ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सलहै सलह

२०७७ असार, १९  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

नेपालमा सलह आउँदैन भनेर ठोकुवा गर्ने विज्ञहरू कता हराए भनेर खोजी गर्नुपर्ने भो । हुन त यसमा विज्ञहरूको पनि के दोष ? गाई कि त्रिशूल गर्दा त्रिशूल पल्टेकाले आउँदैन भन्ठानेका थे होला । सलह त विनासूचना आइदियो । सलहहरूलाई देशभित्र छिर्न भिसा चाहिन्न नि त !

उसो त दक्षिणतिरबाट नेपाल छिर्न मानिसलाई पनि भिसा चाहिन्न । अब सलह पनि आइ नै सक्यो भने के गर्ने त ? धन्धा नमान्नुहोस्, केही न केही पक्कै हुन्छ । कृषिमन्त्री

सलहलाई कक्रक्कै पार्ने अमेरिकी हेभी मेटल गीतहरूको खोजीमा जुटिसकेका छन् । मन्त्रिपरिषद् नै धरापमा परेर पो त ! तर तुरुन्तै ढली चैं हाल्दैन कि !

सलह किराले त आफ्नो शरीरको तौल बराबर मात्र खान्छ । तर यो स्थानीय सलहले त सिंगै जहाज, पुल, बाटोघाटो र यहाँसम्म कि पूरै आयोजना नै निल्न सक्छ । जस्तै– विगतमा अरुण ३ पनि सलहले नै खाएको रैछ । बोइङदेखि वाइडबडी, मेलम्ची, बूढीगण्डकीदेखि काठमाडौं–निजगढ द्रुतमार्ग सबै सलहले खाए !

यो सलह भगाउन विज्ञहरू पनि आ–आफ्नो घरमा धामीझाँक्री बोलाएर ढ्यांग्रो स्यांग्रो ठटाउँदै होलान् । ढ्याङ्ग्राङ ढुङ्ग्रुङ र ढ्वाङ ढ्वाङ गरेको आवाज खप्न नसकेर सलह भाग्छन् रेन्त ! त्यसैले होला सत्तारूढ दलको केन्द्रीय समितिदेखि तलसम्म सबैजनाले तुमुलध्वनिका साथ ङ्वारङुर गर्न थालिसकेका छन् । के थाहा, भित्रभित्रै सलह तर्साउने कीट पनि बनाइसके कि ‘कोरोना रिमुभल कीट’ जस्तै !

प्रदेश सरकारहरूले पनि सलह नियन्त्रण गर्न ठूलै योजना ल्याइसकेकै छन् । सलह पक्रेर ल्याउनेलाई प्रतिकिलो रू. २० देखि ५० दिने घोषणा जारी गर्दिसकेका छन् । त्यो दरभाउ अब त रू. १०० नै पुगिसक्यो ।

जिउँदै ल्याउने वा मारेर भन्ने कुरामा भने किसानहरू अलि अलमलमा छन् रे ! यी सलह किराहरू अनेक रंग, आकार र प्रकारका हुन्छन् । अहिले नेपाल भ्रमणमा आएको भनिएको सलह विश्वकै एक खतरनाक आप्रवासी किरा हो रे । यिनीहरू अहिले नेपालका रूखरूखमा, बालीबालीमा ठाउँ फेरी फेरी मस्ती गरिरहेका छन् । एकठाउँमा बस्नै नसक्ने रैछन् । नत्र विषादी छर्केर निर्मूल पार्न हुन्थ्यो नि !

आप्रवासी सलह त अहिले आए । तर देशभित्रै स्थानीय सलहहरू पनि छपक्कै छन् । स्थानीय सलह भने रूखरूखमा नभै सरकारी अफिस अफिसमा, पार्टी कार्यालयहरूमा, सरकारमा, ठेक्कापट्टामा, हरेक नीति, कार्यक्रम र योजनामा वर्षौंदेखि पसेका र गजधम्म बसेका छन्, टसमस गराउन नसक्नेगरी !

बाहिरबाट आएका सलहले किसानको खेतीबाली, फूल, पात, फल, बीउ, डाँठ, बोक्रा र सिंगै रूख समेत सखाप पार्छन् । तर स्थानीय सलहले भने जनता र सरकारको पैसा सखाप पार्छन् । त्यसैले जहाँ जहाँ आर्थिक कारोबार हुन्छ, त्यहाँ त्यहाँ पसेर यिनीहरूले बजेटको ८०–९० प्रतिशतसम्म सिध्याइदिन्छन् । सिंहदरबारदेखि ७७ जिल्ला, सातै प्रदेशमा यो सलहको प्रकोप व्याप्त छ ।

स्थानीय सलह देखिँदैन । तर, यसले केन्द्र, प्रदेश, स्थानीय क्षेत्र सबैतिरको बजेट एक्लै वा समूहमा मिलेरै खान्छ । साधारण भाषामा भन्नुपर्दा स्थानीय सलहले पैसा भन्ने चीज देखेपछि छाड्दै छाड्दैन । पछि परिणाम चाहे जेसुकै होस् ।

सलह किराले त आफ्नो शरीरको तौल बराबर मात्र खान्छ । तर यो स्थानीय सलहले त सिंगै जहाज, पुल, बाटोघाटो र यहाँसम्म कि पूरै आयोजना नै निल्न सक्छ । जस्तै– विगतमा अरुण ३ पनि सलहले नै खाएको रैछ ।

बोइङदेखि वाइडबडी, मेलम्ची, बूढीगण्डकीदेखि काठमाडौं–निजगढ द्रुतमार्ग सबै सलहले खाए ⁄ प्राकृतिक सलह नियन्त्रणका उपाय छन् । तर, यो स्थानीय सलहलाई भने अहिलेसम्म कहीँ कसैले नियन्त्रण गर्न सकेको छैन । कसै कसैले अदुआले सलह नियन्त्रण गर्न सक्छ भने र अदुआलाई बलियो बनाउने उपायहरू पनि गरे । तर यो स्थानीय सलहले त अदुआलाई नै सलहको प्रजाति बनाइदियो !

कतिपय देशहरूमा त सलह किरालाई नियन्त्रण गर्न भनेर यसलाई खाद्यकै रूपमा प्रयोग गर्ने गरेका छन् । यो पोसिलो हुन्छ भन्दै खाँदा रैछन् । तर स्थानीय सलहलाई त खाने वा नियन्त्रण गर्ने त कुरै छाडौं, प्रयास गर्नेलाई पाए उसैले चैं सिध्याइदिन्छ । पुल होस् कि पिलेन बाँकी नराख्नेले जाबो मानिसलाई काँचै खान कतिबेर । तर, सीधै चाहिँ खाँदैन है, खाइनेले पनि थाहा नपाउने गरी खाइदिन्छ स्थानीय सलहले !

सलह फट्यांग्रा वर्गको किरा हो । यो बथानका बथान बनाएर हिँड्छ । स्थानीय सलह पनि बथानमै हिँड्छ । तर स्थानीय सलह चैं फटाहा वर्गको चिप्लेकिरा रहेछ समात्न लाग्यो कि चिप्लिइहाल्ने । अख्तियार आओस् कि अदालत, जहाँबाट पनि जसरी पनि चिप्लिइहाल्छ । जनताले आक्रोश पोखे भने पनि दक्षिणको सहलले भ्याउन आँट्यो भनिदियो, सबै उतै हेर्छन्, आफू चोखो भयो बस्यो । वास्तवमा यी त चिप्लेकिराभन्दा पनि स्याल र ब्वाँसो वर्गमा पर्छन्, बाघ आयो भन्दै कुखुरा चोर्ने खालको !

बाहिरबाट आएको सलहको संख्या बढ्दैन भन्छन् विज्ञहरू । किनकि संख्या बढाउन वयस्क सलह राजस्थान पुग्नुपर्छ रे । तर स्थानीय सलहलाई त नेपाल सधैं उर्वर भूमि रहेको छ । अर्को कुरा सलह किराहरू माऊ र बच्चा सँगै बसेर खाँदा रहेछन् ।

तर स्थानीय सलह चै माऊ सत्तामा बस्ने, चल्ला सलहले भने कम्पनी बनाएर ढुकुटी चुस्ने गर्दा रैछन् । अर्थात् चल्ला सलहले बनाएको कम्पनीलाई प्रक्रिया मिलाएरै, नीति बनाएरै चुस्न दिने रैछन् माऊ सलहहरूले !

कसरी पस्यो त नेपालमा सलह ? पशु तथा किरा मन्त्रालयका अनुसार २०४७ सालतिर पश्चिमतिरको संसदीय प्रजातन्त्रकोे हावासँगै पसेको रे । तर, कसै कसैले भनेअनुसार धेरै दशक अघिदेखि नै नेपालमा सलह सक्रिय थिए । तिनीहरूले नै गधाकाण्ड, गाईकाण्ड, गलैंचाकाण्ड, सर्पका छालाकाण्ड आदि गराएका थिए । जे होस्, पहिले त यो सलहको झुण्ड सानै थियो रे । तर लोकतान्त्रिक गणतन्त्रको बाटो हुँदै चैं यो सलहको संख्या ह्वात्तै बढेर आएछ ।

सबैभन्दा अत्यासलाग्दो यो छ कि बाहिरबाट आएको सलह किरा मौसम प्रतिकूल हुनासाथ मर्ने वा भाग्ने हुँदो रैछ । तर यो फटाहा जातको स्थानीय सलह भने बाहैै्र महीना, चौबीसै घण्टा मौसम प्रतिकूल भए पनि, नभए पनि आपसमा कलह गरिरहे पनि देशको ढुकुटी सखाप पार्न हरदम सक्रिय हुने रैछ । छ त कुनै उपाय तपाईंसँग यो स्थानीय सलहलाई सखाप पार्ने ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)