ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनका कारण राजस्व असुली लक्ष्यभन्दा आधा  

२०७७ जेठ, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

जेठ ७, चितवन । लामो समयसम्म जारी लकडाउनको कारण चितवनमा राजस्व असुली प्रभावित भएको छ । विशेषगरी मदिराजन्य वस्तुको उत्पादन र विक्री ठप्प हुँदा राजस्व संकलनमा असर परेको हो । फागुनसम्म राजस्व असुलीको अनुपात सन्तोषजनक भए पनि त्यसयता सबै कारोबार ठप्प हुँदा राजस्व असुली हुन नसकेको आन्तरिक राजस्व कार्यालय, भरतपुरले जानकारी दिएको छ । 

कार्यालयका अनुसार वैशाखसम्मको राजस्व असुली ५८ दशमलव २८ प्रतिशत मात्र भएको छ भने चालू आवको कुल राजस्व संकलनको लक्ष्य ४६ दशमलब ८४ प्रतिशत मात्र हासिल भएको छ । हालसम्म आयकर शीर्षकबाट कार्यालयले १ अर्ब ७२ करोड ६६ लाख ५४ हजार राजस्व संकलन गरेको छ । यस शीर्षकमा कार्यालयले २ अर्ब ३३ करोड ३५ लाख ४५ हजार संकलनको लक्ष्य राखेको थियो । बहाल करबाट हालसम्म कार्यालयले ४ करोड ४० लाख ५८ हजार राजस्व संकलन गरेको छ । यस शीर्षकमा  कार्यालयले वैशाखसम्म ७ करोड ३७ लाख ७० हजार रुपैयाँको लक्ष्य लिएको थियो । यस्तै कार्यालयले ब्याज करबाट ११ करोड ६९ लाख ७३ हजार राजस्व संकलन गरेको छ । यस अवधिसम्म कार्यालयले सो शीर्षकबाट १५ करोड ९४ लाख ७० हजार असुली गर्ने लक्ष्य लिएको थियो । 

कार्यालयले सबैभन्दा बढी अन्तःशुल्क करबाट राजस्व असुली गर्दै आएको छ । सो शीर्षकबाट यस आर्थिक वर्षको बैशाखसम्ममा १६ अर्ब ७९ करोड ६५ लाख ३१ हजार राजस्व असुली गरेको छ । उक्त अवधिसम्म कार्यालयले यस शीर्षकमा ३० अर्ब ७९ करोड ७८ लाख ४४ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । 

कार्यालयले हालसम्म स्वास्थ्य सेवा कर शीर्षकबाट  २ लाख २२ हजार राजस्व असुली गरेको छ । यो अवधिमा यो शीर्षकबाट १ करोड ३२ लाख ७२ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो । त्यस्तै शिक्षा सेवा करबाट कार्यालयले १ करोड १८ लाख ५८ हजार राजस्व असुली गरेको छ भने यस शीर्षकमा राजस्व असुलीको लक्ष्य राखिएको छैन । 

यस्तै कार्यालयले मूल्य अभिवृद्धि कर शीर्षकमा भने लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । यसबाट हालसम्म १ अर्ब ६२ करोड ४४ लाख ४३ हजार राजस्व असुली गरेको छ । यस अवधिसम्म कार्यालयले उक्त शीर्षकमा १ अर्ब ४८ करोड ९४ लाख ८५ हजार राजस्व असुलीको लक्ष्य लिएको थियो । मूल्य अभिवृद्धि करको हकमा जुनसुकै निकाय, संस्थाबाट उद्योगी व्यवसायीले भुक्तानी पाउनेबित्तिकै ५० प्रतिशत पहिल्यै काटेर दिने गरिएकाले लक्ष्यभन्दा बढी उठेको कार्यालयका कर अधिकृत कपिल नेपालले जानकारी दिए । उनका अनुसार लकडाउनका कारण सबैजसो आर्थिक कारोबार बन्द भएकोले यस आर्थिक वर्षमा विभागले दिएको लक्ष्यभन्दा निकै कम राजस्व असुली हुनेछ ।

‘अहिलेसम्मको अवस्था हेर्दा वार्षिक लक्ष्यको ४६ दशमलव ८४ प्रतिशत मात्र हासिल भएको छ,’ उनले भने, ‘लकडाउन केही खुकुलो भए राजस्व संकलनलाई थप प्राथमिकता दिनेछौं ।’ राजस्व असुलीसँग सम्बद्ध सबै उद्योग व्यवसायको कारोबार बन्द भएको र चलेका व्यवसायले पनि कार्यालयसम्म आएर कर तिर्ने वातावरण पनि नभएकोले राजस्व संकलनमा कमी आएको नेपालको भनाइ छ ।

कार्यालयका प्रमुख शुभप्रसाद रिजाल लकडाउनसँगै मदिराजन्य वस्तुको कारोबार ठप्प हुँदा राजस्व असुलीमा ह्रास आएको बताउँछन् । ‘हाम्रो सबैभन्दा राजस्व असुलीको स्रोत मदिराजन्य वस्तु हो,’ उनले भने, ‘अहिले न उत्पादन छ न विक्री नै । राजस्वको झण्डै ८० प्रतिशत हिस्सा मदिराजन्य वस्तुबाट संकलन हुन्छ ।’ 

सरकारले हरेक उद्योगी व्यवसायीलाई हाललाई लाग्ने विलम्ब जरीवाना र ब्याज छूट गरेकाले पनि राजस्व संकलनमा कमी आएको रिजालले बताए । यस समयमा मदिराजन्य वस्तुको विक्री राम्रै हुने गरे पनि यस वस्तुको माग र आपूर्ति व्यवस्थापन नहुँदाको असर राजस्व संकलनमा परेको उनको भनाइ छ । चालू आर्थिक वर्षका लागि कार्यालयलाई ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य दिइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)