वैशाख ३०, विलिङ्गन (जर्मनी) । कोरोना भाइरसको महामारीका कारण अहिले बार, होटल र रेष्टुराँहरु बन्द छ । स्टेडियमहरु खाली छन् । चीन र इटली लगायत निर्यात बजारमा निर्यात ठप्प छ ।
यस्तोमा आफ्नो उत्पादन खेर फाल्नुको सट्टा जर्मन ब्रुअरीले सयौं लिटर वियर सित्तैमा बाँडेको छ । कोरोना भाइरसका कारण होटल र रेष्टुराँहरुलाई डेलिभरी गर्न नसकेपछि हेस राज्यमा विलिङुगर ब्रुअरीका मालिकले बिहिवार २ हजार ६०० लिटर वियर बाँडे ।
ट्याङ्की ताजा वियरले भर्न र बार खोल्ने अनुमति पाउने बित्तिकैको अवस्थाका लागि तयार रहन वियर बाँडिएको ब्रुअरीका मालिक फ्र्यान्ज मष्टले बताएका छन् । वियर लिन दर्जनौं मानिसहरु ब्रुअरीबाहिर लाइनमा सामाजिक दूरी कायम गर्दै मास्क लगाएर बसेका थिए ।
लाइनमा बसेका धेरैले बाल्टिन र बोटल भरी वियर लगे । कम्पनीले शुरुमा ५४० लिटर वियर बाँड्ने सोचेको थियो ।
तर बाँड्दै जाँदा धेरै बाँडिएको ब्रुअरीले बताएको छ । यो कदमले ब्रुअरीलाई मद्दत मिल्ने आशा गरिएको छ । वियर लगेर सहयोग गरेकोमा मस्ट मानिसहरुलाई धन्यवाद दिंदै लकडाउन पूर्ण रुपमा हटेर व्यवसाय खुला भएपछि आफूहरुलाई सहयोग गर्ने आशा उनको छ ।
केही दिन अघि मात्रै अमेरिकी कृषकहरुले पनि सयौं टन आलु सित्तैमा बाँडेका थिए । एजेन्सी