वर्तमान संकटका समयमा निर्यात क्षेत्रलाई कसरी उद्धार गर्ने भन्ने सम्बन्धमा अपेक्षित अनुसन्धानहरू सम्पन्न हुन सकेका छैनन् । सम्पन्न अनुसन्धानबाट पनि प्रतिफलको प्रत्याभूति हुन सकेको छैन । निर्यात क्षेत्रमा प्रमाण आधारित अनुसन्धान गर्ने पद्धतिको पूर्ण अनुसरण नहुँदा यस्तो अवस्था सृजना भएको हो । यसो हुन नसक्नुमा छ ओटा कारण देखिन्छन् ।
तथ्यांकको अतिरिक्त सूचना, ज्ञान, मेधा र बुद्धिमत्ताका क्षेत्रमा थुप्रै अपूर्णता छन्, जसको प्रत्यक्ष असर निर्यात क्षेत्रका अनुसन्धानमा परिरहेको छ ।
पहिलो, अनुसन्धानका पाँचओटा सिँढी तथ्यांक, सूचना, ज्ञान, मेधा र बुद्धिमत्ताको अनुसन्धानमा व्यापक उपयोग हुनुपर्छ । पर्याप्त मात्रामा क्षेत्रगत तथ्यांकहरू उपलब्ध छैनन् । खासगरी मुुलुकभित्र औद्योगिक उत्पादनको तथ्यांक उपलब्ध नहुँदा निर्यात क्षेत्रको विश्लेषण जहिले पनि अपूर्ण हुने गरेको तीतो यथार्थ हो । तथ्यांकका अतिरिक्त सूचना, ज्ञान, मेधा र बुद्धिमत्ताका क्षेत्रमा थुप्रै अपूर्णता छन्, जसको प्रत्यक्ष असर निर्यात क्षेत्रका अनुसन्धानमा परिरहेको छ । पाँचओटा पिरामिडमाथि बसेर निर्यात क्षेत्रको विश्लेषण गर्ने संस्कार, धैर्य र उत्प्रेरक वातावरणको पनि कमी छ ।
दोस्रो, प्रभावकारी अनुसन्धानका चारओटा खम्बा हुन्छन् । अनुसन्धानकर्ताको लगन र दक्षता, विभिन्न सरकारी निकायहरूका संस्थागत स्मृति, निजीक्षेत्रका अनुभव र सम्बद्ध क्षेत्रका विषयगत विज्ञहरूका ज्ञानको आदानप्रदान जुन स्तर र आवृत्तिमा हुनुपर्ने हो सो हुन सकेको छैन । केही अनुसन्धानकर्ताको लगन र दक्षताका भरमा मात्र अनुसन्धान कार्य सम्पन्न गरी प्रतिवेदनहरू तयार गर्नुपर्ने बाध्यता छ । कुनै अनुसन्धानमा संस्थागत स्मृतिहरू मात्र प्रभावी भएका हुन्छन् । केही निजीक्षेत्रको प्रभाव मात्र देखिन्छ भने कतै विषयविज्ञका सैद्धान्तिक कोरा ज्ञानहरूका वरिपरि अनुसन्धान घुमिरहेको हुन्छ । माथिका चारओटा खम्बा एकअर्काका परिपूरकका रूपमा अनुसन्धानमा प्रतिबिम्बित हुन सकेका छैनन् । यसैले गर्दा अहिले निर्यात क्षेत्रका अनुसन्धानात्मक कार्यहरू एकांगी ढंगबाट अघि बढिरहेका छन् । परिणामस्वरूप प्रतिवेदनहरू निरस र कार्यान्वयन अमैत्री हुन पुग्छन् । यस क्षेत्रमा हुने अनुसन्धानहरू सम्बद्ध निकायका दराजमा थन्किनुमा यही कारण जिम्मेवार रहेको छ ।
तेस्रो, नेपाली निर्यात क्षेत्रका अनुसन्धानकर्ताले भोग्नुपरेका प्रधान समस्या भनेको बाह्य जगत्मा सूचनामा पहुँचको कमी हो । विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोष, अन्तरराष्ट्रिय व्यापार केन्द्र, विश्व व्यापार संगठन, विश्व खाद्य संगठनलगायत संयुक्त राष्ट्रसंघका तथ्यांक प्रणालीमा रहेका थुपै्र तथ्यांक र सूचना (जो सहजै उपलब्ध छन्) मा नै हाम्रो व्यवस्थित पहुँच स्थापना हुन सकेको छैन । निर्यात प्रवर्द्धनका लागि गन्तव्यका तथ्यांक र सूचनाहरू उपभोक्ताको चाहना, बजार प्रवेश प्रक्रिया, प्रतिस्पर्धी आदिका बारेमा मिहीन र यथार्थ सूचनाको आवश्यकता पर्छ । विश्वका अन्यत्र त्यस्ता सूचना सम्बद्ध देशमा अवस्थित कूटनीतिक नियोगहरूले उपलब्ध गराउने या अनुसन्धानकर्तालाई उपर्युक्त सूचनाहरूमा पहुँच स्थापना गराई दिने वातावरण सृजना गरिएको हुन्छ । यो संस्कार नेपालमा शुरू नै भएको छैन भन्दा पनि हुन्छ । अनुसन्धानकर्ताले गन्तव्यमा पाइलो नटेकी अनुमान र बासी सूचनाका भरमा अनुसन्धानलाई सम्पन्न गर्नुपर्ने बाध्यता रहेको छ ।
अनुसन्धानमा बजारको मापन जति महŒवको हुन्छ, स्वदेशको आपूर्ति क्षमताको पनि त्यत्तिकै महत्त्व हुन्छ । विशेष गरी मात्रा, गुण, मूल्य, समय, निर्यात लागत यी पाँच पक्षको मिहीन विश्लेषण हुनु जरुरी छ । नेपालजस्तो मुुलुकका लागि लजिस्टिकलगायत क्षेत्रको अध्ययन त अझ बढी महŒवको हुन्छ । उदाहरणका लागि एउटा वस्तु कारखानाको गेटबाट विदेशमा बसेको उपभोक्ताको हातमा पर्दा बीचमा लाग्ने प्रक्रियागत, ढुवानीगत, डमेरेज चार्जलगायत विषयमा आधिकारिक तथ्यांकसहित मिहीन अध्ययन हुन जरुरी छ । यी यस्ता पक्षमा अनुसन्धान गर्दा कमै ध्यान जाने गरेको छ । माथिका पाँचओटा पक्षको पूर्ण प्रतिबिम्ब अनुसन्धानमा परेन भने त्यो निर्यात प्रवद्र्धनसम्बन्धी प्रतिवेदनहरू खोटा हुन गई बाध्यतावश दराजमा थन्काउन बाध्य हुनुपर्छ ।
पाँचौं, अनुसन्धान भनेका सामूहिक प्रयासको सर्वोत्तम अभ्यास हो । नेपालको निर्यात क्षेत्रको अनुसन्धानलाई यथार्थपरक बनाउन क्षेत्रगत विज्ञहरूको सहयोग र संलग्नता आवश्यक देखिन्छ । विशेष गरी अर्थशास्त्री, तथ्यांकशास्त्री, वस्तुविज्ञ र विषयविज्ञको संलग्नता आवश्यक पर्छ । अर्थशास्त्रीले विभिन्न मोडेलको प्रयोग गरेर उत्पादन, माग, आपूर्ति आदिका विषयमा सैद्धान्तिक पक्षसहितका अनुमान, प्रक्षेपणहरूका निचोडहरूमा आफ्नो विज्ञतालाई अनुसन्धानमा झल्काउँछन् भने तथ्यांकशास्त्रीहरूले ती मोडलका आवश्यक पर्ने तथ्यांकीय कार्यहरू सम्पन्न गरी अनुसन्धानलाई प्रमाणमा आधारित बनाउन ठोस आधार प्रदान गर्छन् । विषयविज्ञहरूमा पनि विश्व व्यापार संगठन, क्षेत्रीय व्यापार संगठन, द्विपक्षीय व्यापार सन्धिका बारेमा लामो समयदेखि अनुभव भएका विज्ञहरू, भन्सारसम्बन्धी विज्ञहरू, गुणस्तरसम्बन्धी विज्ञहरू र लजिस्टिकसम्बन्धी विज्ञहरूको निर्यात प्रवद्र्धनसम्बन्धी अनुसन्धान कार्यमा अनिवार्य संलग्नता हुन जरुरी छ । यी अनुसन्धान कार्य सम्पन्न हुँदै गर्दा सम्बद्ध क्षेत्रका उच्चपदस्थ जिम्मेवार सरकारी अधिकारीसँग रहेका अव्यक्त र अप्रकाशित अनुभवहरूलाई पनि विशेष रूपमा उपयोग गर्ने प्रचलन विश्वव्यापी रहेको छ । तर, यस्तो अभ्यास नेपालमा विरलै हुने गरेको छ ।
हरेक अनुसन्धान गर्दा सम्बद्ध जिम्मेवार सरकारी अधिकारीका अतिरिक्त अर्थशास्त्री, तथ्यांकशास्त्री, वस्तुविज्ञ र विषयविज्ञको संयोजनसहितको सामूहिक अनुसन्धान पद्धतिको व्यवस्था हुन जरुरी छ ।
छैटौं, उपर्युक्त सबै पक्षलाई समेटेर अनुसन्धानलाई उठान गरी गन्तव्यमा पुर्याउन सक्ने संस्थागत क्षमताको पनि कमी रहेको छ । यस पक्षलाई सम्बोधन गर्नुपर्ने विद्यमान संस्थाहरू पनि अनुसन्धान प्रकृतिबाट प्रशासनिक प्रकृतिमा रूपान्तरण हुँदै छन् । अनुसन्धानलाई नेतृत्व गर्न सक्ने भनेको अनुसन्धानमा विशारदप्राप्त अनुसन्धानकर्ताहरूले नै हो, जसअन्तर्गत अनुसन्धान गर्न विज्ञहरू लालायित होऊन् । भारतमा क्षेत्रगत र विषयगत रूपमा प्राध्यापकयुक्त भारतीय विदेश व्यापार संस्थान (आईआईएफटी) जस्ता संस्था छन् । यस पंक्तिकारले पनि यस संस्थाबाट छोटो अवधिका लागि भए तापनि दीक्षित हुने अवसर प्राप्त गरेको थियो । न हामीले सरकारी निकायहरू नै त्यस ढंगबाट विकास गर्ने सोच राख्यौं न विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई नै यस क्षेत्रमा क्रियाशील हुने वातावरण प्रदान गर्यौं । यस अवस्था दैनिक प्रशासनिक चरित्रका कार्य गर्ने जनशक्तिबाट निर्यात प्रवर्द्धनसम्बन्धी अनुसन्धानको कार्य गराइरहनुपर्ने बाध्यता छ ।
यी पक्षलाई दृष्टिगत गर्दै निर्यात प्रवर्द्धनसम्बन्धी कार्यलाई अनुसन्धानका पाँचओटा सिँढी तथ्यांक, सूचना, ज्ञान, मेधा र बुद्धिमत्तामा टेकेर अनुसन्धान गर्ने पद्धतिलाई अपरिहार्य बनाउनु आवश्यक छ । यदि यीमध्ये एउटा पक्षको कमी भए तापनि त्यस्ता अनुसन्धानलाई मान्यता नदिने प्रचलनको थालनी हुन जरुरी छ । अनुसन्धानकर्ताको लगन र दक्षता, विभिन्न सरकारी निकायहरूका संस्थागत स्मृति, निजीक्षेत्रका अनुभवहरू र सम्बद्ध क्षेत्रका विषयगत विज्ञहरूका ज्ञानलाई अनुसन्धानको जगका रूपमा स्थापित गरी एकअर्काबीच सहकार्य गर्ने संस्कारको विकास हुनुपर्छ । निर्यात क्षेत्रको अनुसन्धानका क्रममा अपरिहार्य झैं मानिने बाह्य जगत्मा तथ्यांक र सूचनामा नेपाली निर्यात क्षेत्रका अनुसन्धानकर्ताको पहुँच स्थापित गर्न प्रशासनिक, कूटनीतिक र आर्थिक सहयोग पनि अति आवश्यक छ ।
मात्रा, गुण, मूल्य, समय, निर्यात लागत यी पाँच पक्षलाई निर्यात प्रवर्द्धनसम्बन्धी अनुसन्धानका आधारका रूपमा स्थापित हुन जरुरी छ । यी पाँचओटा पक्षको मिहीन विश्लेषण नभएका अनुसन्धानलाई ग्रहण नै नगर्ने मान्यता स्थापित हुनु जरुरी छ ।
हरेक अनुसन्धान गर्दा सम्बद्ध जिम्मेवार सरकारी अधिकारीका अतिरिक्त अर्थशास्त्री, तथ्यांकशास्त्री, वस्तुविज्ञ र विषयविज्ञको संयोजनसहितको सामूहिक अनुसन्धान पद्धतिको व्यवस्था हुन जरुरी छ । यस्तो संरचनाविनाको अनुसन्धानलाई मान्यता नदिने परिपाटी बसाल्नु पनि जरुरी छ ।
यी सबै कार्यलाई विद्वत्तायुक्त नेतृत्व प्रदान गरी अनुसन्धानात्मक प्रकृतिको संस्थागत व्यवस्थाहरू हुन जरुरी छ ।
लेखक व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।