ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको सदुपयोग गर्दै महिला उद्यमी पाठक

२०७७ असार, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार १, चितवन । झण्डै ५ वर्षदेखि रेष्टुरेण्ट व्यवसाय गर्दै आएको महिला उद्यमी अनुषा पाठकलाई अहिलेको लकडाउनले खासै छुन सकेको छैन । लकडाउनको शुरुआतका केही दिनमा आराम गरे पनि पछिल्ला केही हप्तादेखि उनी आफ्नै रेष्टुराँमा व्यस्त छिन् । 

भरतपुर महाानगरपालिका–१० क्याम्पस चोकको पूर्वपश्चिम राजमार्गमा रहेको रेष्टुराँ पुनर्निर्माणमा व्यस्त भएकी छिन् उनी । उनको रेष्टुराँमा ग्राहक त छैनन्, तर डेकोरेसन, डिजाइनको काममा उनी तल्लीन छन् । कामदारहरू रेष्टुराँँको स्वरूप फेर्न व्यस्त छन् । ‘सधैं लकडाउन भनेर कुनै काम नगरी बसेर पनि भएन नि,’ २७ वर्षीया उद्यमी पाठकले भनिन्, ‘यसलाई सदुपयोग गर्न पनि म रेष्टुराँको साजसज्जा फर्न लागिपरेको छु ।’

सामाजिक दूरी र कोरोना सुरक्षा मापदण्ड अपनाएर उनले रेष्टुराँको पूर्वाधार र पुनर्निर्माण निर्माण गर्न लागेकी हुन् । झण्डै पौने करोडको लागतमा सञ्चालनमा आएको यो रेष्टुराँमा २४ जनाले रोजगारी पाएका छन् । ‘अहिले पनि १० जना कामदारलाई तलब दिएर यहीँ नै राखेको छु,’ उनले भनिन्, ‘अरू लकडाउन खुलेर अवस्था सामान्य भएपछि फर्कनेछन् ।’ 

चितवन वुमेन अफ चेम्बर अफ कमर्श, चितवनकी अध्यक्ष समेत रहेकी पाठक हरेक खाली समय केही न केही उत्पादनशील एवं सृजनशील काम गर्न मन पराउँछिन् । ‘लकडाउन र यस्तै समय सधैं त नरहला, विस्तारै स्थिति सामान्य होला, भोलिका लागि पनि त तयार हुनुपर्‍यो,’ उनले दृढ आशा व्यक्त गरिन् ।

चितवनका उद्योगी, व्यवसायी, स्वास्थ्यकर्मी, कर्मचारी लगायतका लक्षित गरी सञ्चालनमा ल्याइएको रेष्टुराँमा विदेशी परिकारका साथै स्वदेशी टिपिकल खाना तयार हुन्छन् । ‘मेरोमा हरेक स्वादका पारखीका लागि चाहिने परिकार बन्छन् । मैले नेपालकै स्थानीय उत्पादनलाई बढी प्राथमिकतामा राखेको छु,’ उनले सुनाइन् । उनी यतिमा मात्र सीमित छैनन्, नवलपुर जिल्लाको देवचुली नगरपालिकामा रहेको सीजी शाश्वतधाम परिसरमा पनि उनले यसैको शाखा ननभेज रेष्टुरेण्ट सञ्चालनमा ल्याएकी छिन् । र, भरतपुरमै रहेको सीजी ल्याण्डमार्क नजिकै फाष्टफुड सञ्चालन गर्ने तयारी गर्दै छिन् । 

‘नयाँ फाष्टफुड टेकअवे टाइपको रेष्टुराँ खोल्दै थिएँ, लकडाउनले बिथोलिदियो,’ उनले परिस्थितिको बाध्यता पोखिन् । सम्भवतः  नेपालकै कान्छी चेम्बर अफ कमर्शकी महिला अध्यक्ष रहेकी उनी आफ्नो व्यवसायलाई भोलिका दिनमा योजना बनाउने काममा व्यस्त छिन् । उनलाई विदेशको मोहले कहिल्यै छोएन ।  ‘मेरा तीन जना दीदी नै बाहिर हुनुहुन्छ, तर मलाई कहिल्यै विदेश जाने मन भएन । आँट, आत्मविश्वास र लगाव भए सब थोक यहीँ गर्न सकिन्छ,’ उनले भनिन् । 

भारतको दिल्ली युनिभर्सिटीबाट स्नातक गरेकी पाठक नेपालमै प्रशस्त अवसर र सम्भावना रहेको देख्छिन् । यसलाई सार्थक बनाउन गर्न इच्छाशक्ति र दृढ विश्वास हुनुपर्ने उनको अनुभव छ । उनका अनुसार उद्योग व्यवसाय प्रशस्त भए देशमा ठूलो संख्यालाई रोजगारी र अर्थतन्त्रमा समेत टेवा दिन सकिनेछ । 

अहिले कोरोना भाइरसको विश्वव्यापी महामारी भएकोले यो रोग नियन्त्रणमा आउला र व्यवसाय चलाउँला भनेर रोक्न नहुने र विभिन्न विकल्प खोज्नुपर्ने उनले बताइन् । पहिलाको होटल रेष्टुरेष्टको पूर्वाधार र सेवालाई परिवर्तन गरेर सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । ‘स्वास्थ्य सुरक्षा अपनाएर, सामाजिक दूरी कायम राख्दै अब अनलाइन बुकिङ गरेर भए पनि व्यवसाय सञ्चालन गर्नुपर्छ,’ उनको सुझाव छ । आगामी दिनमा आफ्ना शाखाहरू विस्तार गर्दै अन्य व्यवसाय समेत सञ्चालन गर्ने उनको धोको छ । लाखौं युवा विदेशिएको बेला र कोरोना कहरका कारण स्वदेश फर्किएका जमातका लागि पाठकको लगाव प्रेरणा बन्न सक्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)