जेठ ५, टोकियो (जापान) । कोरोना भाइरसको महामारीबीच जापानमा लिपस्टिकको विक्रीमा उच्च कमी आएको छ ।
भाइरसको संक्रमणबाट जोगिन महिलाहरुले मुहार मास्कले ढाक्न थालेसँगै त्यहाँ लिपस्टिकको विक्री प्रभावित भएको हो । संक्रमण फैलिन नदिन स्टोरहरुले पनि लिपस्टिक टेष्टर हटाएका छन् ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्यांक शाखाले मार्चमा गरेको घरपरिवार खर्च सर्वेक्षणअनुसार सन् २०१९ को सोही महीनाको तुलनामा लिपस्टिकको विक्री २२ दशमलव २ प्रतिशतले घटेको छ ।
दक्षिण पश्चिम जापानको फुकुओकाको हाकाता वडामा हाकाता–गूची ड्रगस्टोर ओह्गा फार्मेसीले देशभर रहेका आफ्ना ७ स्टोरमा फेबु्रअरीदेखि अप्रिलसम्म विक्रीको प्रवृत्ति विश्लेषण गरेको थियो । यस क्रममा गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा फाउन्डेशन, ब्लशर र आई मेकअपको विक्री २० प्रतिशतले घटेको पाइयो ।
सो अवधिमा लिप मेकअप प्रडक्टको विक्री घटेर आधामा आएको छ । लिप मेकअपका साधनको विक्री अप्रिलमा मात्रै ६० प्रतिशतभन्दा धेरैले घटेको बताइएको छ ।
मुहारको तल्लो आधा हिस्सा छोप्ने फेस मास्क दैनिक जीवनमा अत्यावश्यक बनेको छ । कपडाका मास्कमा लागेको लिपस्टिकको दाग हत्तपत्त नजाने भएकोले पनि विक्री प्रभावित भएको हो ।
उपभोक्ताहरुले अहिले आफूलाई जे चाहिएको छ त्यो मात्रै किनिरहेका छन् र यो कुरा मेकअपमा पनि लागू भएको देखिन्छ ।
सामान्य अवस्थामा कस्मेटिक कम्पनीहरुले लिपस्टिक लगायत नयाँ मेकअप लाइन लञ्च गर्थे । तर यस वर्ष कम्पनीहरुले नयाँ लञ्च स्थगित गरेका छन् ।
लिपस्टिक विक्री घटेको भएपनि लिप बामको विक्री भने सुदृढ पाइएको छ । फेब्रुअरी–अप्रिल अवधिमा लिप बामको विक्री करीब १० प्रतिशतले बढेको ओह्गा फार्मेसीले बताएको छ । एजेन्सी