ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्तर कस्ले दिने ?

२०७७ जेठ, ३०  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

नेपालीलाई जेमा पनि रेकर्ड राख्नैपर्ने ! त्यै भएर होला यो लकडाउनमा पनि संसारका सबै देशलाई उछिनेर सबैभन्दा धेरै दिन लकडाउन गर्नेमा नेपालले आफ्नो नाम राख्यो । लकडाउनको अनेक चरण पार गर्दै रेकर्ड बनाएर देश अब भगवान् भरोसाको चरणमा प्रवेश गरिसकेको छ । यो चरणमा आउन पनि जनता सडकमै ओर्लनुपर्‍यो । तर सरकार कति उदार, कति दयालु छ भने आफ्नै विरोध गर्दै सडकमा आएकाहरूलार्ई पनि गर्मी भयो होला, गाह्रो भयो होला भनेर पानीको शीतल फोहोराले स्वागत गर्छ ।

यो बेला देश दुई आतंकबाट आक्रान्त छ – कोरोना महामारी र भ्रष्टाचार, भोक तथा मृत्युको आतंकबाट । कोरोनाबाट आजका दिनसम्म जम्मा १५ जनाको ज्यान गयो । तर दुर्भाग्य, यसै अवधिमा ११ सयभन्दा बढीले आत्महत्या गरे । अन्य थुप्रै रोगको उपचार समयमै नपाएर ज्यान जानेको संख्या निकाल्न त चित्रगुप्तकैमा जानुपर्ला । किनभने हिसाबकिताब राख्नुपर्ने सरकार बिचरा आफै कुहिरोभित्र हराएको कागजस्तो अलमलमा छ । केही गर्न त ढंग हुनुपर्‍यो नि । हुन त मुखबाहेक अरू नचल्ने भएपछि सरकारले पनि के गरोस् ?

सरकारले खासै सिन्को पनि भाँच्नु परेको छैन । जनताले धेरै कराए भने फ्याट्ट लिपुलेक, लिम्पियाधुराको कुरा निकाल्द्यो, कि एमसीसीको । बस रोग, भोक, शोक सबै भुलेर जनता बुरुक्कै उफ्रेर देशका लागि ज्यान दिन तयार भइहाल्छन्, फेसबुक र चियापसलमा ।

एक त त्यो भेंडीगोठे क्वारेन्टाइन, जसलाई कसै कसैले कन्सेन्ट्रेशन क्याम्प भन्ने नाम राखेका छन्, बनाउँदा खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको हिसाब किताब मिलाउँदैमा फुर्सद छैन सरकारलाई । तर कोरोना रोक्न बनाएको क्वारेन्टाइनले कोरोना फैलाइरहेछ भने यसमा सरकारको पनि के दोष ? चीनमा क्वारेन्टाइनले रोकिने यहाँ फैलने । कस्तो बहुरूपिया रहेछ यो कोरोना ! नेपालका नेताहरू बहुरूपिया देखेर कोरोना पनि बहुरूपिया नै छिरेछ कि क्या हो यता ?

नेपाल भ्रमण वर्षमा कोरोना पो नेपाल भ्रमणमा आयो । त्यो नआएको भए यतिबेला निजगढबाट हुरुरु पिलेन उडिरहेका हुन्थे, नाथे २० लाख त के नेपालको कुल जनसंख्याभन्दा बढी त त्यहाँ पर्यटक नै हुन्थे । धराहरा कति अग्लो बन्थ्यो होला, धरहराबाटै चन्द्रमामा रकेट उडाइन्थ्यो, नेपाल समृद्धिको रेलयात्रामा निस्कन्थ्यो, यस्तै कुरा सोच्दै होला सरकार । तर समृद्धिको सपना पूरा गर्नै लाग्दा काहाँबाट यो कोरोना आयो र सरकारको सपना उडायो ।

लकडाउनलाई कत्तिले सरकारले आर्थिक नाकाबन्दी लगाएको भन्ठानेका रहेछन्् । अब खान नपाएर भोकभाकै मर्ने भइयो भन्छन् । सरकारले उदार भएर सुती सुती खाऊ भन्दा पनि सुख नपाउने ? सरकारले त नाकाबन्दी होइन, नाकबन्दी अर्थात् मास्क लगाएर वा नाक बन्द गरेर हिँड मात्र भनेको पो हो त । अर्को कुरा मानिस कहिल्यै मर्छ र ? गीतामा स्पष्ट लेखिएको छ ‘आत्मा अमर छ’ ।

एकथरी मान्छेहरू सरकारले विभेद गर्‍यो भन्छन् । नागरिकहरू पनि फरक फरक आकार, प्रकार र हैसियतका छन् नि त । पिलेन चढेर विदेशबाट आउने, भारततिरबाट हिँडेर वा बसबाट आउने, नेता पार्टी नजिकका, पदक पाउने र नपाउने आदि विविध प्रकारका नागरिक छन् नि त देशमा । चुनावमा भोटको अधिकार पो सबैको बराबर, अरू बेला कसरी बराबर हुन्छ र ?

जताततै भद्रगोल छ । तर सरकारले पनि के गरोस् । त्यसैले ‘आफ्नो रूप हेरीहेरी आफै हुन्छु दंग’ भनेजस्तै आफैले ल्याएको बजेटको गुणगान गाउँदैमा पनि फुर्सद छैन सरकारलाई । तैपनि बजेट न यता जोड्दा मिल्छ, न घटाउँदा । मिलोस् पनि कसरी ? न त यो बजेट वामपन्थी बन्न सक्यो, न दक्षिणपन्थी । न किसानमुखी न उद्योगमुखी । बजेट छ त केवल करमुखी र विदेशी अनुदानमुखी । नामै बजेट छ । जेटमा ब जोडिएको छ, अर्थात् जेट चढेर आउने बजेट यस्तै त हुन्छ नि ! बजेट बनाइदिने हो, काम हुनैपर्छ भन्ने त हुँदैन नि ।

सरकारले खासै सिन्को पनि भाँच्नु परेको छैन । जनताले धेरै कराए भने फ्याट्ट लिपुलेक, लिम्पियाधुराको कुरा निकाल्द्यो, कि एमसीसीको । बस रोग, भोक, शोक सबै भुलेर जनता बुरुक्कै उफ्रेर देशका लागि ज्यान दिन तयार भइहाल्छन्, फेसबुक र चियापसलमा । यो राष्ट्रवादको मौसमी प्रडक्ट पनि गज्जब छ भन्या । जतिबेला समस्या पर्छ, फ्याट्ट निकाल्यो, सबै स्यालतिर लाग्छन्, चल्ला टिपेर भागेको कसैलाई पत्तै हुँदैन । हुन पनि नेपालमा सर्वाधिक विक्री हुने कुनै कुरा छ भने त्यै एउटा ‘राष्ट्रवाद’ त रहेछ नि ।

‘राष्ट्रवाद’को नयाँ प्रडक्ट यो एमसीसी भनेको के हो ?  के एमसीसी पास भए ५५ अर्ब पाएर नेपाल स्वर्गै बन्ने हो ? कि पारित नभए झन् हरितन्नम भइने हो ? वास्तवमा एमसीसीमा के छ र ? एउटा भन्छ, गज्जब छ, यो देशलाई नभई हुन्न । अर्को भन्छ, देश अफगानिस्तान बन्छ । सम्झौता पढ्ने फुर्सद भने दुवैथरीलाई छैन । हुन पनि शब्दै काफी छ ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ भनेपछि यो पक्कै च्यालेञ्जिङ हुनुपर्छ । ट्रान्समिसन लाइन बनोस् कि सडक, कसलाई मतलव छ र भन्या ? देशमा त अहिले राष्ट्रवाद चाहिएको छ, विकासको के काम ? यसै भएन, उसै भएन बरु एमसीसी पक्ष र विपक्ष बसेर खुरुक्क एमसीसी पास गर्ने कि नगर्ने भनेर ‘गाई कि त्रिशूल’ गर्दे त टण्टै साफ हुन्थ्यो नि ! फेरि यो गाई र त्रिशूल भएको सिक्का काहाँबाट ल्याउनु ?

हुन त देशको स्वास्थ्य हेर्नुपर्ने मान्छे चौबिस घण्टामा बीसै घण्टा आफ्नै स्वास्थ्य मात्र हेरेर बसेका छन् । नजानेको र नबुझेको केही छैन । तर उनीसँग बोल्ने, देशका विभिन्न समस्याका विषयमा खुलेर छलफल गर्ने हिम्मत गर्ने को ? अनि यस्ता हजारौं अनुत्तरित प्रश्नहरूको उत्तर चैं कस्ले दिने र खै ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

Raja ram shrestha

[Jun 12, 2020 04:40am]

नेपालका नेताहरू बहुरूपिया, कोरोना पनि बहुरूपिया, हो |


User Image

Basanta Gurung

[Jun 11, 2020 11:37pm]

Too great. Fun to read but satirical and true



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)