ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शैक्षिक संस्था सञ्चालनमा नआउँदा पाठ्यपुस्तक सामग्रीको विक्रीमा गिरावट

२०७७ असार, २७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार २७, चितवन । लामो समयको लकडाउनका कारण बन्द भएको शैक्षिक संस्थाहरु सञ्चालनमा नआउँदा पाठ्यपुस्तक सामग्रीको विक्री न्यून भएको छ । शैक्षिक शत्र शुरु भएपनि अधिकांश संस्थागत विद्यालयमा अनलाईन कक्षाबाट पठनपाठन हुँदै आएको र सामुदायिक विद्यालयका विद्यार्थीहरुले समेत पाठ्यपुस्तक प्रयोग नगर्दा यी सामग्रीको कारोबारमा कमी आएको हो । 

गत सालको तुलनामा यस शैक्षिक शत्रमा झण्डै ८० प्रतिशत कम पाठ्यपुस्तक विक्री भएको व्यवसायीले बताएका छन् । जसका कारण यस्ता सामग्री मौज्दातमा राख्नुपरेको उनीहरुको गुनासो छ । सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटा यसपटक विद्यालयका पाठ्य सामाग्रीको विक्रीमा भारी गिरावट आएको बताउँछन् । 

अन्य पुस्तकहरु केही मात्रामा विक्री भएपनि विद्यालयका पाठ्यसामाग्रीको विक्री  न्यून छ । उनका अनुसार हाल उनको पसलमा गतसाल विद्यालयका सम्पूर्ण पाठ्यपुस्तक विक्री भएपनि यसपटक ३० देखि ३५ प्रतिशत पुस्तक मात्र विक्री भएको छ  । निजी विद्यालयका पुस्तक किन्न ग्राहक आउँछन्, उनले भने, तर जति आउनुपर्ने हो त्यस्तो उपस्थिति छैन ।’ 

चितवनमा लकडाउन अगावै एसईई बाहेक सबै कक्षाहरुको परीक्षा सकिएको थियो । जसले गर्दा व्यवसायीहरुले उल्लेखनीय मात्रमा किताब र स्टेशनरी सामान खरीद गरी विक्रीका लागि तयारी अवस्थामा थिए । 

तर लकडाउन लम्बिदै गएपछि विद्यालय खुल्न नसक्दा उनीहरुको पाठ्य सामग्री विक्री नभएको हो । हाल केही महीनादेखि अधिकांश संस्थागत र केही सामुदायिक विद्यालयले अनलाईन कक्षा सञ्चालन गरेको हुनाले पनि विद्यार्थीहरुलाई पाठ्यपुस्तक आवश्यकता त्यति पर्दैन । 

नेपाल पुस्तक तथा स्टेशनरी महासंघ, चितवन शाखाका अध्यक्ष राजेन्द्र तिवारी विद्यालय सञ्चालनमा नआउँदा आफ्ने पसलमा मुस्किलले १५ देखि २० प्रतिशत मात्र पाठ्यपुस्तक मात्र विक्री भएको बताउँछन् । 

‘यो महामारीमा कापीकिताब प्राथमिकतामा नै पर्दैन उनले भने, लकडाउनका कारण अधिकांश अभिभावकको क्रय क्षमता पनि कम भएको छ । ‘सरोकार निकायसँग छलफल गरेर निकास निकाल्ने प्रयास भएपनि विद्यालय नखुल्दासम्म किताबको विक्री नहुने उनले बताए । 

लकडाउनको अवधि कम होला र विद्यालयहरु छिटै नै शुरु होलान् भन्ने आशाले जिल्लाका सबैजसो व्यवसायीले लाखौं लगानी गरेर पाठ्य तथा स्टेशनरी सामग्री खरीद गरेपनि विक्री नहुँदा थन्क्याउनु पर्ने अवस्था छ । 

केही व्यवसायीले एजेण्ट मार्फत सामुदायिक विद्यालयका किताबहरु विक्री गरेपनि गतसालको भन्दा निकैन कम विक्री भएको बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २२, धनौजीका असल स्टेशनरी पसलका सञ्चालक अपिल घिमिरे संस्थागत विद्यालयका किताब विक्री ठप्प भएपनि सामाुदायिक विद्यालयमा भने किताब विक्री गरिसकेको बताउँछन् । 

‘बोर्डिङका विद्यार्थीले त सोध्न पनि आएका छैनन्, उनले भने, सामुदायिक केही विद्यालयमा भने बेचे । उनका अनुसार सामुदायिक विद्यालयका विद्यार्थीहरुले पुस्तक निःशुल्क पाउने भएकोले किताब विक्री भएपनि कापी तथा अन्य स्टेशनरी सामान भण्डारण मात्र गर्नुपरेको छ । 

विद्यालय तथा कलेजलाई चाहिने अन्य स्टेशनरी सामान पनि विक्री नभएका कारण पनि थप मार परेको उनको भनाइ छ । विद्यालयहरु नखुलेपनि जिल्लाका सबै सामुदायिक विद्यालयका लागि किताब वितरण लगभग सकिएको छ । जनक शिक्षा सामग्री लिमिटेड वाग्मती प्रदेश कार्यालय, भरतपुरले बारा, पर्सा, रौतहट, मकवानपुर, नवलपुर र चितवनका गरी ९५ प्रतिशत पुस्तक वितरण गरिसकेको जानकारी दिएको छ । 

कार्यालयका प्रमुख विनय श्रेष्ठ गत सालभन्दा वितरण कार्य ढिलाभएपनि कार्यालय मातहतका जिल्लाहरुमा पुस्तक वितरण अन्तिम चरण पुगेको बताउँछन् । ‘हाम्रो काम एजेण्टलाई दिने हो, उनले भने, विद्यार्थीले पाए, पाएनन् हामीलाई जानकारी हुँदैन ।’ बारा र पर्सामा केही विद्यालयमा पुस्तक वितरण बाँकी रहेपनि बाँकी जिल्लामा पुस्तक वितरण गरिसकिएको उनले जानकारी दिए । 

जिल्लामा वैशाख २२ देखि सामुदायिक विद्यालयमा पुस्तक वितरण कार्य थालिएको थियो । जिल्लामा हाल संस्थागत विद्यालय १६५ ओटा छन् भने डेढसयको हाराहारीमा सामुदायिक विद्यालय छन् । यहाँ करीब पाँच लाख विद्यार्थी अध्ययनरत छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)