ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा अनलाइन कक्षाको प्रभावकारिता बढ्दै

२०७७ जेठ, २०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

जेठ २०, चितवन । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउन मंगलवारसम्म ७१औं दिन भइसकेको छ । देशका कृषि, स्वास्थ्य, वित्तीय संस्था बाहेक सबैजसो क्षेत्र ठप्प छन् । लकडाउनका कारण विद्यालयमा समेत प्रत्यक्ष कक्षामा गरिने पठनपाठन पनि बन्द छ । यसको विकल्पको रूपमा चितवनका निजी तथा सामुदायिक केही विद्यालयले पठनपाठनलाई निरन्तरता दिन अनलाइन कक्षाको अभ्यास गर्दै आएका छन् । शुरुआती दिनमा केही अप्ठ्यारा तथा प्राविधिक कमजोरी भए पनि पछिल्लो समय यसको प्रभावकारिता बढेको र परिणाममुखी बन्दै गएको सरोकारवाला बताउँछन् । 

जिल्लामा सबैभन्दा पहिले अनलाइन क्लास शुरू गर्ने भरतपुर महानगरपालिका–१२ का ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा कार्की पछिल्लो समय अनलाइन कक्षाको प्रभावकारिता बढ्दै गएको बताउँछिन् । ‘शुरूमा त हामी सूचनाप्रविधिमैत्री पनि थिएनौं, विद्यार्थी अभिभावकलाई समेत बुझाउन गाह्रो भयो,’ उनले भनिन्, ‘अहिले सबै सन्तुष्ट हुनुहुन्छ ।’ उनका अनुसार हाल विद्यालयका १ हजारभन्दा बढी विद्यार्थीले अनलाइन कक्षाबाट पठनपाठन गरिरहेका छन् । कोरोना महामारीपछि अनलाइन कक्षा नेपालको लागि बिल्कुलै नयांँ अभ्यास भएको र अभ्यस्त हुन केही समय लाग्ने भएकोले केही समस्या हुँदै आएको थियो । प्राचार्य कार्कीले आफूहरूले प्रत्येक कक्षाका शिक्षकहरूलाई तीन दिनको अनलाइन कक्षा तालीम दिएर कक्षा दिन शुरू गरिएकाले अहिले सहज भएको बताइन् । 

जिल्लामा हाल अहिले सबैजसो निजी विद्यालयले अनलाइन कक्षाको अभ्यास गरिररहेका छन् । अनलाइन कक्षाको आवश्यकता र प्रभावकारितासँगै उनीहरूले विद्यार्थीहरूलाई विभिन्न पाठ्यक्रम ढाँचा, गृहकार्य लगायत विषयमा अभ्यस्त गराउँदै लगेका छन् ।

जिल्लाकै उत्कृष्ट विद्यालय मानिने भरतपुर महानगरपालिका–३ को विद्यालय लिटल फ्लावर स्कुलमा समेत अनलाइन कक्षा प्रभावकारी हुँदै गएको स्कुलका प्रिन्सिपल फादर रोवी बताउँछन् । ‘पहिले त यसलाई कसरी शुरू गर्ने अन्योलमा थियौं,’ उनले भने, ‘पछि हामीले विद्यार्थी, अभिभावकसंँग सहकार्य गरेर कक्षालाई सहज बनाउन सफल भयौं ।’ हाल उक्त स्कुलले विद्यार्थीलाई पहिल्यै पढाइ हुने पाठ्यक्रमको सूचना, जानकारी ईमेल मार्फत दिने, कक्षाका सबै पाठ्यपुस्तक अनलाइनमै पढ्ने व्यवस्थाका साथै कक्षा लिइसकेपछि गृहकार्य दिने गरेको छ ।

स्कुलमा करीब २ हजार विद्यार्थीहरू भए पनि अनलाइन कक्षाको लागि १ हजार ५०० भन्दा बढी विद्यार्थी हाजिर हुने गरेको उनले बताए । ‘स्कुलले सबैलाई समान अवसर दिएको छ, कतिपय स्थानमा प्राविधिक कारणले विद्यार्थीले क्लास मिस गर्न सक्छन्,’ रोवीले थपे । 

लकडाउनका कारण आफ्ना बालबालिकाहरूको पढाइ अनिश्चित हुने चिन्ता भए पनि यसको शुरुआतसँगै अहिले आफूलाई सन्तुष्ट मिलेको बताउँछिन् भरतपुर महानगरपालिका–१२ की एक अभिभावक जानकी पाठक । ‘पहिले त बच्चाहरूलाई कसरी पढाउने, कसरी जोड्ने, भन्ने अन्योल थियो,’ उनले भनिन्, ‘अहिले छोराछोरी आफै अनलाइन कक्षा लिन सक्छन् ।’ अघिल्ला वर्षमा स्कुलमै पुगेर छोराछोरीले पढ्ेजस्तै आफ्नै प्रत्यक्ष निगरानीमा पढाउन पाउँदा सन्तुष्ट मिलेको उनको अनुभव छ । 

स्वास्थ्य सुरक्षाका कारण सबै विद्यालयले अनलाइन कक्षा दिनु बाध्यता र आवश्यकता दुवै हो । यसले एकातिर विद्यार्थीलाई सूचनामैत्री बनाउन मद्दत पुगेको त छ नै, समयको महŒव पनि बुझाएको छ । अनलाइन कक्षामा सैद्धान्तिक कक्षा लिन सम्भव भए पनि व्यावहारिक कक्षा लिन भने कठिनाइ नै छ ।

प्याब्सन चितवनका सचिव मोहन लामा शुरुआती दिनमा अनलाइन कक्षाप्रति सरोकारवालाको कम चासो र असहजता भए पनि अहिले अभिभावक, शिक्षक, विद्यार्थी यसमा अभ्यस्त भएको बताउँछन् ।

‘पहिले रुचि कम थियो, अन्योल र स्रोत सामग्री व्यवस्थापनमा कठिनाइ थियो,’ उनले भने, ‘तर अहिले यस विषयमा कतैबाट गुनासो आएको छैन ।’ उनका अनुसार अभिभावक आफैले यसको आवश्यकता र महत्व बुझेर ग्याजेट्स र इन्टरनेट सुविधा लिने क्रम बढेको छ । 

जिल्लामा सामुदायिक विद्यालय र संस्थागत गरी ५१९ ओटा विद्यालय छन्, जहाँ २ लाख १७ हजार ५७९ विद्यार्थी अध्ययनरत छन् । जिल्लामा प्याब्सनमा मात्र आबद्ध १५७ विद्यालय छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)