ता ढुवानीका गाडीहरूलाई सहज गरिदिएपछि कृषकहरू उत्साहित भएका छन् ।

भरतपुर महानगरपालिका वडा नं २६ का जोखबहादुर महतो आफूले चार बिगाहा क्षेत्रफलमा लगाएको गोलभेँडाले केही दिन अघिसम्म बजार नपाएर बारीमै खेर गए पनि अहिले भने केही सहज भएको बताउँछन् । उनले अहिले झण्डै ८ बिगाहा क्षेत्रफलमा गोलभेँडा, खुर्सानी, भेडेखुर्सानी, बोडी लगाएका छन् । ‘पहिलो त मेरो ४ बिगाहा लगाइएको गोलभेँडा कुहिएर गयो,’ उनले भने, ‘अहिले त त्यो अवस्था छैन ।’

उनका अनुसार हाल उनले उत्पादन गरेका गोलभेँडा, खुर्सानी, काठमाडौंको बजारसम्म पुग्ने गरेको छ । ढुवानी केही सहज भए पनि माग भने नबढेको उनले बताए । स्थानीय थोक बजार नखुले पनि बाहिरी जिल्लाबाट अर्डर आउन शुरू भएको उनको भनाइ छ ।

तरकारी र फलफूलसँगै माछाको समेत अर्डर आउन शुरू गरेको स्थानीय माछा किसान खगेन्द सुवेदी बताउँछन् । अहिले पोखरीमा माछा संकलन गर्न मजदूर र स्थानीय बजारमा पुर्‍याउने व्यापारीलाई समेत प्रशासनले अवरोध नगरेकाले केही सहज भएको उनको भनाइ छ । ढुवानी सहजभएसँगै केरा किसानले पनि केही राहत महसूस गरेका छन् । रत्ननगर नगपालिकाका वडा नम्बर १६ का वेदप्रसाद भट्टराई असिना र हावाहुरीले केराखेतीमा क्षति गरे पनि बाँकी रहेका केरा भने बजार जान थालेको बताउँछन् । ‘अहिले पोखरा, काठमाडौ र स्थानीय बजारमा जान थालेको छ,’ उनले भने । स्थानीय प्रशासनले पनि जनजीवन सामान्य बनाउन र स्थानीय उत्पादन खेर जान नदिन कृषिउपजका गाडीहरूलाई सहज बनाइएको बताएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले लकडाउनका शुरुवाती दिनहरूमा ढुवानीमा केही कडाइ भए पनि अहिले त्यस्ता गाडीहरूलाई निर्बाध चल्न दिएको बताउँछन् । ‘अहिले एक जिल्लाबाट अर्को जिल्लासम्म जान सिफारिशपत्रबाट सहज गरेका छौं,’ उनले भने, ‘साथै स्वास्थ्य सावधानी अपनाएर कृषकलाई बारीमा काम गर्ने वातावरण तयार गरेका छौं ।’ भारतीय तरकारी र फलफूल भित्रन नदिई स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

तर जिल्लाकै ठूलो नारायणगढस्थित तरकारीको थोक तथा खुद्रा बजार खुला नहुँदा भने कृषकहरूको उत्पादन राम्ररी विक्री हुन सकेको छैन । कृषकहरूले वैकल्पिक उपाय गरी थोक बजार खुलाउनुपर्नेमा जोड दिएका छन् । प्रशासनले भने यसबारे सरोकारवालासँग बैठक बसेर मात्र निष्कर्ष निकालिने जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)