ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट भौतिक पूर्वाधार निर्माण

२०७७ असार, ३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको जिरी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार निर्माणका काम गरिएको छ । उक्त कार्यक्रमको बजेटबाट नगरपालिकामा पैदलमार्ग तथा सडक स्तरोन्नति जस्ता पूर्वाधारको काम गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जिरी नगरमा यस वर्ष भौतिक निर्माणका क्षेत्रमा रोजगारी दिइएको जिरी नगरपालिकाकी उप्रमुख कृष्णमाया बुढाथोकीले बताइन् । कार्यक्रमबाट नगरपालिका वडा नं ७ मा सिँढी निर्माण, वडा नं ४ मा सडक सोलिङ तथा वडा नं ३ मा गोरेटो बाटो निर्माण गरिएको उनले जानकारी दिइन् ।

वडा नं ७ को सिक्रेदेखि वजुस्थान मन्दिरसम्म नमूना सिँढीको निर्माण गरिएकोे छ । २०७ मिटर लम्बाइ तथा १ दशमलव ५ मिटर चौडाइको यो सिँढीको निर्माणले सिक्रीबाट वजुस्थान मन्दिरसम्म जाने पैदल यात्रीलाई सुविधा पुग्नुका साथै जिरीको सौन्दर्य वृद्धिमा पनि सघाउ पुग्ने बुढाथोकीको विश्वास छ । सिँढी निर्माणका लागि ९ लाख खर्च भएको उनको भनाइ छ ।

यस्तै जिरीको वडा नं ४ मा कुनेदेखि फुजिङ प्राथमिक विद्यालयसम्म ३५० मिटर सडक सोलिङ गर्ने काम भइरहेको छ । सो कार्यका लागि ९ लाख रकम खर्च हुने नगरपालिकाले बताएको छ । यसैगरी सोही कार्यक्रम अन्तर्गत वडा नं ३ मा ठोसे पुलदेखि वडा कार्यालयसम्म करीब ३ किलोमिटर गोरेटो बाटोको निर्माण भइरहेको नगरपालिकाको भनाइ छ । त्यसका लागि लागि १० लाख खर्च हुने बताइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाको रोजगार कार्यक्रममा संलग्नहरूले इमानदारी पूर्वक काम गरिरहेको उपप्रमुख बुढाथोकीले बताइन् । उक्त कार्यक्रमका लागि चालू आर्थिक वर्षमा जिरी नगरपालिकालाई २८ लाख प्राप्त भएको थियो । कार्यक्रमलाई  विनियोजित कुल रकमको ७० प्रतिशत ज्याला तथा ३० प्रतिशत आवश्यक सामग्री खरीदमा खर्च हुने गरेकोे छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)