असार ११, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा पेनस्टक जडानको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको यो आयोजनाको सबैभन्दा कठिन मानिएको भर्टिकल साफ्ट (ठाडो सुरुङ) मा पेनस्टक जडान अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको ३७३ मिटरको तल्लो भर्टिकल साफ्टमा पेनस्टक जडान गर्ने काम सकिएको र ३१० मिटरको माथिल्लो भर्टिकल साफ्टमा असार १० गतेसम्ममा १२ दशमलब ५ मिटरमात्र पेनस्टक जडान गर्न बाँकी रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले अभियान दैनिकलाई बताए ।
असार १० गते माथिल्लो भर्टिकल साफ्टमा पेनस्टक जडान शुरू भएकोे १ वर्ष पुगेको छ । भारतीय कम्पनी टेक्सम्याको रेल्वे इञ्जिनियरिङले गतवर्ष असार १० गतेदेखि पेनस्टक जडान शुरू गरेको थियो ।
आयोजनाको हाइड्रो मेकानिकलको ठेक्का प्राप्त गरेको टेक्सम्याकोले काममा ढिलाइ गरेपछि आयोजना, टेक्सम्याको र इलेक्ट्रो मेकानिकलको अष्ट्रियन ठेकेदार कम्पनी एन्ड्रिजबीच त्रिपक्षीय सम्झौता भई तल्लो भर्टिकल साफ्टमा पेनस्टक जडानकोे काम एन्ड्रिजलाई दिइएको थियो । कम्पनीले गतवर्ष असार १ गतेदेखि पेनस्टक जडान शुरू गरेकोमा गत महीनामै काम सकेको छ ।
यस्तै असार मसान्तअगावै माथिल्लो भर्टिकल साफ्टमा बाँकी रहेको १२ दशमलव ५ मिटर पेनस्टक जडानको काम पनि सम्पन्न हुने आयोजनाले बताएको छ । अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले अहिले बाइफोर्केशन पाइप जडानको काम गरिरहेको छ ।
बाइफोर्केशन पाइप जडान गर्न करीब ५० मिटर बाँकी रहेको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए । यस्तै १०० मिटर लामो तेर्सो पेनस्टक जडानको काम भने माथिल्लो भर्टिकल साफ्टको काम सम्पन्न भएपछि भारतीय ठेकेदार टेक्सम्याकोले नै गर्नेछ ।
बाइफोर्केसन तथा तेर्सो पेनस्टक पाइपको जडान सक्न करीब २ महीना लाग्ने आयोजनाले बताएको छ । असोज अन्तिमसम्ममा एउटा युनिटबाट परीक्षणको रूपमा विद्युत् उत्पादन हुने सम्भावना रहेको आयोजनाले बताएको छ ।
जलाशय, गेट, स्पटपलक, डिस्यान्डर लगायत हेडवक्र्सका संरचनाको परीक्षण गर्ने क्रममा रहेको आयोजनाले कोरोना त्रासका कारण बीचैमा परीक्षण रोक्नुपरेको थियो । केही समयपछि ती संरचनाको परीक्षण शुरू गरिने आयोजनाको भनाइ छ ।
प्रसारण लाइनको काम सकिएको छ भने आयोजनाको विद्युतगृहको काम पनि लगभग सम्पन्न भएको छ । रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशनको भौतिक निर्माण पनि अन्तिम चरणमा रहेको छ । साथै उपकरण ढुवानीको काम भइरहेको छ । तर रोल्वालिङ डाइभर्शनको काम भने मजदूर अभाव लगायत कारण ठेकेदारले अगाडि बढाउन नसकेको आयोजनाले बताएको छ ।
हालसम्म आयोजना निर्माणमा रू. ४८ अर्बभन्दा बढी खर्च भइसकेको छ । डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्च लगायत कारण आयोजना समाप्त हुँदासम्म आयोजनाको लागत रू. ७२ अर्बभन्दा केही बढी हुन सक्ने अनुमान छ ।