सरकारले लकडाउनको अवधि थप्या थप्यै छ । नथपेर के गर्नु ? यो भाइरस कहिले काठमाडौंमा देखिन्छ, कहिले एकैचाटि कञ्चनपुरमा । फेरि कहिले वीरगञ्जमा, कहिले बागलुङमा त कहिले फ्याट्ट नेपालगञ्जमा भेटिन्छ ।
हिजोआज होटल, पार्टी कार्यालय कतै जान पाउनु छैन । भाषण गर्न, बोल्न पाउनु छैन । भाषण गर्न नपाउँदा घाँटी कति खसखस हुँदो हो । अर्ती उपदेश दिन नपाउँदा मन कति रुँदो हो । कम्ता उकुसमुकुस हुन्छ होला सरकारलाई ? अझ रिबन काट्न नपाएर हात चिलाउन थालिसक्यो होला ।
यस्तो भैराछ कि भाइरस अघि अघि सरकार पछि पछि । छन त सरकारलाई फागुनदेखि नै थाहा थियो कि नेपालमा पनि कोरोना छिर्न सक्छ भनेर । सरकारसँग प्रशस्त समय पनि थियो । तर सरकारलाई यो इमेर्जेन्सीको काम हो भन्ने हेक्का नै भएनछ क्यारे । फेरि बिचरो, एक्लो सरकारले के गर्ने भन्ने भेउ पनि पाएन होला । ल ! हुँदा हुँदै थुप्रै नेपाली विदेशबाट ह्वार ह्वार नेपाल छिरेछन् भन्या । ती नेपाली कहाँ कहाँबाट आए, फेरि कहाँ गए भन्ने तथ्यांक इमिग्रेसनले पनि राख्ने गरेको रैनछ । तथ्यांक नराख्ने इमिग्रेसन, अनि यस्मा पनि सरकारलाई गाली गरेर हुन्छ र भन्या ?
यता, सरकार पनि आफ्नो काममा बिजी नै छ नि त । कोरोना कतिजनालाई लाग्यो भनेर बुझ्न उपप्रधानमन्त्रीकै संयोजकत्वमा सरकारले एउटा समन्वय समिति बनाइदेको छ । किनकि, लकडाउन बढाउने कि नबढाउने निर्णय गर्न त्यो तथ्यांक चाहिन्छ क्या । त्यसकै लागि त्यो समन्वय समितिले स्वाब टेस्ट सेस्ट गर्न पीपीई, पीसीआर किट आदि ल्याइदिन भनेर कस्लाई हो अह्राकोे रे । पक्का व्यापारी परेजस्तो छ । पैसा हात पारेपछि तिनीहरू बेपत्ता भएछन् । कस्ता बदमासहरू ! लौ भएन, सेनाले त पक्कै ल्याउँछ कि भनेर उसलाई भनेको रे, सेनाले पनि अहिलेसम्म ल्याइदेनछ भन्या !
त्यै भएर बिचरा हाम्रा प्रधानमन्त्री बेला बेलामा टीभीमा आउनुहुन्छ, मिडियालाई भक्कुमार गाली गर्नुहुन्छ, अनि २–४ हप्ता हराउनुहुन्छ । मिडियालाई गाली नगरेर पनि के गर्नु ? देशमा सामाजिक, आर्थिक क्षेत्रमा कोरोनाले यस्तो उपद्रव गरिसक्यो । तर फागुनयताका मिडियाहरू पढ्यो भने ‘प्रमले राष्ट्रपति भेट्नुभयो, प्रमले प्रचण्ड भेट्नुभयो, प्रमले माधव नेपाल भेट्नुभयो, प्रमले ईश्वर पोख्रेल भेट्नुभयो, प्रमले चिनीया राजदूत भेट्नुभयो भनेर मात्र लेखिरहन्छन् ।’ (अझ भारतीय राजदूतलाई भेटेको कुरा त लेखेका छैनन् । नभेटेर हो कि, थाहा नपाएर होे लेखेनछन्) । प्रमले नेताहरू भेटेको कुरा मात्र लेख्ने ?
आयल हो कि घायल निगमबाट तेल चुहियो रे भनेर सरकारलाई गाली गर्या छ । बारीमा तरकारी कुहियो रे भनेर पनि सरकारलाई नै गाली गर्या छ । ए बाबा ! तरकारी बारीमा नकुहेर कहाँ कुहिन्छ त ? नकुहाउने हो भने छरछिमेकमा बाँड्दिए हुन्न ? यस्तो महामारीको बेला पनि बेच्न पाइनँ भन्ने ? शहरतिरकालाई त छिमेकतिरबाट ट्रकका ट्रक ल्याएर ख्वाएकै छ त सरकारले, त्यसै कराउने ?
यता, पर्यटन व्यवसायी, उद्योगी, व्यापारीहरू पनि कर्मचारीलाई जागीर र तलब दिन सक्दैनौं भनेर सकारलाई नै धम्की दिएका दियै छन् बा ! कर तिरेँ भन्दैमा फुर्ति लाउने ? यत्रो वर्ष नाफा खाने, अनि अहिले आएर तलब दिन्न भन्ने ? त्यै भएर त उद्योगी व्यापारीलाई मान्छेले कालाबजारी भन्ने गरेका । ह्वाँ घरबेटीहरूलाई बहालमा बसेको भाडा नलिनू भनेर सरकारले त भन्देकै छ त । सरकारले त उर्दी जारी गर्दिने न हो । घरबेटीले मान्दैनन् त सरकारले के गर्ने हो र ?
उद्योगी, व्यापारीले पैसा फल्ने रूख लगाएका हुन्छन् भन्ने कस्लाई थाहा छैन र ? त्यै भएर त सरकारले व्यापारीलाई कर पनि तिर, भाडा पनि तिर, तलब पनि तिर, स्कुलको फी पनि तिर, जागीर पनि देऊ, राहत पनि देऊ, चन्दा पनि देऊ र आफ्नो घर पनि चलाऊ भनेको त । अनि सरकारबाट सुविधा पनि चाहिने भए त अझ बढी कर तिर भनेकै छ । बाँकी त सन्सारकै तन्नम गरीब सरकारले पनि के नै गर्न सक्छ र हो यस्तो बेलामा ?
सरकारलाई गाली गरेर कोरोना भाग्छ ? फेरि स्वास्थ्यमन्त्रीले काम गर्न जान्दैनन्, अनि दोष चैं पूरै सरकारलाई दिने ? यो त मिलेन नि ! कुनै व्यापारीले कालाबजारी गर्छ, दोष सरकारलाई । बजारमा कुनै चिजको अभाव हुन्छ, दोष सरकारलाई । सडकमा आफै खाल्टाखुल्टी बन्छन्, दोष जति सरकारलाई । सरकार भनेको केवल गाली खान जन्मेको हो र भन्या ?
बिचरा सरकारमा बस्ने मान्छेहरूलाई कम्ता गाह्रो छ ? सबैले गाली मात्र गरिरहन्छन् । देशमा लकडाउनको बेला छ । बिहान मासु पकायो, परिवारसँग बसेर खायो । दिउँसो मिटिङपछि मिटिङ पनि गर्नैपर्यो, गुट बलियो बनाउनुपर्छ नि त ! फेरि आफ्नाहरूसँग फोनमा घण्टौं वार्तालाप गर्नैपर्यो । साँझ यसो खानपिन पनि गर्नैपर्यो । अनि राति हुन्छ । थकित शरीर डङ्ग्रङ्ग ओछ्यानमा पल्टायो । सधैं उस्तै दिनचर्या छ । कम्ता बोरिङ हुन्छ ? तर यत्रो मेहनत नदेख्नेहरू सरकारलाई गाली गरेर मात्र बस्छन् । सरकार नहुँदो हो त के भैसक्थ्यो होला देशमा । जनताहरूको यस्तो पाराले समृद्धि आउँछ समाजमा ?
हिजोआज होटल, पार्टी कार्यालय कतै जान पाउनु छैन । भाषण गर्न, बोल्न पाउनु छैन । भाषण गर्न नपाउँदा घाँटी कति खसखस हुँदो हो । अर्ती उपदेश दिन नपाउँदा मन कति रुँदो हो । कम्ता उकुसमुकुस हुन्छ होला सरकारलाई ? अझ रिबन काट्न नपाएर हात चिलाउन थालिसक्यो होला । लकडाउन नभएको भए यसो उद्घाटन गर्न जान पाइन्थ्यो र सरकार भएको सबैले टीभीमा देख्थे । टिभीमा नदेखेकै कारण पनि सरकारले काम गरेको नदेखेका हुन सक्छन् जनता जनार्दनहरूले । त्यसैले अबुझ मानिसहरू उल्टो सरकारलाई मात्र यो गरेन, ऊ गरेन भनेर गनगन मात्र गरिरहन्छन् ।
नेताहरूलाई, सरकारलाई गाली गरेर थालथालमा खाना आफै आउँछ ? यस्तो महामारीको बेलामा पनि सरकारलाई ताली दिनुको सट्टा गाली दिने काममा बरालिने हो भने समयको योभन्दा फजुल खर्च के हुन सक्छ ? १८/१८ घण्टा खटेर काम गर्दा पनि नदेख्ने ? कोरोना रोकेर संसारमै नाम कमाउँदा पनि आफ्नै देशभित्रकाले नदेख्ने ? खाली सरकारलाई सराप्ने ? यो त सरकारमाथिको पूरै थिचोमिचो हो, सरकारमाथि सरासर अन्याय नै हो !
एकदम सहि कुरा। सरकार ले मात्र के गरोस्? पानी जहाज बनाउने तर्फ हेरोस् कि, रेल कति बन्यो भनेर हेरोस् कि, बाटोे घाटो Lockdown ले गर्दा बन्द छ, जनताको चुल्हो सम्म ग्यास पाइपलाइन पुर्याउनै पर्यो। के मात्र गरोस् बिचरा? COVID-19 ले गर्दा आफ्नै दलको बैठक त बस्न धौ धौ परेको बेला, कत्ति गालि मात्र गरिरहेको? कुन दिन झोक चलेर लौ चलाउ तिमी हरु नै भनेर सन्यास लि देलान् अनि देख लाउ अहिले गालि मात्र गरेको?