ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुरको बजेट प्राथमिकतामा पूर्वाधार, स्वास्थ्य र रोजगार

२०७७ असार, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर महानगरपालिकाले स्वास्थ्य, रोजगारी र पूर्वाधारलाई प्राथमिकतामा राखेर आगामी आव २०७७÷७८ को बजेट ल्याएको छ । बुधवार महानगरको छैटौं नगरसभामा महानगर उपप्रमुख पार्वती शाहले पूरक बजेट र थप अख्तियारीसहित ४ अर्ब १५ करोड ६४ लाखको बजेट सार्वजनिक गरेकी हुन् ।

उपप्रमुख शाहका अनुसार अन्तर सरकारी अख्तियारीबाट ६० करोड प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी आन्तरिक आय ९० करोड (घरजग्गा रजिष्ट्रेशन, एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटबाट प्राप्त आय समेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ६९ करोड २ लाख, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ४६ करोड १२ लाख, जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात ८२ करोड, मर्मत सम्भार कोषबाट २ करोड र सडक बोर्ड नेपालबाट १ करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ ।

नीति तथा कार्यक्रमसँगै आएको बजेटले कोरोना प्रभावित व्यक्तिको उपचार, क्वारेन्टाइन व्यवस्थापन र वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिलाई रोजगार सृजनामा पनि प्राथमिकता दिएको छ । त्यसैगरी महानगरवासीको मौलिक हकको रूपमा रहेका न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति, निजी तथा सहकारी क्षेत्रसँगको सहकार्यमा रोजगारीका अवसर सृजनाका साथै साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन बजेट केन्द्रित भएको छ ।

महागनरपालिकाले पूर्वाधारतर्फ ४७ करोड विनियोजन गरेको छ, जस अन्तर्गत गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, एकीकृत शहरी विकास योजना, नमूना सडक, महानगर यातायात गुरुयोजना तयार, सिँचाइ, कल्र्भट, मर्मतसम्भार, व्यवस्थित बस्ती विकास लगायत लगायत योजना छन् । यसैगरी स्वास्थ्य क्षेत्रमा ९ करोड छुट्याइएको छ । आधारभूत एवं गुणस्तरीय स्वास्थ्य सेवा, वडामा स्वास्थ्य संस्था स्थापना, कोरोना उपचारका लागि क्लिनिक सञ्चालन लगायत विभिन्न कार्यक्रममा उक्त बजेट खर्च गर्ने लक्ष्य राखिएको छ ।
यसैगरी प्रारम्भिक बाल शिक्षा केन्द्रका बालबालिकाको समतामूलक पहुँच सुनिश्चित गर्ने, भौतिक पूर्वाधार विकास कार्यक्रम, एक वडा एक नमूना विद्यालय सञ्चालन लगायत शैक्षिक विकासका लागि रू. ९ करोड बजेट विनियोजन गरिएको छ । विदेशबाट आर्जन गरेको शीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषि लगायत साना उद्यम गर्न चाहने युवालाई शून्य ब्याजदरमा अनुदान उपलब्ध गराउने, युवा तथा उद्यमीलाई नवीन व्यवसाय शुरू गर्न शुरुआती पूँजी प्रदान लगायत कार्यक्रमका लागि ४ करोड विनियोजन गरिएको छ ।

महानगरपालिकाको नगरसभामा महानगर प्रमुख रेनु दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । सो क्रममा दाहालले सिंगो विश्वले यतिबेला कोरोना भाइरसले ल्याएको संकट सामना गरिरहेको भन्दै यसको नियन्त्रणमा भरतपुर महानगर केन्द्रित रहेको बताइन् ।

बजेटबारे प्रतिक्रिया दिँदै उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले बजेट समग्रमा समानुपातिक रहेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए । महानगरको राजस्व र कर वार्षिक रूपमा एकपटक मात्र अनिवार्य तिर्नुपर्ने हुँदा उद्योगी व्यवसायीलाई खासै फरक नपर्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)