ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रवादको मौसम

२०७७ जेठ, २  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

यता उत्तरकाले नेपाली पुलिसको कठालो समात्ने, उता दक्षिणकाले नेपाली भूमि हडप्ने । अनि हाम्रा तोरी लाउरेहरू भने एउटा कुर्सीमा को चैं बस्ने भनेर लडेर बस्ने । अनि बाँकी रहेकाले चाहिँ राष्ट्रवादको नारा लगाउने ।

नजिकैको बालुवाटारको जग्गा मिचिँदा नबोल्नेहरूले त्यो टाढा कुनाको लिपुलेकको विषयमा किन बोल्ने, कमिशन झर्ने होइन क्यारे !

जम्मा ९२ हजार जति त सेना छन् । तर उनीहरू कोही फाष्ट ट्र्याक बनाउन, कोही राजमार्गको ट्र्याक खोल्न, कोही मेडिकल कलेज तथा नर्सिङ सञ्चालन गर्न, पेट्रोल पम्प चलाउन त कोही मेडिकल उपकरण आयात गर्ने काममा व्यस्त छन् नि त । अनि सीमा बचाउन लाग्नुपर्ने मान्छे व्यवसायमा लाग्नुपरेसि सक्किगोन्त !

हुन त थाहा नपाएर पनि नबोलेका होलान् । प्रधानमन्त्रीले त भारतले लिपुलेकमा सडक खनेको आफूलाई सूचना नभएको भन्नुभएछ । हुन पनि प्रम देश बनाउनमै दिनको १८ घण्टा खटेको खट्यै हुनुहुन्छ । त्यसरी देश बनाउन खटेपछि लिपुलेकमा बाटो बनेको थाहा नहुन सक्छ नि त !

बाटो पीच बनिसकेपछि मात्र पूरै भूभाग फिर्ता लिने योजना हो कि प्रमको ? त्यहाँको सडक भाडामा दिने भनेर त्यसो भन्नु भएको त होला नि ⁄ तर, जे भए पनि सरकार पुग्नुभन्दा अगाडि नै पुगेर फोटो खिच्ने र समाचार लेख्ने पत्रकारलाई भने कारबाही गर्नुपर्छ अब ।

लिपुलेकमा सडक बनिसकेको प्रमलाई थाहा नभए पनि परराष्ट्र मन्त्रीलाई चैं थाहा भएरै सजग पनि भैराछन् रे !

उपप्रधानमन्त्री त हेलिकप्टर लिएर लिपुलेक घुमेर आएछन् । तर त्यहाँ के के देखे भन्नै बिर्सिएछन् । बिर्सने रोग लागेछ कि क्या हो उपप्रधानमन्त्रीलाई ।

यता गृहमन्त्री चैं यसबारे बोलेको सुनिएको छैन । कतै सेना लिएर लिपुलेकतिरै सुरुङ खन्न पो निस्किएछन् कि मन्त्रीजी !  हेलिकप्टरबाट जाँदा हल्लाखल्ला भो भनेर खुसुक्क गएका होलान् ।

बरु यो बेला यी नेताजीहरूलाई भारत लगेर यो नयाँ बाटो हुँदै कैलाश दर्शन गराए कसो होला ? आन्तरिक पर्यटन प्रवर्द्धन हुन्थ्यो कि भनेर ।

हुन त गत फागुनमै भारतले महाकालीवारि सडक खन्दै छ भन्ने समाचारमा प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘नक्सा त जसले पनि छाप्छ, नक्सा छाप्ने होइन, त्यो भूभाग नै फिर्ता ल्याउँछौं ।’ तर, आज तीन महीना हुन लाग्यो, त्यही बाटो हुँदै तिब्बत मानसरोवर जाने बाटो भारतले बनाएको । तर सरकार बोल्दैन ।

उसले आफ्नै धोती सम्हाल्न नभ्याएर होला कि, नक्सा पनि छाप्ने, भूमि पनि एकैचोटि फिर्ता लिने भनेर पो हो कि ? अथवा सरकारले गणतन्त्र भारतसँगै मिलेर एकैचोटि साम्यवादमा पुग्ने बाटो बनाउन पो लाग्या हो कि ? के था !

जे होस्, देशमा फेरि एकपटक मौसमी राष्ट्रवाद शुरू भएको छ । माइतीघरमा प्रदर्शनहरू शुरू भएका छन् । लकडाउनले गर्दा व्यापार चौपट भयो भनेर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनै पर्दैन । किनकि यतिबेला राष्ट्रवादको मुखुण्डो देशैभरि र खासगरी माइतीघरमा खुब विक्री भइरहेको छ, दिनदिनै ।

देशको सिमानामा के कस्तो गतिविधि हुँदै छ भनेर बेलैमा थाहा पाउने संयन्त्र हुन्छ कि हुन्न ? रातारात सीमाका पिलर सारिँदा, आफ्नो भूभाग अर्कैको नक्सामा पर्र्दा र बाटो समेत बनिसक्दा पनि कसैलाई थाहा पत्तो हुन्छ कि हुन्न ? सेना छन्, सशस्त्र प्रहरी बल छ, जासुसी संयन्त्र पनि छ, तर उनीहरूले के हेरेर बसे त ? सर्वसाधारण जनता प्रश्न गरिरहेका छन् ।

तर खै कुरो बुझेको ? जम्मा ९२ हजार जति त सेना छन् । तर उनीहरू कोही फाष्ट ट्र्याक बनाउन, कोही राजमार्गको ट्र्याक खोल्न, कोही मेडिकल कलेज तथा नर्सिङ सञ्चालन गर्न, पेट्रोल पम्प चलाउन त कोही मेडिकल उपकरण आयात गर्ने काममा व्यस्त छन् नि त । अनि सीमा बचाउन लाग्नुपर्ने मान्छे व्यवसायमा लाग्नुपरेसि सक्किगोन्त ⁄ सेनालाई सरकारले जेमा खटायो त्यही गर्ने त होला । बिचरा, सेना अहिले त औषधि किन्न गाछ, अनि कता सीमा रक्षा गर्न कुदोस् त ?

बाँकी सुरक्षाकर्मी नयाँ सरकारका नयाँ नयाँ मालिकका सुरक्षा गर्नमै व्यस्त छन् । पुराना सरकारका पुराना मालिकका सेवामा खटिने सुरक्षाकर्मी पनि उत्तिकै छन् । बाँकी रहेका युवा विदेशको सुरक्षा र विकास गर्न गाछन् । अनि सीमाको सुरक्षा कसले गर्ने त ?

तपाईं भन्नुहोला हाम्रो सरकारले । तर जान्ने बुझ्ने मानिसहरू भन्छन्– हाम्रो सरकार काँ छ ? अरूको इन्ट्रेस्टमा काम गर्नेहरू भएसि हाम्रो होइन, उनीहरूकै सरकार भयो नि त ! अनि उनीहरूको सरकारले हामीहरूको हित हेरेन भनेर हुन्छ ?

हुन पनि हिजो यिनलाई उनैले वास दिएका, कसैलाई त सास समेत दिएका रे । फेरि भोलिका लागि माथि आउने आश दिएका होलान् । अनि यिनीहरू उताका नभै यताका कसरी हुन सक्छन् त ?

तर जताका भए पनि राष्ट्रवादको ढोँग गर्दा भने बिचराहरू थाक्ने भए त ⁄ हुन पनि निद्राबाट ब्यूँझिए जस्तो गरी एकैचोटि राष्ट्रवादको डम्फु बजाउन पनि गाहै्र हुँदो हो ।
तर, सरकारले केही पनि नगरेको भने होइन है ⁄ उसले पछिल्लो समय ख्यास्स एउटा विज्ञप्ति भने जारी गरेको छ ! त्यसैले अब लिपुलेकको मुद्दामा नेपालले केही गर्नैपर्छ । के गर्ने, केही सुझाव यहाँ दिइन्छ ।
१. हरेक दिन कडाभन्दा कडा विज्ञप्ति निकाल्ने ।
२. हरेक साँझ घरघरमा दीप प्रज्वलन गर्न लाउने ।
३. हरेक घरमा नेपाली झण्डा गाड्न लाउने ।
४.‘ब्याक अफ इण्डिया’को ह्यासट्याग ट्रेन्डिङ गराउने ।
५. आफ्ना भ्रातृ, मातृ, पितृ संगठनका छाउरा छाउरीहरूलाई प्रत्येक दिन माइतीघरमा प्रदर्शन गर्न लाउने ।
६. शहरमा टायर बाल्ने, तोडफोड गर्दै प्रदर्शन गर्ने ।
७. आँट आयो भने भारतीय दूतावासअघि गएर प्रदर्शन गर्न लाउने । नभए सहसचिव स्तरकै भएपनि भारतीय दूतलाई भेट्न स्वयं परराष्ट्र मन्त्री जाने र त्यहाँ गएर लम्पसार पर्ने ।
८. हरेर दिन सबै एफएम रेडियोलाई राष्ट्रिय गीत बजाउन उर्दी जारी गर्ने ।
९. विगतको सरकारले गर्दा यस्तो भएको हो भनेर मादल बजाइरहने ।
१०. संसद्मा विपक्षीसँग लिपुलेक र सडक विषयमा दोहोरी खेलिरहने ।

यति गरेसि त हामी संसारकै महान् राष्ट्रवादी कसो नबनौंला त ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)