ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन खुकुलो भए पनि माछा विक्री भएन

२०७७ असार, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । पछिल्लो केही सातायता लकडाउन खुकुलो भएपछि धेरैजसो आर्थिक क्षेत्रले गति लिन थालेको छ । तर, कृषिजन्य उत्पादनका विक्रीमा भने सुधार आउन सकेको छैन । लकडाउन खुलेपछि सहज विक्रीको पर्खाइमा बसेका चितवनका माछापालक किसानले राम्रोसँग व्यापार गर्न नपाएपछि अझै निराश छन् । माछा उत्पादन राम्रै भए पनि त्यसले बजार नपाउँदा उनीहरू चिन्तित बनेका हुन् ।

लकडाउन खुले पनि सार्वजनिक यातायात नचल्दा र होटल रेष्टुराँहरू पर्याप्त नखुल्दा विक्री न्यून भएको उनीहरूको भनाइ छ । रत्ननगर नगरपालिका–९ का किसान भरत महतो लकडाउन खुले पनि अपेक्षित रूपमा माछाको विक्री नबढेको बताउँछन् । ‘आंशिक लकडाउनका कारण व्यापार पनि आंशिक नै छ’, उनले भने । विगतका वर्षहरूमा पोखरा र काठमाडौं लगायत शहरबाट माछाको माग आउने गरेको भए पनि यो वर्ष त्यस्तो माग नआएको उनले बताए ।

चाडबाड तथा विभिन्न किसिमका भोजभतेरका लागि माछाको माग हुने गर्दछ । तर, लकडाउन शुरू भएसँगै देशभरका होटल तथा रेष्टुराँहरू पूर्णरूपमा बन्द भएका छन् भने सभा सेमिनारहरू रोकिएका छन् ।

नेपाल मत्स्य व्यसायी संघ, चितवनका अध्यक्ष, खगेन्द्री सुवेदी माछाको उत्पादन राम्रै भए पनि विक्री सुस्त भएको बताउँछन् । ‘विक्री अत्यन्तै कम छ । पोखरीबाट पुराना माछा निकाल्न नपाउँदा नयाँ भुरा थप्न पनि पाएको छैन’, उनले भने । माछाको मूल्य वृद्धि र विक्री सहज नहुँदा लगानी उठाउन समेत कठिन भएको उनले बताए ।

कुखुरा तथा खसीको मासु जस्तो माछाको मूल्य उत्तारचढाव भइरहँदैन । यसको मूल्य निश्चित समयसम्म स्थिर रहन्छ । हाल माछाको उत्पादन राम्रो भए पनि आगामी वर्ष पांगासियस जातका माछाको उत्पादनमा भारी गिरावट आउने संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारी बताउँछन् । उनका अनुुसार यो जातको माछाको माग नेपालमा ६० प्रतिशत छ । भारतबाट यो पटक भुरा ल्याउन नपाइएको कारण उत्पादनमा गिरावट आउने पनि उनको भनाइ छ ।

अन्य मासुजन्य पशुपक्षीको मासुको मूल्य तुलनात्मक रूपमा घटबढ भइरहे पनि माछाको मूल्य समायोजन प्रत्येक २ वर्षमा एक पटक मात्रै गर्ने गरिएको छ । ‘अहिले विक्री नभएको बेला मूल्य वृद्धि गर्दा झन् विक्री तल झर्ला’, उनले भने, ‘लकडाउनको बेला मूल्य वृद्धि गर्न पनि हुँदैन ।’ माछाको मूल्य विगत ३ वर्षदेखि नबढाइएको बताउँदै उनले आगामी आर्थिक वर्षदेखि बढाउने तयारी गरिएको बताए । हाल सबै जातको माछा रू. ३०० प्रतिकेजी विक्री हुँदै आएका छन् । उनका अनुसार चाडबाड र लकडाउन खुलेपछि माछाको माग बढ्ने र सोही अनुसार मूल्य समायोजन गरिने तयारी छ ।

हाल देशभर रू. ६ अर्ब बराबरको माछा उत्पादन हुँदै आएको छ भने रू. ४ अर्ब बराबरको माछा अन्य मुलुकबाट आयात गरिँदै आएको छ । संघका अनुसार देशभर १४ हजार व्यावसायिक माछापालक किसान छन् भने चितवनमा मात्रै १ हजार ७०० किसानले माछापालन गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)