ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा ७० र मकवानपुरमा ६३ प्रतिशत रोपाइँ

२०७७ असार, ३१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चालू आर्थिक वर्षको असार अन्तिमसम्ममा चितवनमा ७० र मकवानपुरमा ६३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । हालसम्म चितवनमा १९ हजार २११ हेक्टर र मकवानपुरमा ६ हजार ९३० हेक्टर जमीनमा रोपाइँ सकिएको हो । चितवन र मकवानपुर कार्यक्षेत्र रहेको भरतपुरस्थित कृषि ज्ञान केन्द्रका अनुसार चितवनमा २७ हजार ४४५ हेक्टर मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

यो वर्ष चाँडै नै वर्षा भएकाले अधिकांश किसानले धान रोपाइँ छिट्टै गर्न पाएका हुन् । जिल्लाका सबै पालिकाहरूमध्ये भरतपुर महानगरपालिका बाहेकका क्षेत्रहरूमा धान रोपाइँ करीब सकिएको ज्ञान केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिए । भरतपुर महानगरपालिकाले जिल्लाको धानखेतीयोग्य क्षेत्रफलमध्ये ४० प्रतिशत हिस्सा ओगटेको छ ।

पूर्वी चितवन, दक्षिण माडी, पहाडी क्षेत्र ईच्छाकामना गाउँपालिकामा लगभग रोपाइँ सकिएको छ’, ढकालले भने, ‘सबैभन्दा धेरै बाँकी रहेको क्षेत्र भरतपुर महानगरपालिका हो ।’ भरतपुर महानगरपालिकाका अधिकांश क्षेत्रमा तरकारीखेती र मकै थन्क्याउन ढिला भएकाले रोपाइँ बाँकी रहेको उनले बताए । यस्तै मकवानपुरका केही क्षेत्रहरूहरूमा पनि मकै थन्क्याउन ढिला हुँदा प्रसस्त पानी परेको भए पनि रोपाइँ ढिला भएको उनको भनाइ छ ।

चितवनमा रोपाइँ हुन बाँकी क्षेत्रहरूमा अधिकांश किसानहरूले धानको बीउ नै लगाउन ढिला हुने र सिँचाइ प्रणाली ढिला चालू हुने भएकाले रोपाइँ ढिला हुने गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी तथा बाली विकास अधिकृत माधव पौडेल गत वर्षहरूमा समेत ती क्षेत्रहरूमा रोपाइँ ढिला हुने गरेको बताउँछन् । ‘विगतका वर्षहरूमा भदौसम्म पनि रोपाइँ गरेको हामीले देखेका हौं’, उनले भने, ‘अहिले अलि चाँडो रोपाइँ शुरू हुन्छ ।’

नारायणी लिफ्टको सिँचाइ व्यवस्थापनबाट केहीदिन अघिमात्र सञ्चालन गरिएकाले रोपाइँले गति लिने उनले बताए । केही क्षेत्रहरूको खेतीयोग्य जमीनमा बढी पानी जमेका कारण रोपाइँ हुन नसकेको उनको भनाइ छ ।

लकडाउनका कारण अधिकांश तरकारी किसानले पुनः तरकारीखेती नगरी धानखेती गरेका कारण क्षेत्रफल, उत्पादन र उत्पादकत्व समेत बढ्ने ज्ञान केन्द्रको अनुमान छ । ‘यसपाली सबैजसो किसानको तरकारी बारी मै कुहियो । उनीहरूले तरकारी लगाउनुको सट्टा धानखेती लगाए ।’ ज्ञान केन्द्रकी सूचना अधिकारी सुरुची त्रिपाठीले भनिन् ।

खेतीयोग्य जमीनमध्ये वर्षभरि र मौसमी गरी जम्मा ७२ दशमलव ७ प्रतिशत जमीनमा सिँचाइ पुगेको ज्ञान केन्द्रले जानकारी दिएको छ । गत वर्ष चितवनमा मात्र वर्षे र चैते गरी २७ हजार ६५९ हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । त्यस कारण चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन रहेको छ भने वर्षे धान प्रतिहेक्टर उत्पादकत्व ३ दशमलव ५२ छ । अघिल्लो वर्ष चितवनमा १ लाख ६७२ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)