ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछा किसानको गुनासो : लकडाउन खुकुलो भएपनि विक्री भएन 

२०७७ असार, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार २४, चितवन । केही हप्ताअघिबाट लकडाउन खुकुलो भएपछि अधिकांश आर्थिक क्षेत्रले गतिलिन थालेपनि कृषिजन्य उत्पादनका विक्रीमा भने सुधार आएको छैन । 

लकडाउन खुलेपछि विक्री सहज होला भने आशामा रहेका माछा किसान विक्री सुस्त हुँदा निराश भएका छन् । पोखरीमा माछा उत्पादन वृद्धि राम्रै भएपनि यसले बजार नपाउँदा उनीहरु चिन्तित बनेका हुन् । सार्वजनिक यातायात नचलेका कारण र होटल रेष्टुरेण्ट नखुलेका कारण विक्री न्यून भएको कृषकको भनाइ छ । 

रत्ननगर नगरपालिका वडा नम्बर ९ का किसान भरत महत्तो लकडाउन खुलेपनि अपेक्षित रुपमा माछाको विक्री नबढेको बताउँछन् । ‘पोहोर जस्तो विक्री त छैन, उनले भने, तर खुकुलो भएपछि केही मात्रामा विक्री हुन थालेको छ ।’ उनका अनुसार विगतका वर्षहरुमा पोखरा, काठमाडौं  लगायतका शहरहरुबाट माछाको अर्डर आउन कम भएको छ । 

विक्री नहुनुभन्दा अलिअलि विक्री हुँदा पनि सन्तोष मान्नै पर्‍यो ।’ महतोले भने ।  माछाको माग र विक्री चाडबाड, र विवाहमा बढी हुने गर्छ । तर लकडाउन शुरुभएसँगै देशभरका होटल, रेष्टुरेण्ट बन्द भएका छन् भने सभा सेमिनार समेत चलेका छैनन् । 

नेपाल मत्स्य व्यसायी संघ, चितवनका अध्यक्ष, खगेन्द्री सुवेदी माछाको उत्पादन राम्रै भएपनि विक्री भने सुस्त भएको बताउँछन् । ‘विक्री एकदम सुस्त छ । पोखरीबाट पुराना माछा निकाल्न पाएको छैन, उनले भने, नयाँ भुरा थप्नपनि पाएको छैन ।’ माछाको मूल्य वृद्धि र विक्री सहज नहुँदा लगानी उठाउन समेत हम्मे हम्मे परेको उनले बताए । 

कुखुरा, खसीको मासु जस्तो माछाको मूल्यमा उत्तारचढाव हुँदैन । यसको मूल्य निश्चित समयसम्म स्थिर रहन्छ । हाल माछाको उत्पादन राम्रो भएपनि आगामी वर्ष पांगासियस जातको माछाको उत्पादनमा भारी गिरावट आउने संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारी बताउँछन् । 

‘अहिले माछा कता तह लगाउ जस्तो भएको छ, उनले भने, एक त लगानी उठ्न गाह्रो छ । अर्को विक्री न्यून छ ।’ उनका अनुुसार यो जातको माछाको माग नेपालमा ६० प्रतिशत छ । भारतबाट यो पटक भुरा ल्याउन नपाईएको कारण उत्पादनमा समेत गिरावट आउने उनले जानकारी दिए ।

अन्य मासुजन्य पशुपंक्षीको मासु तुलनात्मक रुपमा मूल्य बढेपनि माछाको मूल्य समायोजन २ वर्षमा एकपटक गर्ने गरिएको छ । ‘अहिले विक्री नभएको बेला मूल्य वृद्धि गर्दा झन् विक्री तल झर्ला, उनले भने, लकडाउनको बेला मूल्य वृद्धि गर्न पनि हुँदैन।’ माछाको मूल्य विगत ३ वर्षदेखि नबढाईएको र आगामी आर्थिक वर्षदेखि बढाउने तयारी गरिएको उनले बताए । 

हाल सबै जातका माछा रू. ३०० प्रतिकेजीमा विक्री हुँदै आएको छ । उनका अनुसार चाडबाड र लकडाउन खुलेपछि माछाको माग बढ्ने र सोही अनुसार मूल्य समायोजन गरिने छ । हाल देशभर रू. ६ अर्ब बराबरको माछा उत्पादन हुँदै आएको छ भने रू. ४ अर्ब बराबरको माछा बाहिरबाट आयात हुँदै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)