ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनको पर्यटन व्यवसायमा साढे २२ करोडको नोक्सान

व्यवसायीद्वारा सहुलियत ब्याज तथा अनुदानको माग

२०७७ बैशाख, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख २४, चितवन । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण भएको लकडाउनले  चितवनको पर्यटन व्यवसायमा साढे २२ करोड नोक्सान भएको अनुमान गरिएको छ  । यकिन तथ्यांक आइनसकेकाले गतवर्ष यो समयमा भएको कारोबारको आधारमा यस्तो अनुमान गरिएको हो ।

दैनिक घाटा बढ्दै गएपछि र पर्यटन क्षेत्र अस्त व्यस्त भएपछि व्यवसायीले ब्याजमा सहुलियत तथा अनुदानको माग गरेका छन् । क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष दीपक भट्टराईले दैनिक घाटा बढेकाले ब्याजमा अनुदान माग गरिएको बताए । ‘पर्यटन व्यवसायलाई पनि कृषि क्षेत्रलाई जस्तै अनुदानको माग गरेका छौं,’ भट्टराईले भने । सौराहाका होटललगायत पर्यटन व्यवसाय अबको ६ महीनासम्म बन्द हुँदा घाटा बढ्दै जाने र चालू खर्च तथा ऋण समेत थपिँदै जाने उनको भनाइ छ । यस्तै संघका महासचिव गुणराज थपलियाले सौराहाको पर्यटनमा दैनिक ५० लाख रुपैयाँ बराबरको घाटा अनुमान गरिएको बताए । ‘लकडाउनपछिको डेढ महीनामा साढे २२ करोड घाटा भएको अनुमान गरेका छौं,’ उनले भने । 

संघले मंगलवार मात्र बैठक राखेर हानको केन्द्रको निर्णय कार्यान्वयन गर्ने र परिस्थिति अनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ । संघका पूर्वअध्यक्ष सुमन घिमिरेले हाल कर्मचारीको तलब व्यवस्थापनका लागि छलफल भइरहेको बताए । ‘१२ दशमलव ५ प्रतिशत तलब दिने हान केन्द्रको निर्णयको समर्थन र कार्यन्वयन गरिनेछ,’ उनले भने । उनका अनुसार चितवन होटल व्यवसायमा ३० अर्बभन्दा बढी लगानी छ । यस्तै सबै होटलमा गरी बैंकको लगानी १५ अर्ब हाराहारीमा छ । सौराहामा मात्रै पर्यटकीय स्तरका १२० होल र अन्य २०० भन्दा बढी होटल÷रेष्टुराँ सञ्चालित छन्, जहाँ ५ हजार ५०० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल, चितवनका अध्यक्ष दीपेन्द्र खतिवडाले कोराना प्रकोप र लकडाउनका कारण जिल्लाका ८० ओटा ठूला रेष्टुराँ तथा बार पूर्णरूपमा बन्द भएको बताए । यस्तै तिनमा कार्यरत १ हजार जना बेरोजगारविहीन भएको उनको भनाइ छ । नोक्सानको तथ्यांक भने आइनसकेको उनले बताए ।
उनका अनुसार रेष्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान)को आधिकारिक निर्णय नआए पनि कर्मचारीको विषयमा आन्तरिक छलफलबाट निष्कर्ष निकालिने भएको छ । राज्य र व्यवसायीको समन्वयमा कर्मचारीलाई ३३ प्रतिशत तलब दिन सकिने उनको भनाइ छ । 

हाल सौराहाका चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा भए तापनि दोस्रो र तेस्रो पर्यटकीय गन्तव्यका रूपमा पश्चिम चितवनको पटिहानी र मेघौली रहेका छन्, ३ दर्जनभन्दा होटल, रिसोर्ट सञ्चालित छन् । यसबाहेक चितवनका बजार क्षेत्र र अन्य क्षेत्रमा सञ्चालनमा आएका होटलमा समेत लाखौंको घाटा भएको व्यवसायीको भनाइ छ । 
कोरोना र लकडाउनको प्रत्यक्ष प्रभाव पर्यटन व्यवसायमा देखिए पनि यससँग जोडिने अन्य क्षेत्रमा समेत यसको असर परेको पर्यटनविद् विश्व सुवेदीले बताए । ‘पर्यटन व्यवसायसँग सरोकार राख्ने कृषि, पशुपक्षी क्षेत्र, हस्तकला लगायत रोजगारीमा समेत अप्रत्यक्ष रूपमा ठूलो असर परिसकेकोे छ,’ उनले भने । पर्यटन व्यवसाय पहिलेकै अवस्थामा आउन करीब २ वर्ष लाग्ने  उनको अनुमान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)