ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यालय खुले पनि उल्लेख्य छैनन् सेवाग्राही

२०७७ असार, ५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका सरकारी कार्यालय असार १ गतेदेखि खुले पनि सेवाग्राही भने नगन्य रहेको पाइएको छ । सरकारले करीब ३ महीनापछि आंशिक रूपमा लकडाउन खोले पनि कार्यालयमा सेवाग्राहीको आगमन भने न्यून रहेको हो ।

जिल्लाका बढी सेवाग्राहीको चाप हुने मालपोत, कार्यालय, यातायात सेवा व्यवस्था कार्यालय, विद्युत् कार्यालय, आन्तरिक राजस्व कार्यालयमा सेवाग्राही अपेक्षित रूपमा नआएको कर्मचारीहरू बताउँछन् । आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी कपिल नेपालले लामो समयपछि कार्यालय खुल्दा सेवाग्राहीको चाप बढ्ने अनुमान गरिए गरिए पनि त्यस्तो नभएको बताए । ‘पहिलो दिनदेखि नै सेवाग्राहीको चाप बढ्ने अपेक्षा थियो,’ उनले भने, ‘तर सेवाग्राहीको उपस्थिति पहिलेको तुलनामा एकदम कम छ ।’

उनका अनुसार अझै पनि करदाता अन्योलमा रहेको र जरीवाना नलाग्ने भएकाले अत्यावश्यक कामका लागि बाहेक आएका छैनन् । सरकारले गरेको आंशिक लकडाउन, सवारीसाधनमा जोर बिजोर प्रणाली र सार्वजनिक यातायात नचलेकाले पनि टाढाका करदाता आउन नसकेको उनको भनाइ छ ।

सरकारले कोरोना सुरक्षा मापदण्ड र सामाजिक दूरी अपनाउन सरकारी कार्यालयहरूमा दुई चरणमा कार्यालय खोल्न निर्देशन दिएको छ । अझै पनि कैयौं मानिस कोरोना भाइरसको जोखिम र त्रासका कारण बाहिर निस्किन सकेका छैनन् । यातायात व्यवस्था सेवा कार्यालय, चितवनका प्रमुख सुवास उप्रेती सबै खाले कर तिर्ने अन्तिम मिति चैत मसान्त भए पनि सेवाग्राहीको चाप नबढेको बताउँछन् ।

‘हामीले सुरक्षा सावधानी अपनाएर दुई सिफ्टमा सेवा दिएका छौं,’ उनले भने, ‘तर यति लामो समयपछि कार्यालय खोल्दा पनि सेवाग्राही खासै आएका छैनन् ।’ राजस्व तिर्न आउँदा नियमित रूपमा कोरोना सुरक्षा मापदण्ड अपनाइएको र सामाजिक दूरी कायम गरी राजस्व तिर्ने व्यवस्था गरिएकोले सेवा प्रवाह समेत सुस्त भएको उनले बताए ।
सधैंजसो भीड हुने जिल्लाको भरतपुर मालपोत कार्यालयमा समेत सेवाग्राहीको चाप देखिएन । कोरोना कारण घरजग्गा कारोबारमा समेत कमी आएको छ । यस कारण पनि सेवाग्राही घटेको अनुमान गरिएको छ । शुरूका दिनदेखि नै सेवा नियमित गरिए अंशबण्डा र पहिले थाती रहेका जग्गापासको कामका लागि मात्र सेवाग्राही आउने गरेको मालपोत अधिकृत हेम तिमिल्सिनाले बताए । उनका अनुसार कार्यालयमा आउने सेवाग्राहीलाई एक दिनमै हुने कामलाई सोही दिन सकेर र लामो समय लाग्ने कामलाई दिन तोकेर पठाउने गरिएको छ । कार्यालय कक्षभित्र फाइल ल्याउने लैजाने गर्ने काम स्वयं कर्मचारीले गरेका छन् भने पालोमा सेवाग्राहीलाई राख्ने गरिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)