ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दूध उत्पादक किसानले लिए रू. ८ करोड अनुदान

२०७७ असार, ३१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । बागमती प्रदेशअन्तर्गत ९ ओटा जिल्लाका १ हजार ७३१ जना दुग्ध उत्पादक किसानले चालू आर्थिक वर्षमा दुध उत्पादन प्रोत्साहन अनुदानबापत करीब रू. ८ करोड अनुदान पाएका छन् । प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट वक्तव्यमा दुग्ध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप प्रतिलिटर रू. १ अनुदान उपलब्ध गराउने व्यवस्था गरिएबमोजिम किसानहरूले उक्त रकम अनुदान पाएका हुन् ।

दूध उत्पादन गरेबापत बागमती सरकारको प्रतिलिटर रू. १ अनुदान दिने कार्यक्रमबाट प्रदेशभरका ९ ओटा जिल्लाका १९८ सहकारीका आबद्ध १ हजार ७३१ दूध उत्पादक किसानलाई चालू आर्थिक वर्षमा रू. ७ करोड ८३ लाख १८ हजार ४२२ भुक्तानी गरिएको बागमती प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका पशु विकास अधिकृत नवराज दाहालले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा दूध उत्पादनमा आधारित अनुदानका लागि रू. १२ करोड बजेट विनियोजन गरिएको थियो ।

बागमती प्रदेशको दूध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि २०७५ को दफा १५ मा प्रतिलिटर दूध उत्पादन गरेबापत किसानलाई प्रोत्साहनस्वरूप रू. १ अनुदान उपलब्ध गराइने व्यवस्था छ ।

यस्तो अनुदान लिनेमा सबैभन्दा बढी चितवनका ९४ ओटा दुग्ध उत्पादक सहकारीले रू. ४ करोड ४५ लाख ६९ हजार २७४ लिएका छन् । यस्तै सबैभन्दा कम रामेछापको एउटा सहकारीले रू. १ लाख १५ हजार ६०५ अनुदान लिएको निर्देशनालयका अधिकृत दाहालले जानकारी दिए ।

त्यसैगरी ललितपुरका २४ ओटा सहकारीले रू. ७३ लाख १ हजार ९९०, सिन्धुलीको एउटा सहकारीले रू. १ लाख ४३ हजार ४३८, सिन्धुपाल्चोकका ४ ओटा सहकारीले रू. ९ लाख ६२ हजार ४२ अनुदान लिएका छन् । यसैगरी मकवानपुरका ३९ ओटा सहकारीले रू. १ करोड २८ लाख ६७ हजार ८६५, नुवाकोटको एउटा सहकारीले रू. २ लाख २६ हजार ५४३, धादिङका २ ओटा सहकारीले रू. ४ लाख ६४ हजार ३६६ र काभ्रेपलाञ्चोकका ३२ ओटा सहकारीले रू. १ करोड १६ लाख ६७ हजार २९९ भुक्तानी लगेको अधिकृत दाहालले बताए ।

प्रतिलिटर दूधको रू. १ अनुदान पाउँदा किसानको अवस्थामा खासै परिवर्तन नआउने भए पनि अनुदान दिन शुरू गरिनु किसानका लागि उत्साह दिने काम भएको उनको भनाइ छ ।

दूध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि २०७५ को दफा १८ को (क) र (ख) अनुसार वार्षिक कम्तीमा २०० दिनसम्म दैनिक ३०० लिटरका दरले दूध संकलन तथा उत्पादन गरेका सहकारीहरू अनुदानको पाउनका लागि योग्य हुने मापदण्डमा उल्लेख छ । सहकारीले प्राप्त गरेको अनुदान सम्बन्धित किसानलाई नै उत्पादनको आधारमा भुक्तानी दिनु पर्ने कार्यविधिमा उल्लेख छ ।

दोलखा, रसुवा, भक्तपुर र काठमाडौं जिल्लाका किसानहरूले भने मापदण्ड नपुगेका कारण दूध उत्पादन प्रोत्साहन अनुदान पाउन नसकेको निर्देशनालयले बताएको छ । दोलखाका २ ओटा सहकारीले अनुदानका लागि आवेदन दिएको भए पनि दैनिक ३०० लिटर दूध उत्पादनको मापदण्ड नपुगेका कारण अनुदान नपाएको अधिकृत दाहालले जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सो अनुदान रकमलाई दोब्बर बनाएर प्रतिलिटर दूधको रू. २ अनुदान दिन रू. १६ करोड बजेट विनियोजन गरिएको बागमती प्रदेश सरकारको बजेट वक्तव्यमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)