ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साताका प्रमुख समाचार

२०७७ असार, २६  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

पाठकवृन्द !

नमस्कार !

शुरू गरौं यो साताका प्रमुख समाचारहरू –

असारे वर्षाको मौका छोपेर सरकारले शहरका विभिन्न सडकमा धान रोपाइँ शुरू गर्दै छ । धेरैले रोजगारी गुमाएकाले खाद्य संकट बढ्ने देखेर सडकमै धान रोप्न थालिएको हो । सडकमा रोप्ने धानका लागि न मल चाहिन्छ न सिँचाइ । त्यसैले नयाँ खेती प्रणाली भित्र्याएको प्रमाणस्वरूप सरकारले सडकमै रोपाइ शुरू गरेको युवा कृषिमन्त्रीले बताएका छन् ।

मुलुकले जुध्नुपर्ने समस्या धेरै छन् । त्यसैको तयारी स्वरूप नेकपाले प्रधानमन्त्री कुर्सी कप प्रतियोगिता शुरू गरेको छ । सो प्रतियोगिता यसै हप्ता फाइनल गर्ने भनिए पनि त्यसो हुने छाँट भने देखिएको छैन । शुरूमा वाक् युद्ध, अनि कुटिल छिर्के युद्ध र झेल हुँदै प्रतियोगिता यस चरणमा आइपुगेको हो । यसैबीच दुई पक्षका समर्थकबीच देशका विभिन्न ठाउँमा लात्तीमुक्का प्रदर्शन खेल पनि चलिरहेकै छ ।

चीनको कोरोना, अफ्रिकी सलह र नेकपा तथा कुनै पनि सत्ताधारी दलको कलह उस्तै लाग्छन्, बेलाबेलामा एकपछि अर्को गर्दै जनतालाई दुःख दिन आउने । न त यसको औषधि बनेको छ, न जोखिम नियन्त्रण गर्न नै सकिन्छ । त्यसैले आाफै सुरक्षित बसौं भनेर सरकारले नयाँ उर्दी जारी गरेको छ ।

असारे विकासको परम्परालाई जोगाइराख्न सरकारले यो वर्ष पनि असारको अन्तिममा सडक र पुलका ठेक्का आह्वान गरिरहेको छ । यसो गर्दा आउने २० प्रतिशत मोबिलाइजेशनमध्ये १५ प्रतिशत आयोजनाका डिजी र सरोकारवाला मन्त्रीको खातामा सीधै जम्मा हुने व्यवस्था मिलाइएको छ । यसले प¥यो भने सांसदहरू किन्न र आगामी चुनावमा विपक्षीहरू छिन्न सजिलो हुने भुक्तभोगीहरू बताउँछन् ।

पहिले पहिले चीनबाट आउने भाइरस रोक्न भारतीय राजदूत सक्रिय हुन्थे । अहिले भारततिरको संक्रमण रोक्न चिनियाँ राजदूत कान्छीको दौडधुप बढेको छ । टुटाउने पनि राजदूत, जुटाउने पनि राजदूत ! नेपालको आन्तरिक रोग निवारण गर्न दुई छिमेकी यो हदसम्म सक्रिय हुन सक्छन् भन्ने थाहा पाए पनि परराष्ट्रमन्त्री र मन्त्रालयका हाकिमहरू भने आआफ्नो जागीर जोगाउन तैं चुप मैं चुपको निर्लज्ज अवस्थामा रहेको परराष्ट्रविद्हरूको भनाइ छ ।

देशमा नयाँ प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै देशमा सुशासन हुने, सफल सेवा प्रवाह हुने, भ्रष्टाचार पूरै उन्मूलन हुने र एक प्रकारले रामराज्यको स्थापना हुनेछ भनेर नयाँ हुने प्रमका हुनेवाला नयाँ सल्लाहकारले दाबी गरेका छन् ।

गृह मन्त्रालयले नाक, मुख खोली मास्क नलाई हिँड्नेलाई कारबाही गर्ने भनेको छ । तर पूरै अनुहारमा अदृश्य मुखुण्डो लगाएर बस्नेहरूलाई भने कुनै कारबाही नगरिने भएको छ ।

नेकपाभित्रको विवाद साम्य गर्न आफ्ना पार्टीका नेताहरूबीच वार्ता टोली र कार्यदल गठन भएका छन् । अहिलेसम्म लिने र दिने कुरामा सहमति भैनसकेकाले समय लागेको स्रोतले बताएको छ ।

चीनको कोरोना, अफ्रिकी सलह र नेकपा तथा कुनै पनि सत्ताधारी दलको कलह उस्तै लाग्छन्, बेलाबेलामा एकपछि अर्को गर्दै जनतालाई दुःख दिन आउने । न त यसको औषधि बनेको छ, न जोखिम नियन्त्रण गर्न नै सकिन्छ । त्यसैले आाफै सुरक्षित बसौं भनेर सरकारले नयाँ उर्दी जारी गरेको छ ।

सडक  र पुल बनाउँछु भन्दै ठेक्का हात पार्ने, तर मोबिलाइजेशन रकम पाएपछि बेपत्ता हुने गरेका पुकदाका घरबेटीलाई जिन्दगीमै अनुभव नभएको रू. २ अर्बको मल आयात गर्ने ठेक्का पनि दिने भएछ सरकारले । कत्तिले यो कामलाई दाहाल र ओलीले मासु, मार्सी र नूनको सोझो गरेको ठानेका छन् । तर यो नूनको सोझो मात्र नभै ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने उखानलाई चरितार्थ गर्न मात्र खोजिएको हो भन्ने विश्वस्त सूत्रबाट थाहा भएको छ ।

सरकारले देशमा बढीभन्दा बढी रोजगारी सृजना गर्ने उद्देश्यले बढीभन्दा बढी अनपढ, हत्या हिंसामा संलग्न, शारीरिक र मानसिक रूपमा सन्तुलन बिग्रेकालाई पनि कसरी काम दिन सकिन्छ भनेर गम्भीर छलफल गरिरहेको बुझिएको छ । अन्तमा यस्ता सबैलाई अहिले सबैभन्दा उपयुक्त रोजगारी राजनीतिभन्दा अरू नदेखिएको ठम्याई राजनीतिक दल र सरकारको छ । त्यसै अनुसार उनीहरूलाई सार्वजनिक पदमा नियुक्ति दिने अभियान जोडतोडका साथ चलिरहेको छ ।

देशैभरि वर्षाका कारण बाढी, पहिरोको जोखिम बढेको छ । डुबानमा परेका नागरिकको स्थिति हेर्न मन्त्रीहरूले हेलिकोप्टर तयारी अवस्थामा राखेका छन् । सबै मन्त्रीहरूलाई एक एकओटा हेलिकोप्टर नपुग्ने भएकाले नयाँ हेलिकोप्टर टेण्डर गरेर मगाउने वा विनाटेण्डरै मगाउने कि घरबेटी, ओम्नी वा सेना कसलाई त्यसको ठेक्का दिने भन्ने विषयमा सरकार र सिंगो मन्त्रिपरिषद् गम्भीर छलफलमा जुटेको खबर आएको छ ।

सरकारले आगामी वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत हुन्छ भनेर ठोकुवा गरेको छ । सूत्रहरूका अनुसार हिजोआज प्रधानमन्त्रीले जोक गर्न छाड्नुभएकाले सो कामको जिम्मा सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्रीले लिन थाल्नुभएको छ ।

यो साताका समाचार यति नै । कोरोनाले भेटेनछ भने अर्को साता जल्दोबल्दो, रोचक, घोचक र शोषकहरूका समाचार लिएर आउने नै छु । त्यतिञ्जेल सम्मका लागि गुडबाई, नमस्ते !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)