ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चौधरी ग्रूपको गल्फ कोर्टमा उद्योगी व्यवसायीको आकर्षण

२०७७ असार, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार २३, चितवन । पछिल्लो समय नेपालमा गल्फखेलप्रति उद्योगी व्यवसायीहरुको आकर्षण बढ्न थालेको छ । आफ्नो व्यस्त समय निकालेर चितवनका उद्योगी व्यवसायी गल्फ खेल्न जाने गरेका छन् ।

चितवन र नवलपरासी जिल्लालाई लक्षित गरी देवचुली नगरपालिका वडा नम्बर २ नवलपुरमा अवस्थित चौधरी ग्रूपको औद्योगिक ग्राममा सिजी रिट्रिट सञ्चालनमा आएको हो । 
नारायणगढबाट २२ किलोमिटर दुरीमा रहेको चौधरी ग्रूपको सिजी गल्फकोर्टमा चितवनका अधिकांश उद्योगी व्यवसायी जाने गरेका छन् । 

विश्वका विभिन्न  खेलमध्ये महँगो मानिएको उक्त खेलमा पछिल्लो समय उद्योगी, व्यवसायी, बैंकर्स, डाक्टर, इञ्निनीयर,सुरक्षा निकायका उच्च अधिकारी, कर्मचारीसमेत आउने गरेको गल्फका अप्रेशनल  म्यानेजर हरिलाल सापकोटाले जानकारी दिए ।

उनका अनुसार यहाँको  गल्फ खेलको स्थापना सन् २००३ मा भएपनि व्यवसायिक रुपमा सञ्चालनमा आएको दुई वर्षमात्र भएको छ । नेपालको परिवेशमा अघिल्ला वर्षहरुमा उच्च घराना तथा राजपरिवारले खेल्दै आएपनि पछिल्ला वर्षहरुमा विभिन्न, पेशा व्यवसायका व्यक्तिहरु खेल्न आउने गरेको उनको भनाइ छ ।

 ‘हामीकहाँ काठमाडौं, चितवन, पोखरा, बुटवल लगायत जिल्लाबाट खेलप्रेमीहरु आउनुहुन्छ’, उनले भने, ‘तीमध्ये सबैभन्दा बढी उद्योगी व्यवसायी नै बढी हुनुहुन्छ ।’ यहाँ खेल खेल्न ईच्छुक व्यक्तिहरुलाई समेत सिकाउने सुविधा, खान, बस्न, रिफ्रेसमेण्टको सुविधासमेत रहेको छ । 

विगत एक महीनादेखि गल्फ खेल्न आएका भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित मनकामना ग्रूपका अध्यक्ष एवं जस्मिन पेन्ट्सका प्रबन्ध निर्देशक लक्ष्मण अर्याल सामाजिक सञ्जाल र इन्टरनेटमा  खेलको बारेमा अध्ययन पश्चात यहाँ नियमित जसो गल्फ खेल्न आएको बताउँछन् । 

‘व्यापारमा जति व्यस्तभएपनि हप्ताको एकपटक यहाँ खेल्न आउने गरेको छु’, उनले भने, ‘यसबाट मलाई आनन्द र उर्जा दिएको अनुभव गरेको छु ।’ 

यसले आफूलाई शारिरीक तथा मानसिक रुपमासमेत पुनर्ताजगी बनाएकोले  यस खेलतर्फ रुचि बढेको उनको भनाइ छ । उक्त खेल एकापसमा कुराकानी गर्दै खेल्न सकिने भएकोले पनि व्यवसायीबीचको जनसम्पर्क स्थापित गर्न मद्दत पुग्ने व्यवसायीहरुको भनाइ छ । जयसन्तोषी माँ सुनचाँदी पसल नारायणगढका व्यवसायी रुविन रामुदामु विगत दुई वर्षदेखि गल्फ खेल्न आएको बताउँछन् । 

‘म दुई वर्षदेखि नियमित गल्फ खेल्न आउने गरेको छु, यो व्यापारिक गेम पनि हो’, उनले भने, ‘यसले व्यापार विकास पनि गर्छ, रचनात्मक पनि बनाउँछ ।’ उनका अनुसार शुरुका दिनमा केही व्यवसायीहरु आउने गरेपनि हालका दिनहरुमा उद्योगी व्यवसायीको खेलप्रति उल्लेखनीय रुचि  बढ्दै गएको छ । 

भरतपुरमा रहेको श्रीराम हाइजिन एण्ड सोप प्रालिका प्रबन्ध निर्देशक राम सुवेदी लकडाउनका कारण गल्फ खेल खेल्न जुरेको बताउँछन् । ‘गल्फ खेलको बारेमा पहिले सुनेको थिएँ तर कसरी खेल्ने अन्यौलमा थिएँ, मेरो रुचि पनि थियो’, उनले भने, ‘लकडाउनले मलाई यसखेलतर्फ आकर्षित गर्‍यो ।’

उनका अनुसार व्यवसायीको जमघटका कारण व्यापार व्यवसायका विषयमा आपसमा अनुभव बाँड्ने माध्यम समेत खेल भएको छ । यसअघि अन्य खेल खेल्दै आएपनि अबका दिनमा गल्फलाई निरन्तरता दिने उनको भनाइ छ । 

हुन त चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरी पनि गल्फ खेल्न उत्तिकै रुचि राख्छन् । ‘उहाँ नियमित खेल्न आउने समय नभएपनि महीनामा एकदुई पटक गल्फ खेल्न आउनु हुन्छ, गल्फ रिट्रीटका अप्रेशनल म्यानेजर सापकोटाले भने,  ‘उहाँको यसखेलप्रति प्यासन छ, दख्खल पनि उत्तिकै छ । ’

६५ बिघा क्षेत्रफलमा रहेको चौधरी औद्योगिक ग्राममा सिजी ब्रुअरी, वाईवाई चाउचाउ उद्योग, सुमी डिष्टिलरी, क्वीक्स, कुरकुरे उद्योग र रिट्रीट होम लगायत शाश्वतधाम पनि रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)