ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धानबालीमा किसानले लगाए ट्र्याक्टर

२०७७ असार, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । विगतका वर्षजस्तै यो वर्ष पनि चितवनका किसानले तरकारी र धानबालीमा ट्र्याक्टर लगाएर जोतेका छन् । लकडाउनको मार खेपिरहेका किसानले तरकारी बारीमा ट्र्याक्टर लागाएको केही महीना नबित्दै पाकेको चैते धानमा पनि ट्र्याक्टर लगाएर जोतेका हुन् । यसअघि कृषिउपज विक्री नभएको र गरिमा जातको धानमा बाला नलागेर जोतेका किसानले यसपटक धानको बोटमा गेडा नलागेपछि जोत्नु परेको बताएका छन् ।

राप्ती नगरपालिाकामा हर्दिनाथ१ नामक धानको बोट पाकेर काट्ने बेला भए पनि बालामा भुस मात्रै भएपछि बाध्य भएर जोत्नु परेको किसानहरूले बताएका छन् । राप्ती नगरपालिका–४ बेलुवाका किसान कमलप्रसाद तिवारीले काट्ने बेलाको धानमा दाना नलागेपछि जोत्न बाध्य भएको बताए ।

उनले जमीन भाडामा लिएर लगाएको धानबालीमा आइतवार ट्र्याक्टर लगाएर धानको बोटसहित जोतेका हुन । ‘२÷४ दिन अघि त बोटमा गेडा देखिन्थ्यो तर, अहिले काट्ने बेलामा भुस मात्र छ’, तिवारीले भने । उनका अनुसार नेकब्लास्ट (घाँटीमरुवा) रोगले आक्रमण गरेपछि यस्तो अवस्था आएको हो । २२ कठ्ठामा धान लगाएका उनले रू. ५५ हजार खर्च गरेका थिए ।

उनको मात्रै होइन सोही वडाका बुद्धिराज खरेलको ५ कठ्ठा जमीनमा लगाएका हर्दिनाथ१ जातको धानमा पनि गेडा लागेको छैन । गेडा नलागेपछि धान नष्ट गर्न उनले आगो लगाएको बताए । ‘मैले आगो लगाएर नष्ट गर्ने प्रयास गरेँ । तर, बोट हरियो भएकाले आगो लाग्न सकेन’, खरेलले भने ।

पटक–पटक कृषि विज्ञ तथा अन्य प्राविधिकलाई देखाएर विषादी छर्दासमेत रोग कम नभएको उनको भनाइ छ । सोही नगरपालिकाकी अर्की किसान राधिका क्षेत्रीले धान उत्पादन नभएपछि परालका लागि भए पनि धानको बोट काटिसकेको बताइन् ।

नेक ब्लास्ट रोग यहाँको करीब ५०० हेक्टर जग्गामा फैलिएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल यो समस्या हर्दिनाथ१ जातको धानमा विगत २÷३ वर्षदेखि नै देखिएको बताउँछन् । ‘यो रोग क्यान्सर जस्तै हो’, उनले भने, ‘किसानलाई यो जातको बीउ हामीले सिफारिस गरेका छैनौं ।’ उनका अनुसार हर्दिनाथ१ जातको धानको उत्पादन र बजारमा मागसमेत बढी भएका कारण किसानहरूले जबरजस्ती लगाएका कारण समस्या भएको हो । चितवनमा यस वर्ष ७ हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)