प्रधानमन्त्रीले फेरि जोक सुनाउन शुरू गर्नुभएको छ । लामो समय गम्भीर मुद्रामा देखिनुभएका प्रम एकाएक फेरि हास्य मुद्रामा प्रस्तुत हुन थाल्नु भएको छ । विगतमा नेपाल र नेपालीलाई मात्र हँसाएर मनोरञ्जन दिँदै आउनुभएका प्रमको हास्य करियरले अब भने छलाङ नै मार्ने छाँटकाँट देखिएको छ । यस अघिसम्म नेपालमै सीमित रहेको उहाँको अर्गानिक जोकले पहिलोपटक भारतीय बजारमा पनि प्रवेश पाएको छ । यसै हप्ता उहाँले अयोध्या र रामको जोक सुनाउनु भयो । कोरोना महामारीबीच ‘लञ्च’ भएको यो जोक खुब चर्चित हुन पुग्यो ।
जोक नै सुनाएको भए पनि केही मानिसले अयोध्याको प्रसंगलाई सही हो भने, कतिले सरासर झुठ । तर मलाई झुठ बोल्ने व्यक्ति असाध्यै मन पर्छ । कम्ता गाह्रो हुन्छ झुठ बोल्न । आफ्नो सम्पूर्ण अनुहारको भावभंगिमा पूर्ण नियन्त्रणमा राखेर मात्र झुठ बोल्नुपर्ने हुन्छ । तर सत्य बोल्न खासै मेहनत गर्नै पर्दैन । मनमा जे लाग्यो बोल्दिए पुग्छ । झुठो बोलेपछि के बोलेको थिएँ भनेर सम्झिरहनुपर्छ । अनि केही गरी मिलेन भने त्यसलाई साँचो बनाउन फेरि अर्को झुठ बोल्नुपर्छ । तर सत्य बोल्न यस्तो केही सोच्नै पर्दैन ।
अर्को एउटा क्षेत्र छ, जहाँ खुब झुठ चल्छ । तपाईं आफ्नो स्वास्थ्य खराब भएपछि अस्पताल जानुहुन्छ । डाक्टरले पनि तपाईंलाई बाह्रथरी जाँच गर्न लगाउँछन् । तपाईंको खल्ती पनि रित्तिन्छ । तर रिपोर्ट आउँछ कि सबैथोक सामान्य नै छ भनेर । मानिस त मानिस अब मेशिन पनि झुठ बोल्ने कुरामा अभ्यस्त भइसके जस्तो छ ।
झुठ बोल्दै गर्दा नै मानिसको साहस र धैर्यको परीक्षा हुने गर्छ । इतिहास साक्षी छ कि जो झुठो बोल्ने कलामा निपुण हुन्छ, ऊ दिन दुई गुणा, रात चौगुणा गतिमा उन्नतितिर लम्किरहेको हुन्छ । बुद्ध नेपालका जन्मेका हुन् भन्दा भारतले वास्तै गर्दैनथ्यो, तर अयोध्या नेपालमा छ भन्नेबित्तिकै देख्नुभएन भारतमा कत्रो हल्लीखल्ली ? शक्ति केमा र छ त ?
झुठ बोलेर उन्नति गर्नेमध्ये पनि मलाई सबैभन्दा मन पर्नेमा चैं राजनीतिक नेता नै हुन् । आज देशमा जुन रफ्तारमा विकासको बस गुडिरहेको छ, त्यसको सम्पूर्ण श्रेय कसैलाई जान्छ भने त्यो छोटे बडे नेताहरूलाई नै जान्छ । गर्न सकिने र नसकिने कुराहरूलाई पनि बारम्बार झुठ बोलेरै भए पनि मानिसलाई सधैं एउटा आशा जगाइरहन उनीहरू सफल हुन्छन् कि वर्तमानमा नभए पनि भविष्यमा त अवश्य काम हुन्छ, माम हुन्छ भनेर । नत्र हाल देशको बेहाल देखेर अझ कति धेरै मानिस आत्महत्या गर्न बाध्य हुन्थे होला ।
त्यसो त नेतापछि व्यापारी, उद्योगी पनि झुठ बोल्ने कुरामा माहिर हुन्छन् । उनीहरू आफ्नो नाफाको बारेमा प्रायः सत्य बताउनै चाहन्नन् । यसो गर्दा उनीहरूले सरकार र विभिन्न सरोकारवाला निकायबाट सहानुभूति प्राप्त गर्छन् र निरन्तर प्रगति पनि गरि नै रहन्छन् । अझ रोचक यो छ कि मौका मिल्नासाथ उनीहरू आफूले आस्था राख्ने भगवान्सँग पनि झुठ बोलिरहन्छन् । उनीहरू आफूसँग केही नभएको र आफू भिखारी हो भन्ने प्रमाणित गर्न समेत कुनै कसर बाँकी राख्दैनन् ।
त्यस्तै वकिल दिनदिनै झुठ बोलिरहेको हुन्छ । कुनै मुद्दा चल्छ । एउटा पक्षले जित्छ, अर्को पक्षले हार्छ । यसको मतलब एउटाले त झुठ बोलेकै हुन्छ । अर्को एउटा क्षेत्र छ, जहाँ खुब झुठ चल्छ । तपाईं आफ्नो स्वास्थ्य खराब भएपछि अस्पताल जानुहुन्छ । डाक्टरले पनि तपाईंलाई बाह्रथरी जाँच गर्न लगाउँछन् । तपाईंको खल्ती पनि रित्तिन्छ । तर रिपोर्ट आउँछ कि सबैथोक सामान्य नै छ भनेर । मानिस त मानिस अब मेशिन पनि झुठ बोल्ने कुरामा अभ्यस्त भइसके जस्तो छ ।
हुन पनि झुठ बोली बोलीकन भगवान्लाई समेत खुशी पार्नतिर मानिस दौडिरहेछ भनेपछि मान्छेका अगाडि झुठ बोल्नु कुन ठूलो कुरा भयो र ? त्यसैले त नाम चलेका ठूला खेलाडी, कलाकार, मोडलहरू अलिकति पैसाका लागि तपाईंको अगाडि झुठ बोल्छन् र तपाईंलाई उनीहरूले भनेकै सामान वा सेवा किन्न फसाउन खोज्छन् । अनि झुठ बोलेकै आधारमा विभिन्न पुरस्कारका हकदार पनि बन्छन् । रमाइलो कुरा त यो छ कि झूठो हो भन्ने जान्दा जान्दै तपाईं पनि त्यै सामान किन्न पाउँदा खुशी हुनुहुन्छ । यसरी आम सर्वसाधारण पनि झुठकै संसारमा मस्त देखिन्छन् ।
वास्तवमा अहिले प्रायः सबैले झुठ बोलिरहेका छन् । के नेता, खेलाडी, कलाकार, सरकार सबैले झुठ बोलिरहेकै छन् । भगवान्का भक्त झुठ बोलिरहेका छन् । विज्ञापन झुठ बोलिरहेको छ, मुद्दाले झुठ बोलिरहेको छ । साक्षी झुठ बोलिरहेको छ । भारत झुठ बोलिरहेको छ । चीन, अमेरिका सबै झुठ बोलिरहेका छन् । अब भगवान् बुद्धको ज्ञान ककसलाई सुनाउँदै हिँड्ने कि झुठ बोल्नु पाप हो भनेर । किनकि यो कलियुगमा केवल झुठकै त बोलावाला छ । विभिन्न शास्त्रहरूले त धेरै पहिलेदेखि नै भनेका छन् कि यो संसार नै माया हो अर्थात् झूठ हो भनेर । ब्रह्म सत्यम् जगन्मिथ्या भनेर त ऋषिमुनिहरूले उहिल्यै भनेका हुन् नि । संसार नै मिथ्या अर्थात् झुठ भएपछि तपाईं हामी सबैले झुठ बन्नु परेन त ? यही दर्शनको गहिराइमा पुगेर हाम्रा प्रधानमन्त्री यसको साधनामा लाग्नु भएको त होइन कतै ?
जेहोस्, अहिले सबैभन्दा फस्टाएको भनेकै झुठको खेती मात्र हो । अरू खेती त मल, सिँचाइको अभाव, सलह र राजनीतिक कलहले सिध्याइसक्यो । त्यसैले मैले सुने अनुसार झुठसँग डराएर सत्य आफै आफ्नो अनुहारमा कालो पोतेर लुकिलुकी हिँडिरहेको छ । सत्यलाई तपाईंले देख्नुभयो त कतै ?
यो लेखबाट थाहा भो: नेताहरुले झुठ बोलेरै भए पनि जनतालाई आत्महत्या गर्नबाट जोगाएका रहेछ्न । आफ्ना नागरिकलाई जोगाउन यस्तो झुठ बोलिरहनुहोस, उखानतुक्का जोडेर हसाइरहनुहोस, हर्दीमहिमा र अयोध्यागाथा गाइरहनुहोस- नेताजीहरुमा शुभकामना ।