ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाकेको धानको बोटमा दाना नभएपछि किसानले लगाए ट्याक्टर 

२०७७ असार, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार १, चितवन । विगतका वर्षजस्तै यो वर्षपनि चितवनका किसानले धानबालीमा ट्याक्टर लगाएर जोतेका छन् । 

लकडाउनको मार खेपिरहेका किसानले तरकारी बारीमा ट्याक्टर लागाएको केही हप्ता नबित्दै पाकेको चैते धानमा ट्याक्टर लगाएर जोतेका हुन् । यसअघि कृषि उपज विक्री नभएको र गरीमा जातको धानमा बाला नलागेर जोतेपनि यसपटक धानको बोटमा दाना नै नभएपछि जोत्नु परेको हो । 

राप्ती नगरपालिकामा हर्दिनाथ १ नामको धानको बोट पाकेर काट्ने बेला भएपनि छाम्दा भुष मात्रै भएपछि बाध्य भएर जोत्नु परेको किसानहरु बताउँछन् । 

राप्ती नगरपालिका ४ बेलुवाका किसान कमलप्रसाद तिवारीले लहैलह परेको काट्ने बेलाको धानमा पपेटा मात्रै रहेपछि जोत्न बाध्य भएको बताए । 

उनले भाडामा लिएर लगाएको धानबालीमा आइतवार ट्याक्टर लगाएर धानको बोटसहित जोतेका हुन् । ‘दुईचारदिन अघि त बोटमा गेडा थियो, अहिले काट्ने बेलामा भुष मात्र छ तिवारीले भने । उनका अनुसार नेकब्लाष्ट (घाँटीमरुवा) रोगले आक्रमण भएपछि यस्तो अवस्था आएको हो । २२ कट्टामा धान लगाएका तिवारीले सबैगरी हालसम्म ५५ हजार रुपैया खर्च गरेकोे बताए । उनको जस्तै छिमेकीमा लगाएको धानमा समेत उस्तै समस्या देखिएको छ । 

सोही वडाका वुद्धिराज खरेलको पाँच कठ्ठा जग्गामा लगाएको  हर्दिनाथ १ जातको धानमा समेत दाना लागेको छैन । दाना नलागेपछि धान नष्ट गर्न उनले आगो लगाएको बताए । ‘मैले  आगो लगाएर नष्ट गर्ने प्रयास गरे तर बोट हरियो भएकाले आगो लाग्न सकेन,’ खरेलले भने । 

पटक पटक कृषि विज्ञ तथा अन्य प्राविधिकलाई देखाएर बिषादी छर्दासमेत रोग कम नभएको उनको भनाइ छ । सोही नगरपालिकाकी अर्की किसान राधिका क्षेत्रीले धान उत्पादन नभएपछि परालका लागि भने धानको बोट काटिसकेको बताइन् । ‘गेडा नफलेपछि गाईवस्तुलाई परालको लागि हुन्छ, के गर्ने चित्त बुझाउनै पर्‍यो ।’ उनले भनिन् । 

नेकब्लाष्ट प्रकारको रोग करीब ५०० हेक्टर जग्गामा देखिएको छ । कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख राजन ढकाल यो समस्या हर्दिनाथ १ जातको धानमा विगत २,३ वर्षदेखिनै देखिएको बताउँछन् । ‘यो रोग क्यान्सर जस्तै हो , उनले भने, किसानलाई यो जातको बीउ हामीले सिफारीश गरेका छैनौ ।’

उनका अनुसार हर्दिनाथ १ जातको धानको उत्पादन र बजारमा माग समेत बढी रहेको कारण कृषकहरुले जवरजस्ती लगाएका कारण समस्या भएको हो । चितवनमा यस वर्ष ७ हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)