ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तलब नपाएपछि चितवनका शिक्षकले गरे आन्दोलनको तयारी

२०७७ असार, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । संस्थागत विद्यालयहरूले नियमित दिनुपर्ने तलब नदिएपछि चितवनका शिक्षकले आन्दोलनको तयारी गरेका छन् । नयाँ शैक्षिक शुरू भइसक्दा पनि पुरानो शैक्षिक सत्रको समेत तलब नपाएको भन्दै चितवनका संस्थागत विद्यालयका शिक्षकहरू आक्रोशित भएका छन् । नयाँ शैक्षिक सत्र शुरू भएयता आफूहरूले निरन्तर अनलाइन कक्षाबाट पढाइलाई निरन्तरता दिए पनि हालसम्म विद्यालयले तलब नदिएको उनीहरूको गुनासो छ ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु), चितवनले बुधवार भरतपुरमा पत्रकार सम्मेलन गरी विद्यालयहरूले तलब नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सोहीअनुरूप इस्टु केन्द्रीय समितिले यही असार १९ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा इस्टुका केन्द्रीय उपाध्यक्ष केशवराज पाठकले विद्यालय सञ्चालक समिति, प्याब्सन, जिल्ला शिक्षा कार्यान्वयन एकाइ लगायत सरोकारवालाई पटक पटक ध्यानाकर्षण र दबाब गराउँदा समेत बेवास्ता गरिएकाले सशक्त संघर्ष गर्नुको विकल्प नरहेको बताए । विद्यालयले विद्यार्थीसँग चैत महीनाको समेत शुल्क लिएको, भित्रभित्रै भर्ना पनि गरेको तर शिक्षकलाई अहिलेसम्म तलब नदिएको उनको आरोप छ । यस्तै कतिपय विद्यालयका शिक्षकले माघदेखिकै तलब नपाएको  र अवस्था जटिल बन्दै गएको उनको भनाइ छ । शिक्षकको माग बेवास्ता गरिएको र उनीहरूलाई उल्टै विद्यालयबाट निकालिएकाले देशभर सडक संघर्ष गर्न लागिएको उनले बताए ।

हाल निजी विद्यालयका शिक्षक तथा कर्मचारीले दैनिक प्रत्यक्ष, अप्रत्यक्ष रूपमा काम गर्दै आएको तर विद्यालय प्रशासन मुकदर्शक बनेको आरोप शिक्षकको छ । सरकारले अभिभावकसँग शुल्क नलिने निर्देशन दिए पनि कतिपय विद्यालयले अभिभावकलाई फोन गरेर नयाँ शैक्षिक सत्रको समेत भर्ना गर्न दबाब दिइरहेको उपाध्यक्ष पाठकले बताए ।
इस्टुका चितवन अध्यक्ष जनकराज घिमिरेले लामो समयसम्म तलब नपाउँदा शिक्षकको अवस्था दयनीय हुँदै गएको भन्दै तत्काल तलब पाउनुपर्ने माग राखे । ‘चितवनका करीब ८० प्रतिशत निजी विद्यालयका शिक्षकले चैतकै तलब पाएका छैनन्,’ उनले भने, ‘तर सामुदायिक विद्यालयका शिक्षकले काम नगरे पनि नियमित तलब पाएका छन् ।’ राज्यले नै यसप्रति चासो नदेखाई संस्थागत विद्यालयका शिक्षकलाई विभेद गरेको उनको आरोप छ । शिक्षकहरूले जेठदेखि सम्पूर्ण तलब भुक्तानी गर्नुपर्ने, विद्यालयका कामलाई निरन्तरता दिनुपर्ने, विगतका सहमति कार्यान्यवन गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने लगायत माग राख्दै आएका छन् । तथ्यांक अनुसार देशभर संस्थागत विद्यालयका साढे २ लाखभन्दा बढी शिक्षक छन् भने चितवनमा मात्र ६ हजार छन् । जिल्लामा १६५ संस्थागत र १५० सामुदायिक विद्यालय छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)