ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनले चितवनमा केराको कारोबार घट्यो

२०७७ असार, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । यस वर्ष चितवनमा केराको कारोबार घटेको छ । कोरोना महामारीका कारण झण्डै ४ महीना उत्पादनले सही मूल्य नपाउँदा कारोबार घटेको कृषक व्यवसायीले बताएका छन् । चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो केराको उत्पादनमा वृद्धि भए पनि यस वर्ष कारोबार घटेको बताउँछन् । ‘गतवर्षको भन्दा केराको मूल्य कम छ, लागत भने वर्षेनि बढ्दै गएको छ,’ उनले भने ।

केराले बजार नपाउँदा किसानले सस्तो मूल्यमा बेच्नुपरेको छ । गतवर्ष प्रतिकोसा ६ रुपैयाँमा केरा विक्री भए पनि यो वर्ष मुश्किलले ५ रुपैयाँ प्रतिकोसा बेच्नुपरेको महतोको  भनाइ छ । ‘यस वर्ष २ अर्ब रुपैयाँको कारोबार गर्ने अनुमान गरेका थियौं, तर अहिलेसम्मको अवस्था हेर्दा डेढ अर्बभन्दा पनि कम कारोबार होला,’ उनले भने । संघको तथ्यांक अनुसार गतवर्ष जिल्लामा करीब डेढ अर्ब रुपैयाँ बराबरको केराको कारोबार भएको थियो ।

जिल्लामा केराखेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल वर्षेनि बढ्दै गएको छ । ‘हावाहुरीले क्षति गरे पनि यस वर्ष उत्पादन राम्रै थियो, तर कोरोनाले गर्दा सस्तोमा बेच्नुपरेको छ,’ भरतपुर महानगरपालिका–९ का किसान यज्ञ सुवेदीले भने । उनका अनुसार प्रतिकोसा केराको लागत साढे ४ रुपैयाँसम्म पर्दछ । अझै पनि भारतबाट केरा आउने भएकाले नेपाली केराले बजार पाउन गाह्रो परेको उनको भनाइ छ । ‘मैले गत साल ६० बिगाहामा केरा लगाएको थिएँ,’ उनले भने, ‘अहिले १५ बिगाहा विस्तार गरेको  छु, तर तुलनात्मक रूपमा फाइदा भने कम छ ।’

देशका मुख्य शहरका थोक फलफूल बजार अझै नखुलेको र सार्वजनिक सवारीसाधन नचलेकाले पनि विक्री कम भएको किसानहरू बताउँछन् । अहिले केरामा न्यून फाइदा भए पनि साउनपछि भने घाटा हुने उनीहरूको बुझाइ छ ।

वैशाखदेखि साउनसम्म प्रतिदर्जन केरा ६० रुपैयाँमा विक्री हुने गरे पनि साउनपछि सस्तोमा केरा विक्री गनुपर्ने बताउँछन् संघका निवर्तमान अध्यक्ष विष्णुहरि पन्त । ‘अहिले प्रतिगोटा ५ रुपैयाँ पाइएको छ । साउनपछि प्रतिगोटा ३ रुपैयाँमा बेच्नुपर्ने हुन्छ,’ उनले भने । भारतका केरा किसानले उत्पादनमा अनुदान पाउने भएकाले उनीहरूको लागत कम पर्ने र नेपालका किसानलाई यो सुविधा नहुँदा भारतीय उत्पादनसँग अस्वस्थ प्रतिस्पर्धा हुने गरेको उनले बताए । ‘हाम्रो मुख्य चुनौती र प्रतिस्पर्धा भारतीय केरा नै हो,’ उनले भने, ‘बजारमा भारतीय उत्पादनको वर्चस्व रहँदासम्म नेपाली किसान मारमै पर्छन् ।’ बजारमा मानिसको चहलपहल नै कम भएकाले पनि अहिले सस्तो मूल्यमा केरा बेच्नुपरेको उनले बताए । यद्यपि अन्य कृषि उत्पादन गर्ने किसानको तुलनामा केरा किसानले लकडाउनका बेला कमै घाटा बेहोर्नु परेको पन्तको भनाइ छ ।

गत चैतमा आएको हावाहुरी र असिनाका कारण चितवनको केराखेतीमा १० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो । संघका अनुसार जिल्लामा ३ हजार बिगाहाभन्दा बढी क्षेत्रफलमा केराखेती हुँदै आएको छ । यस्तै ७०० भन्दा बढी किसानले व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । पछिल्ला वर्ष जिल्लामा ५५ हजारदेखि ६० हजार मेट्रिक टनसम्म केरा उत्पादन हुँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)