ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिलुमा एकीकृत बस्ती निर्माण धमाधम

२०७७ जेठ, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । भीमेश्वर नगरपालिका–४, स्थित जिलुमा एकीकृत नमूना बस्ती निर्माण धमाधम भइरहेको छ । बस्ती निर्माण गर्न छनोट भएको डिही–फसीभैं नमूना एकीकृत बस्तीको पूर्वाधार निर्माण कार्य सम्पन्न गरी विकसित घडेरी हस्तान्तरण भएपछि बस्ती निर्माणको कामले तीव्रता  पाएको हो ।

पूर्वाधार निर्माण कार्य सम्पन्न भई चैतको पहिलो हप्ताबाट शुरू भएको नमूना बस्तीमा निजी आवास बनाउने कार्य लकडाउनकै अवधिमा पनि भइरहेको जिलु–फसीभैं एकीकृत बस्ती निर्माण समितिका अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले बताए । नमूना बस्तीको ‘ख’ ब्लक फसीभैंमा एक निजी आवास निर्माण सम्पन्न भएको तथा ५२ ओटा घर निर्माण भइरहेको उनको भनाइ छ ।

एकीकृत नमूना बस्ती निर्माणका लागि डिही तथा फसीभैंलाई ‘क’ र ‘ख’ ब्लकमा विभाजन गरी कुल १९० ओटा निजी आवासको पुनर्निर्माण गरिने छ । असारको पहिलो हप्तासम्ममा ‘ख’ ब्लकमा ५५ ओटा निजी आवास पुनर्निर्माण सम्पन्न हुने अध्यक्ष चौलागाईंले जानकारी दिए । ‘क’ ब्लकमा भने निजी आवास निर्माण शुरू भएको छैन ।

‘क’ ब्लकअन्र्तगतको डिहीमा करीब ४५ रोपनीमा ७८ ओटा निजी आवास तथा ‘ख’ ब्लक फसीभैंमा करीब ६० रोपनीमा ११२ ओटा निजी आवास पुनर्निर्माणका लागि विकसित घडेरी उपलब्ध गराईएको अध्यक्ष चौलागाईंले जानकारी दिए । एकीकृत नमूना बस्तीका लागि स्थानीयले ६० देखि १ हजार ३०० वर्गमीटरसम्म जग्गा उपलब्ध गराएको भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष एवं भीमेश्वर नगरपालिकाका प्रवक्ता हरिवंश चौलागाईंले बताए ।

एकीकृत बस्तीमा निजी आवास बनाउनेहरूले कम्तिमा ४ आनाको विकसित घडेरी प्राप्त गरेका छन् । दुबै ब्लकको बस्ती क्षेत्रभित्र पूर्वाधार निर्माणका लागि मात्र कुल जग्गाको २६ प्रतिशत खर्च भएको बताइएको छ ।

पूर्वाधार अन्तर्गत सडक, भूमिगत ढल तथा नालाको निर्माण कार्य सम्पन्न भइसकेको छ । एकीकृत बस्तीमा निजी आवाससहित सडकमा सोलारबत्ती तथा सामुदायिक भवन निर्माण गरिने वडाध्यक्ष चौलागाईंले जानकारी दिए ।    एकीकृत नमूना बस्ती जिल्लाकै व्यवस्थित शहरीकरणको नमूना बन्नेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहाडी क्षेत्रमा एकीकृत नमूना बस्तीको पूर्वाधार निर्माणका लागि प्रतिलाभग्राही रू. ४ लाख अनुदान उपलब्ध गराएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)