ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौरी विकास ब्लकका लागि एक करोडको सामग्री हस्तान्तरण 

२०७७ असार, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार २८, चितवन । मौरीपालनको विस्तार र व्यवसायीकरणका लागि पूर्वी चितवनका किसानलाई रू. १ करोड ७ लाख बराबरको मौरी तथा मौरीजन्य सामग्री हस्तान्तरण गरिएको छ । 

कृषि ज्ञान केन्द्र चितवनको ५० प्रतिशत अनुदान र ६६ जना किसानको ५० प्रतिशत गरी उक्त सामग्री शुक्रवार हस्तान्तरण गरिएको हो । रत्ननगरमा एक कार्यक्रमकाबिच ज्ञानकेन्द्रले किसानको संस्था हातेमालो मौरीपालन ब्लकलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । 

कार्यक्रममा किसानले आफूलाई चाहिने घार, मौरी संकलन केन्द्र, मह प्रशोधन प्लान्ट, फिडर, घार राख्ने टहरा, फिडर, ट्यांकी लगायतका सामग्री वितरण गरिएको हो । 

सो अवसरमा बोल्दै मौरीपालक व्यवसायी महासंघका केन्द्रीय शिवप्रसाद शर्माले यस कार्यक्रमले कृषकलाई थप उत्साहित बनाएको भन्दै थप व्यवसायिक बनाउन मदत पुग्ने बताए ।

पछिल्लो समय मौरीको चरनक्षेत्र खुम्चिदै गएको र वातावरण प्रदुषणले मौरीको विस्तार गर्न नसकेको अवस्थामा यस्ता कार्यक्रमले किसानलाई विस्थापित हुन रोक्ने उनले बताए । ‘यसले युवापुस्तालाई आकर्षित पनि गर्छ, रोजगारी पनि सिर्जना हुन्छ ।’ शर्माले भने । 

हातेमालोका संयोजक रोशन पण्डित रत्ननगर नगरपालिकाका र कालीका वडा नम्बर ६ का किसानलाई लक्षित गरी मौरीजन्य सामग्री वितरण गरिएको बताए । किसानको आवश्यकता र लागतको आधारमा वितरण गयौं । यस्ता कार्यक्रमले किसानलाई चाहिने यस्ता सामग्री तत्काल र सर्वसुलभ मूल्यमा पाइने उनको भनाइ थियो । 

ज्ञानकेन्द्रका सूचना अधिकारी सुरुची त्रिपाठीले चितवनका किसानहरुलाई व्यवसायिक बनाउन र कृषि उपजको हब बनाउने उद्देश्यले कार्यालयले अनुदान दिंदै आएको बताइन् । 

तरकारी, केरा, धान, मौरी, माछा, दुध उत्पादन  लगायतका क्षेत्रहरुमा ज्ञान केन्द्रले ब्लकलाई र पकेट क्षेत्रलाई स्थानीय पालिकाले अनुदान दिंदै आएको छ भने प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना मार्फत जोन र सुपरजोनलाई अनुदान दिंदै आएको छ । 

मौरीको क्षेत्र विस्तार, आधुनिकीकरण र बजारीकरणको लागि कृषकलाई अनुदानमा सामग्री उपलब्ध गराइएको त्रिपाठीको भनाइ छ । 

हस्तान्तरण कार्यक्रममा वागमती प्रदेशका भूमि सुधार, कृषि तथा सहकारी विकास मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यता र स्थानीय सरकारको समन्वयमा ती सामग्री हस्तान्तरण गरिएको हो । चितवनमा व्यावसायिक मौरीपालन गर्नेको संख्या ४५० को हाराहारीमा रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)