थाहा पाउनु भो, आकाश खस्न लागेछ नि ! कसरी ? एमसीसी पास गर्न लागे रे नि त ! त्यै भन्छन् नेकपाका कतिपय नेता कार्यकर्ता ।
अमेरिकाले नेपाललाई ५० करोड डलर सहयोग के दिन्छु भन्याथ्यो, ह्याँ कमिलालाई कुन्नि केको पहिरो जस्तो भाछ देशमा । महीनौं, वर्षौंदेखि यो एमसीसी पास गर्न हुन्छ र हुँदैन भनेर नेपालमा ठूलै लफडा, झगडा शुरू भएको छ । यो नाटक चाँडै समाप्त हुने छैन । किनभने एकाथरी पूरै विकासवादी मात्रै । अर्काथरी पूरै राष्ट्रवादी । अरुण तेस्रोमा घात गरेकाहरू अझै गर्व गरिरहेकै छन् । त्यसैले एमसीसीको मनचिन्ते बहस पनि जारी नै रहनेछ ।
देशको ढुकुटी टाट पल्टिएकै हो त ? होइन होला । किनकि कार्पेट चैं उल्टाउने कुरा थियो । त्यसैले टाट नै त किन पल्टिन्थ्यो होला र ? हैन यो के भा होला ? दुई तिहाइको पावरफुल सरकार छ भन्ठानेको त पावर चैं हटेर ‘फुल’ मात्र बाँकी रह्यो कि क्या हो हँ ?
यता, अर्थमन्त्रीले भनिसके, सरकारी ढुकुटीमा पैसा रित्तियो रे । कसरी रित्तियो त ? कस्ले लग्यो त ढुकुटीबाट सबै पैसा ? के मन्त्री, नेता, कार्यकर्ता, बिचौलिया, सांसद र कर्मचारीले तलब भत्ता खाँदैमा मात्र ढुकुटी रित्तिएको हो र ? छोटे, बडे नेताहरूलाई २/४ ओटा गाडी, तेल, सुरक्षाकर्मी, कर्मचारी, मन्त्री आदिलाई दिनमा २/४ ओटा मिटिङका भत्ता दिँदैमा ढुकुटी रित्तिन त नपर्ने हो ।
ढुकुटीमा त पैसा धेरै नै थियो त ! तर अर्थमन्त्रीका अनुसार सरकारको अनिवार्य मासिक खर्च ४० अर्ब रुपैयाँ । भन्सारबाट उठ्ने राजस्व मासिक १५ अर्ब रुपैयाँ मात्र रहेछ । पैसा जम्मा गर्न भनेरै त सरकारले कारोबार नगरे पनि करचाहिँ तिर भनिरहेको छ । त्यसो भए देशको ढुकुटी टाट पल्टिएकै हो त ? होइन होला । किनकि कार्पेट चैं उल्टाउने कुरा थियो । त्यसैले टाट नै त किन पल्टिन्थ्यो होला र ? हैन यो के भा होला ? दुई तिहाइको पावरफुल सरकार छ भन्ठानेको त पावर चैं हटेर ‘फुल’ मात्र बाँकी रह्यो कि क्या हो हँ ?
ल तलब, सलब त भोलि कर उठाएर, राष्ट्र रिन उठाएर पनि चल्ला । नभए जनताबाट चन्दा उठाएर पनि नेता कार्यकर्ता त पाल्नै पर्ला ! विगत ४० वर्षदेखि पालेकै छन् त नेपाली जनताले । तर विकास चैं केले गर्ने नि ? रेल र पानीजहाजलाई कहाँबाट पैसा दिने त ? अनि त्यो एमसीसी वा कुनै न कुनै सीसी त चाहिएला नि !
आफ्नो तलब सलब ख्वाउन साधारण खर्च पनि जुटाउन नसक्नेले फेरि विकासको ध्वाँस चैं किन दिएको त सरकारले भन्नुहोला । जुन देशमा जिन्दावाद ! मुर्दावाद ! बढी नै चल्छ, त्यहाँ विकासवाद कसरी चल्छ त ? तर विकास नचले पनि सरकार त चल्नुपर्यो नि । मुख्य कुरा ऐले यो छ । सरकार चल्न पैसोसैसो पनि चाहियो । पैसा जम्मा गर्न अर्थ मन्त्रालयले कर उठाउन अनेक उपाय गरिरहेकै छ । त्यै भएर धेरैले यो अर्थ मन्त्रालयलाई ‘कर तथा कमिशन मन्त्रालय’ भनेर नाम फेरौं भनेका छन् । नाम फेर्दिएपछि कर बढी उठिहाल्छ कि ! आखिर अर्थ मन्त्रालयले कर उठाउने भन्दा अरू काम नै कति पो गरेको छ र ? त्यसैले बजेट भाषणलाई पनि मानिसहरूले कर भाषण भनेका हुन् ।
कतिपय अर्थशास्त्रीहरूले सरकारलाई खर्च कटौती गर्न सुझाएछन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद र संवैधानिक निकायका प्रमुखहरूको केही महीना तलब, सुविधा कटौती गरेर राष्ट्रिय संकटमा साथ दिन लगाऊ । विशिष्ट श्रेणीभन्दा माथिका राजनीतिक पदाधिकारीहरूको तलब, भत्ता कटौती गर । सल्लाहकार, स्वकीय सचिवालयका कर्मचारी, विनाकामका समिति र आयोग खारेज गर । विलासी गाडी लगायतका फजुल खर्च रोक । सांसद विकास कोष खारेज गर भनेका छन् । असारे विकासका नाममा हिलोमाथि पिच गर्ने काम बन्द गर । के सल्लाह द्या होला ? के पाएको बेला पनि सुविधा नलिने भन्ने हुन्छ र ? के जोगी हुन राजनीति गर्या हो र ह्वाँहरूले ? राजनीति भनेको सेवा हो भनेर भाषणमा पो भन्ने हो । वास्तविकतामा त पदमा पुगेपछि देशको सबै स्रोत ह्वाँहरूकै पेवा हो नि ! यत्ति पनि नबुझको यत्तिका वर्षदेखि ?
भनेपछि रेलको विकास भए पनि देशकै विकास हुन चैं अझै धेरै वर्ष नै लाग्ने भयो । एक मन्त्रीले भनेका थिए कि अब कोरोनासँग ‘लिभिङ टुगेदर’मा बस्नुपर्छ भनेर । यसको मतलब गरीबीसँग त नेपालीहरू दशकौंदेखि लिभिङ टुगेदरमा बसिरहेका थिए नै । अब मन्त्रीजीले भनेझैं कोरोना र गरीबी दुवैसँग लिभिङ टुगेदरमै बसिरहन पर्ने भो !
निजीक्षेत्र सरकारप्रति रुष्ट थियो राहत दिएन भनेर । तर अहिले सरकारले निजीक्षेत्रलाई लक्षित गरेर रामै्र राहत प्याकेज ल्याउन लागेको देखिन्छ । अब निजीक्षेत्रलाई पनि अख्तियार लगाइदिने रे ! तर्साएपछि मान्छे भाग्न थाल्छ नि ! हो त्यस्तै, निजीक्षेत्र अहिले सुस्त भएकोले अख्तियार सल्काइदिएपछि अब त्रासबाट दौडने भो । सरकारी कर्मचारी त पहिलेदेखि नै दौडिरहेकै थिए । यसरी निजीक्षेत्र पनि दौडने भएपछि तपाईं हामी त कविता पढेर वा लेखेर बसे भैगो !
अँ बरु, हाम्रा नवोदित डाक्टर तथा महा राष्ट्रकविको एउटा नयाँ कविता बाहिर आएको छ । पढ्न पाउनु भएको छ कि छैन ? पाउनुभएको छैन भने तल पढ्नुहोला । कविता दुई प्रकारले लेखिन्छ– एउटा आफ्ना लागि र अर्को पब्लिकका लागि । यो कविता चैं महा राष्ट्रकविले आफ्ना लागि लेखेको, तर चुहिएर बाहिर आएछ ! कविता यस्तो छ :
म बाचूँ मै नाचूँ, जनता जाऊन् भाडमै
म हासूँ, मै आ‘छु, लिई बाँसुरी साँझमै
म ज्ञानी मै ध्यानी, अरू त पटमूर्ख सबै
म छु नि सर्वगुणी, अब् चिन्ता नलिनू कबै !