ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा ३० प्रतिशत रोपाइँ सकियो

२०७७ असार, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा बिहीवारसम्म ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष असारको दोस्रो सातासम्म जिल्लामा १५ प्रतिशत हाराहारीमा मात्र रोपाइँ भएको थियो ।

यो वर्ष समयमै मनसुन शुरू भएको र निरन्तर पानी परेकाले जिल्लाका अधिकांश किसानले धान रोपाइँ छिट्टै शुरू गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले पूर्वी चितवनमा ५० प्रतिशतभन्दा बढी र पश्चिम चितवनमा १० प्रतिशत रोपाइँ भइसकेको जानकारी दिए । लकडाउनका कारण भारतीय श्रमिक आउने अवस्था नभएपछि स्थानीयले आफै अर्मपर्म गरी चाँडै काम थालेकाले धान रोपाइँको प्रतिशत बढेको उनको भनाइ छ ।

गतवर्ष चितवनका सबै क्षेत्रमा धान रोपाइँ सकिन साउन अन्तिमसम्म लागे पनि यसपटक साउनको पहिलो हप्ताभित्रै सकिने तिमिल्सिनाले बताए । ज्ञान केन्द्रले बीउ तयार भइसकेको स्थान र पानी प्रशस्त भएको ठाउँमा छिटो धान रोप्न आग्रह समेत गरेको छ । ‘हालसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ भएको हाम्रो अनुमान छ,’ ज्ञान केन्द्रका सूचना अधिकारी सुरुचि त्रिपाठीले भनिन् । लकडाउनका कारण अधिकांश तरकारी किसानले यसपटक धानखेतीको क्षेत्रफल बढ्ने उनले बताइन् ।

उनका अनुसार यसपटक धानको क्षेत्रफलसँगै उत्पादकत्व समेत बढ्नेछ । ‘योपटक खाद्यसंकट बढ्ने अनुमान पनि छ, यसप्रति चितवनका किसान सचेत भएर धानखेतीमा लागेका छन्,’ प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका सूचना अधिकारी तथा बाली विकास अधिकृत माधव पौडेलले भने । जिल्लाको खेतीयोग्य जमीनमध्ये वर्षभरि र मौसमी गरी जम्मा ७२ दशमलव ७ प्रतिशत जमीनमा सिँचाइ पुगेको ज्ञान केन्द्रले जानकारी दिएको छ । गतवर्ष वर्षे र चैते गरी २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो, जसअनुसार चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिकटन रहेको छ भने वर्षे धानको उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ५२ छ । अघिल्लो वर्ष जिल्लामा १ लाख ६७२ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)