ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केराको उत्पादन वृद्धि भयो तर कारोबार भने बढेन

२०७७ असार, २५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार २५, चितवन । विगतका वर्षहरुमा उत्पादनको तुलनामा केरा उत्पादनको  अनुपातमा कारोबार वृद्धि भएपनि चालू आर्थिक वर्षमा केराको कारोबार घटेको छ । 

कोरोना भाइरस महामारीका कारण झण्डै चार महीनासम्म उत्पादित केराले वास्तविक मूल्य नपाउँदा  कारोबार घटेको  केरा उत्पादन गर्दै आएका व्यवसायीले बताएका छन् । केरा उत्पादक संघ चितवनको तथ्यांक अनुसार गतवर्ष झण्डै चितवनमा करीब रू.१ अर्ब ५० करोड बराबरको कारोबार भएको थियो । 

संघका अध्यक्ष घननाथ महत्तो केराको उत्पादनमा वृद्धि भएपनि यसवर्ष कारोबार घट्ने बताउँछन् । ‘गत सालभन्दा केराको मूल्य कम छ, लागत भने वर्षेनी बढ्दै गएको छ’, उनले भने ।  केराले बजार नपाउँदा र माग अनुसार देशका अन्य क्षेत्रमा पुर्‍याउन नसक्दा सस्तो मूल्यमा बेच्नु परेको छ ।

गतसाल प्रतिकोसा रू.६ मा केरा विक्री भएपनि यो वर्ष मुश्किलले रू.५ मा प्रतिकोसा बेच्नु परेको उनको  भनाइ छ । ‘यसवर्ष रू.२ अर्बको कारोबार गर्ने अनुमान गरेका थियौं, तर अहिलेसम्मको परिस्थिति हेर्दा डेढअर्बभन्दा पनि कम कारोबार हुने अवस्था देखिन्छ’, उनले थपे । 
 

वर्षेनी चितवनमा केराखेती गर्ने किसानको संख्यामा वृद्धि हुनुका साथै क्षेत्रफलसमेत बढ्दै गएको छ । बजारमा अन्य फलफूल खासै नदेखिएपनि केराको विक्री भने बढेको बताउँछन, भरतपुर महानगरपालिका वडा नम्बर ९ का केरा किसान यज्ञ सुवेदी । ‘हावाहुरीले क्षति पुर्‍याएपनि यसवर्ष उत्पादन राम्रै थियो, तर कोरोना भाइसको कारणले गर्दा सस्तोमा बेच्नु परेको छ’, सुवेदीले भने ।  

उनका अनुसार प्रतिकोसा रू.४ र पैसा ५० सम्म लागत पर्दछ । अझैपनि भारतबाट केरा आउने भएकाले नेपाली केराले बजार पाउन गाह्रो परेको उनको भनाइ छ । ‘मैले गतसाल ६० बिघामा केरा लगाएको थिएँ, अहिले थप १५ बिघामा विस्तार गरेको  छु’, उनले भने, ‘तर फाइदा भने कम छ ।’ 

देशका मूख्य शहरहरुका थोक फलफूल बजार अझै नखुलेको र सार्वजनिक सवारी साधन नचलेका कारण पनि विक्री कम भएको किसानको भनाइ छ । अहिले केरामा न्यून फाइदा भएपनि साउन महीनापछि भने घाटा हुने उनीहरुको तर्क छ । 

वैशाखदेखि साउनसम्म प्रतिदर्जन रू.६० मा  विक्री हुने गरेपनि साउन महीनापछि अझ सस्तोमा केरा विक्री गनुपर्ने बताउँछन् संघका निवर्तमान अध्यक्ष विष्णुहरी पन्त । 

‘अहिले प्रतिगोटा रू. ५ मा पाइएको छ, साउनपछि प्रतिगोटा रू.३ मा बेच्नुपर्ने हुन्छ’, उनले भने । भारतका केरा किसानले हरेक कृषिजन्य उत्पादनमा अनुदान पाउने भएकोले उनीहरुको लागत कम पर्ने गर्दछ ।

‘हाम्रो मुख्य चुनौति र प्रतिस्पर्धा भारतीय केरानै हो, जबसम्म भारतीय केराले बजार पाउने अवस्था रहन्छ तवसम्म नेपाली किसान मारमै पर्छन्’, उनले भने, ‘बजारमा मानिसहरुको चहलपहलनै कम भएका कारण सस्तो दरमा केरा विक्री गर्नुपर्ने बाध्यता छ ।’

लकडाउनका कारण अन्य कृषिजन्य उत्पादन नष्ट भएको र विक्री नभएपनि केराखेतीका किसानले त्यति घाटा बेहोर्नु नपरेको पन्तको भनाइ छ । गत चैतमा आएको हावाहुरी र असिनाका कारण रू.१० करोडभन्दा बढी केराखेतीमा क्षति पुगेको थियो । 

संघका अनुसार चितवनमा ३ हजार बिघाभन्दा बढीमा केराखेती हुँदै आएको छ । यहाँ ७०० जनाभन्दा बढी किसानले व्यवसायिक रुपमा  केराखेती गर्दै आएका छन् । पछिल्लो वर्ष यहाँ ५५ हजारदेखि ६० हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)