ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चरिकोट–तामाकोशी सडक खण्ड कालोपत्र शुरू

२०७७ जेठ, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । लामोसाँघु–जिरी सडक अन्तर्गत चरिकोट–तामाकोशी सडक खण्डमा कालोपत्र शुरू गरिएको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको लामा कन्स्ट्रक्शनले भीमेश्वर नगरपालिकाको किराँती छापबाट कालोपत्र गर्न शुरू गरेको हो ।

लामोसाँघु–जिरी सडकको स्तरोन्नति अन्तर्गत चरिकोट–तामाकोशी सडक खण्डमा १ किलोमिटर सडकमा डीबीएसटी प्रविधिमार्फत कालोपत्रको पहिलो कोट राख्ने काम सकिएको लामा कन्स्ट्रक्शनका व्यवस्थापक रवीन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै ८ किलोमिटरमा सब–बेस तथा ३ किलोमिटरमा बेस राख्ने काम सकिएको उनको भनाइ छ । चरिकोट–तामाकोशी सडक खण्डको लम्बाइ १८ किलोमिटर छ ।

यो आवमा १६ किलोमिटर कालोपत्र सक्ने लक्ष्य भए पनि रूख कटानमा भएको ढिलाइ, लकडाउन लगायत समस्याका कारण कालोपत्र गर्ने काममा ढिलाइ भएको निर्माण कम्पनीले बताएको छ । मौसम प्रतिकूल नभए तथा सामान ढुवानी सहज भएमा चालू आर्थिक वर्षभित्र ७ किलोमिटर सडक कालोपत्र गरिसक्ने लक्ष्य रहेको श्रेष्ठले बताए ।

यस्तै तामाकोशी पुलदेखि जिरीसम्मका विभिन्न स्थानहरूमा पनि कटिङ, फिलिङ, वालिङ लगायतका काम भइरहेको लामा कन्स्ट्रक्शनले बताएको छ । लामोसाँघुदेखि जिरीसम्मको ११० किलोमिटर सडकमध्ये तेस्रो प्याकेज ५५ किमीको काम चरिकोटदेखि जिरीसम्मको छ । भारतीय एक्जिम बैंकको ऋण लगानी रहेको उक्त सडक निर्माणको जिम्मा उडहिल–लामा जेभीले ठेक्का पाएको छ । ऋण दाताको शर्त अनुसार ठेक्कामा भारतीय कम्पनी उडहिलको ५१ प्रतिशत र नेपाली कम्पनी लामा कन्स्ट्रक्शनको ४९ प्रतिशत शेयरमा ठेक्का सम्झौता भएको हो । २ अर्ब २८ करोड लागतमा ठेक्का सम्झौता भएकोमा साइटको काम लामा कम्पनीले नै गरिरहेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)