ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ स्वरुप लिँदै पर्यटकीय गन्तव्य ‘राइनो ताल’

२०७७ असार, ९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । केही वर्ष अघिमात्र जलाशय नभएर धाँजा फाटेको भरतपुरको काखैमा रहेको राइनो तालले अब नयाँ स्वरूप पाउने भएको छ । भरतपुर महानगरपालिका–१२ अन्तर्गत रामबेल सामुदायिक वनमा रहेको राइनो तालमा पानीको स्रोत फुटेर जाने जोखिम र जंगली पशुपक्षीलाई पिउन समेत अभाव भएकाले त्यसको व्यवस्थापन हुनेगरी पुनर्निर्माण अघि बढाइएको छ ।

६ बिगाहा क्षेत्रफलमा रहेको यो ताल नारायणगढ बजारबाट करीब ३ किलोमिटर दूरीमा पर्छ । सिमसार क्षेत्र र वातावरणीय दृष्टिले पनि महŒवपूर्ण यो तालको उचित प्रचार प्रसार भने हुन सकेको छैन । वर्षायाममा ताल भरिएर पानी यत्रतत्र रूपमा बाहिर जाने गर्छ । यसका लागि हाल पानी निकास र ड्यामलाई सुरक्षित गर्ने काम तीव्र पारिएको छ । लकडाउनकै अवधिमा ताल संरक्षणको काम अघि बढाउनेगरी एक संस्थाले ६ लाख रुपैयाँ दिएको वनका अध्यक्ष वेदबहादुर थापाले बताए । उनका अनुसार अहिले तालको झार पन्छाउने, सफा गर्ने काम समेत गरिँदै छ ।

विभिन्न दुर्लभ वन्यजन्तु र पक्षीहरूको उत्कृष्ट वासस्थान भए पनि पर्याप्त बजेट नभएकाले यस क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउन नसकिएको उनको भनाइ छ । ‘अघिल्ला सालहरूमा जिल्ला वन कार्यालयको सहयोग र आन्तरिक आम्दानीबाट तालको मर्मत सुधार हुन्थ्यो,’ उनले भने, ‘लकडाउनका कारण न वनपैदावारको विक्री भयो, न बजेट नै निकासा भयो ।’ हाल हिमालयन इन्भायरोन्मेन्ट एण्ड पब्लिक हेल्थ नेटवर्क संस्थाको समन्वयमा यूएनडीपी, जीईएफ र एसजीपी नामक संस्थाको सहयोगमा तालको व्यवस्थापन र मर्मत सम्भार गर्न लागिएको हो ।

हिमालयन इन्भायरोन्मेन्टका प्रबन्धक कमल घिमिरे यस क्षेत्रको पर्यावरण, जैविक विविधताको संरक्षण गर्न तालको व्यवस्थापन तथा सरसफाइ गर्न लागिएको बताउँछन् । ‘हाम्रो संस्थाको काम नै जैविक विविधिताको संरक्षण र सबै प्राणीको रक्षा गर्नु हो,’ उनले भने, ‘रकम अपुग भएमा थप मगाउँछौं ।’

उनका अनुसार वर्षामा मुहानबाट पानीको वहाब बढी हुने भएकाले त्यसलाई रोक्न निकास व्यवस्थापनको काम भइरहेको छ । यहाँ पर्यटक आरामका लागि १० ओटा कलात्मक बेञ्च राखिएको छ । तालमा ६ जना हेरालु सहित ५ पाँच डुंगा सञ्चालनमा ल्याइएको थियो । हाल यसको सट्टा फाइबरको डुंगा ल्याउने तयारी भएको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार तालको वरिपरि साइकल लेन बनाउने तयारी गरिएको छ । गतवर्ष प्रदेश सरकारबाट ५० लाख बजेट छुट्याइए पनि उक्त रकम ताल नजिकैको वडाले बनाएको पार्कमा खर्च भएको उनको भनाइ छ । भरतपुर–१२ का अध्यक्ष नरेन्द्र कन्दङ्वाले अहिले विभिन्न आकर्षक बोटबिरुवा, हर्बल प्लान्ट सहितको पार्क सम्पन्न गर्न रकम खर्च भएकाले राइनो तालको लागि खर्च गर्न नसकिएको बताए । ‘तालको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने योजना वडाको पनि हो,’ उनले भने, ‘पार्क निर्माण सम्पन्न भएपछि राइनो तालको काममा जोड दिनेछौं ।’

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)