ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साना व्यवसायीको गुनासो : घरधनी आउँछन्, ग्राहक आउँदैनन्

२०७७ असार, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार ११, चितवन । आंशिक लकडाउन खुलेसँगै दैनिक उपभोग्य सामान लगायत अन्य पसलहरु बग्रेल्ती खुल्न थालेका छन् ।

तीन महीनापछि पसल खोल्न पाएपनि व्यवसायी  खुशी हुनुको सट्टा दुःखी छन् । कारण हो, पसल खोलेपनि ग्राहक भने अति न्यून छन् । कतिपयलाई सहकारी एवं बैंकको किस्ता तिर्नुपर्ने चिन्ता त छँदैछ । त्योभन्दा बढी घरबेटीको भाडाले सताएको छ । 

चितवनका अधिकांश साना व्यवसायीहरुको एउटै गुनासो छ, व्यापार नभएपनि दैनिक घरबेटीले भाडा दिन दबाब दिदैं आएका छन् । 

नारायणगढस्थित् शहिदचोकमा कम्युटर मर्मत पसल चलाएका इनोभेटिभ आईटी सोलुशनका संचालक ज्ञानु शाही ठकुरी भन्छन, ‘दुईदिन पनि भाको छैन पसल खोल्न थालेको,  ग्राहक एउटापनि छिर्या छैनन्, घरबेटी चाहीं दिनदिनै आउँछन् ।’

उनका अनुसार पसल खोलेकै दिन घरबेटीले भाडा र विजुलीको बिल समेत थमाइदिएका छन्  । लकडाउन खुकुलो भएपछि अधिकांश साना व्यवसायीको साझा समस्या नै घरबेटीको भाडा बनेको छ । लकडाउन अघि त नियमित भाडा तिर्न हम्मे–हम्मे परेको बेला लकडाउनका कारण सबै व्यवसायी मारमा पर्नेनै भए । 

गढीमाई सुनचाँदी पसल, नारायणगढका सञ्चालक रवी बराली लकडाउन अघि त भाडा तिर्न नसकिएको बेला पसल खोलेपछि घरबेटीले बारम्बार घरभाडाको लागि ताकेता गरेको गुनसो गर्छन् ।

‘यसैत सुनचाँदीको व्यापार छैन, खोल्न पाको छैन, घरबेटी भाडा माग्न आउँछन्’ उनले भने । व्यापार शून्य भएपनि बैंकको, सहकारीको समेत नियमित फोन आउने गरेको उनले  बताए । 

तीन महीनासम्म भएको लकडाउनका कारण सानादेखि ठूला व्यवसायी हैरान छन् । हाल उनीहरुको व्यवसाय निल्नुन ओकल्नु भएको छ । लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा व्यवसायमा एक किसिमको निराशासमेत छाएको छ । 

 इंग्ल्याण्ड मोटरसाइकल रिकण्डीसनका संचालक महेश थापा घरेबेटीले कि ठाउँ खाली गर कि भाडा देऊ भनेर बारम्बार तनाव दिएको बताउँछन् । ‘कर्मचारीकै फागुन महीनाको तलव दिन सकेको छैन’, उनले भने, व्यापारनै नभएपछि घरबेटीलाई कहाँबाट ल्याएर तिर्ने ?’

उनका अनुसार गतसाल यही समयमा कारोबार राम्रो भएको थियो तर यो वर्षको सोही समयमा लकडाउनपछि पसल खोल्न पनि कारोबार शून्य छ ।

ग्राहकहरु अझैपनि स्वतन्त्र रुपमा घरबाट बाहिर ननिस्किएको र ग्राहकको क्रय क्षमतामा समेत भारी ह्रास आएको कारण चाहेर पनि व्यवसायले गति नलिएको उनको भनाइ छ । तर कतिपय मार्केट, मल, कम्पेल्क्सहरुले १ महीनासम्मको भाडा छूट गरेपनि अन्य बाँकी महीनाको भाडा छूट गरेका छैनन् । 

अधिकाश व्यवसायिक सटरहरु बैंकको ऋणमा बनाइएकोले सोही भाडाबाट किस्ता तिर्नुपर्ने बाध्यता पनि घरधनीको छ । उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ कतिपय घरबेटीलाई व्यवसायलाई बचाउन र बौरिन दिन घरबेटीलाई अनुरोध गरेपनि सबै घरबेटीले नमानेको बताउँछन् । 

‘हामीले घरबेटीलाई अनुरोध गर्ने हो’, उनले भने, ‘यस्तो बेलामा घरबेटी आफैं समझदार हुनुपर्छ ।’

उद्योग बाणिज्य संघ अन्तर्गतको बस्तुगत संघहरुले घरबेटीसंँग छलफल गरी न्यूनतम एक महीनाको भाडा छूट गर्न अनुरोध गरेको र ठूला मल, कम्प्लेक्स, मलहरुले छूटसमेत गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

तर उद्योग बाणिज्य संघमा आबद्ध नभएका अन्य व्यवसायीहरुलाई भने घरबेटीले लकडाउन अवधिभरको भाडा माग गरेको कतिपय व्यवसायीको गुनासो छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)