ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा यूरिया मल अभाव

२०७७ जेठ, ३०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । धमाधम खेतीपाती शुरू भइरहँदा चितवनमा यूरिया मलको अभाव देखिएको छ । यहाँका किसानले डीएपी मल सहजै पाउने गरेको भए पनि यूरिया मल पर्याप्तरूपमा पाउन सकेका छैनन् । यद्यपि, देशभर मलको अभाव भइरहेको अवस्थामा चितवनमा भने आंशिक अभाव मात्रै देखिएको हो ।

यूरिया मल पर्याप्तरूपमा नपाउँदा अन्य रासायनिक मल प्रयोग गर्नुपरेको यहाँका किसान बताउँछन् । विगतका वर्षहरूमा मलको अत्यधिक मागका कारण अभाव देखिने गरेको भए पनि यो वर्ष लकडाउनका कारण कोलकाता ट्रान्सपोर्टमा मल रोकिनाले सहज हुन नसकेको सरकारी विक्री केन्द्रहरूको भनाइ छ ।

कृषि सामग्री केन्द्र कम्पनी लिमिटेड चितवनका प्रमुख रवीन्द्र गौतम चितवनमा मलको अभाव खासै नभएको दाबी गर्छन् । ‘चितवनमा मलको अभाव छैन’, उनले भने, ‘हामीले जिल्लाका सहकारीहरूलाई सहज रूपमा वितरण गरिरहेका छौं ।’ उनका अनुसार चीनबाट यूरिया मल आपूर्ति हुने गरेका कारण सहज हुन केही समय लाग्ने छ भने डीएपी मल अभाव नभएको उनले बताए ।

पछिल्लो समय जिल्लामा व्यावसायिक खेतीमा वृद्धि भएको कारण वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । ‘जिल्लामा अहिले सबै प्रकारका गरी १६ हजार मेट्रिकटन मलको माग छ’, उनले भने, ‘करीब १३ हजार मेट्रिकटनको मात्रै आपूर्ति भइरहेको छ ।’ वर्षेनी १० प्रतिशत रासायनिक मलको माग वृद्धि हुँदै गएको गौतमले बताए ।

जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन समेतले मलको विक्रीवितरण गर्दै आएको छ । आपूmहरुले जिल्लामा एकतिहाई मल विक्रीवितरण गर्ने गरेको कर्पोरेशनका प्रमुख बुद्धिविनोद दाहाल बताउँछन् । अन्य मलको अभाव नभए पनि यूरिया मल अभाव भएको हप्तौं भइसकेको उनले बताए । ‘सस्तो मूल्यका कारण पनि यूरिया मलको माग धेरै छ,’ उनले भने । लकडाउनका कारण मल आपूर्ति समयमा हुन नसकेको उनले बताए । सरकारको खरीद प्रक्रियाअनुसार मल आपूर्ति हुने गरेकोले सिजनको समयमा मल आपूर्ति सहज हुन नसकेको उनको भनाइ छ ।

हाल जिल्लामा मकैलगायत व्यावसायिक तरकारीका साथै धानको बीउको ब्याड तयार गर्ने चटारो छ । जसका कारण डीएपी, यूरिया र जिंकलगायत मलको माग बढी छ । भरतपुर महानगरपालिका–५ स्थित नवचन्द्रमा कृषि सहकारीमा अन्य मल सहज रूपमा पाइए पनि यूरिया मलको भने अभाव छ । डीएपी मलको तुलनामा यूरिया मलको माग बढी भएको बताउँछन् सहकारीका पूर्वअध्यक्ष विष्णु आचार्य । रू. २ हजारमा यूरिया मल १ क्विन्टल खरीद गर्न सकिन्छ भने डीएपी मल क्विन्टलकै रू. ५ हजार पर्ने उनको भनाइ छ ।

सबै किसिमको खेती र धान गोडेपछि यूरिया मलको माग उच्च हुने भएकाले सरकारले यथाशक्य मल उपलब्ध गराउनु पर्ने माग अर्यालको छ । उनका अनुसार अन्य जिल्लामा जस्तो चितवनमा मलको अभाव नरहेको बताउँदै किसानले निजी मल विक्रेता तथा एग्रोभेटबाट विकल्पमा अन्य मल प्रयोग गर्ने गरेको जानकारी दिए । जिल्लामा २०० को हाराहारीमा कृषि सहकारी छन् । यहाँस्थित सरकारी विक्री केन्द्रले गोर्खामासमेत मल विक्रीवितरण गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)