तपाईले कहिले मरुभूमिमा धान लहलहाएको कल्पना गर्नु भएको छ ? धान खेति भन्ने बित्तिकै हाम्रो दिमागमा ठूलो फाँट अनि पानी टलपल भएका खेतको तस्वीर आउँछ । धान मरुभूमिमा फल्ने बाली पनि होइन ।
तर कोरोना भाइरसको महामारीका कारण पर्याप्त खाद्यान्नको जोहो गर्ने तरिका खोज्न संयुक्त अरब इमिरेट्स (यूएई)ले भने मरुभूमिमै पनि धान खेति गर्नेबारे योजना ल्याएको छ ।
दक्षिण कोरियाको ग्रामीण विकास प्रशासनसँग मिलेर शुरु गरिएको एक परीक्षण योजनामा यूएईले गत महीना करीब १ हजार ७०० केजी आसेमी धान इमिरेट अफ सार्जाहमा रोपेको छ ।
अत्यधिक गर्मी खप्न सक्ने र नूनिलो जमीनमासमेत फल्ने भएकोले यो जातको धान रोपिएको हो । धानको लागि चाहिने पानीको जोहो भूमिगत सिंचाइ प्रणालीबाट मिलाइएको छ ।
महामारीले विविधकरणको दरिलो सन्देश दिएको र यो भावी योजनाको लागि महत्वपूर्ण भएको यूएईका जलवायु परिवर्तन तथा वातावरण मन्त्री थानी बिन अहमद अल जेउदीले एक अन्तर्वार्तामा भनेका छन् ।
महामारीले बाँकी विश्व विश्वको तुलनामा छिटोछिटो बढ्न नवप्रवर्तनशील उपायहरु ल्याउन आफूहरुलाई दबाब दिएको उनको भनाइ छ । यूएईले त्यहाँ खपत हुने करीब ९० प्रतिशत खाद्यान्न आयात गर्ने गरेको छ ।
महामारीका कारण अहिलेसम्म यूएईको खाद्य आपूर्तिमा गम्भीर अवरोध उत्पन्न भएको छैन । तर यसले खाद्यान्नको उत्पादन घरेलु स्तरमै गर्ने प्रेरकका रुपमा काम गरेको छ ।
स्थानीय रुपमा धेरै माग हुने बाली उत्पादनको लक्ष्य राख्नु पर्छ भन्ने कुरा महामारीले देखाएको अल जेउदी बताउँछन् । अर्को परियोजनामा कफी र गहुँको परीक्षण गरिने उनले बताए ।
बालीमा परीक्षण गर्ने र स्थानीय कृषि योग्य जमिन बढाउनुको साथै यूएईले सीमापार आपूर्ति सञ्जाल समेत बलियो बनाइरहेको छ । आवश्यक खाद्यान्नको जोहो गर्न यूएईले ६० भन्दा बढी देशमा कृषि भूभाग किनेको छ ।
अन्य देशमा पनि यसले लगानी बढाउने बताइएको छ । विश्वको खाद्य सुरक्षा सूचकांक २०१९ मा यूएई जापानसँग बराबरी गर्दै २१ औं स्थानमा रहेको थियो । एजेन्सी