ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ट्राफिक कार्यालयको वार्षिक राजस्व संकलन घट्यो

२०७७ सावन, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । लामो समय कायम रहेको लकडाउनका कारण अधिकांश सवारीसाधन नचल्दा ट्राफिक प्रहरी कार्यालय, चितवनको राजस्व संकलनमा कमी आएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षको राजस्व संकलनमा कमी आएको हो ।

कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो वर्ष कार्यालयले रू. ३ करोड ७ लाख ६५ हजार ५०० रूपैयाँ राजस्व संकलन गरेको थियो । तर, गत आर्थिक वर्षमा रू. २ करोड ३१ लाख ४ हजार मात्र संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष ४० हजार २९ ओटा सवारी कारवाहीमा परेका थिए भने गत आर्थिक वर्ष ३० हजार ८५९ ओटा सवारीसाधन कारवाहीमा परेका छन् ।

लकडाउनका कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न नपाएको र चलेका सवारी साधनमाथि पनि चेकजाँच खुकुलो गरिएकाले राजस्व संकलनमा कमी आएको कार्यालय प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।

धेरै राजस्व ट्रक र टिपरबाट
जिल्लाका सडकमा चल्ने सबैभन्दा बढी मालबाहक ट्रक र टिपरबाट राजस्व संकलन हुने गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष ति सवारीसाधनबाट रू. ४२ लाख २७ हजार ५०० राजस्व संकलन भएको छ । सो अवधिमा ५ लाख ९९९ ओटा ट्रक र टिपर कारबाहीमा परेका थिए ।

यस्तै अघिल्लो आर्थिक वर्ष ति सवारीसाधनबाट रू. ८२ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन भएको थियो । उक्त अवधिमा कार्यालयले १० हजार ७०८ ओटा त्यस्ता सवारीसाधनलाई कारवाही गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष दोस्रो बढी राजस्व संकलन जीप, भ्यान र कारबाट भएको थियो । जसअनुसार अघिल्लो आर्थिक वर्ष त्यस्ता सवारीसाधनबाट कार्यालयले रू. ७३ लाख १० हजार ५०० राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा त्यस्ता सवारीसाधनबाट रू. ५३ लाख ४४ हजार ५०० मात्रै राजस्व संकलन भएको छ ।

कार्यालय प्रमुख भट्टका अनुसार सवारी उल्लंघन कसुर अनुसार ठूला सवारीसाधनको जरीवाना बढी हुने भएकाले तुलनात्मकरूपमा त्यस्ता सवारीसाधनबाट राजस्व बढी संकलन हुने गरेको हो ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ८ हजार ९१८ ओटा मोटरसाइकल कारबाहीमा परेका थिए । ति सवारीसाधनबाट कार्यालयले रू. ७५ लाख ९० हजार ५०० राजस्व संकलन गरेको छ । यस्तै अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा रू. ६१ लाख ३० हजार ५०० राजस्व संकलन भएको थियो । सो अवधिमा ७ हजार १३१ ओटा मोटरसाइकल कारबाहीमा परेका थिए ।

यस्तै यात्रुवाहक बसबाट कार्यालयले गत वर्ष रू. २९ लाख ८७ हजार ५०० संकलन गरेको थियो । सो अवधिमा ४ हजार २०० ओटा बस कारबाहीमा परेका छन् । अघिल्लो वर्ष कार्यालयले ६ हजार ३७४ यात्रुवाहक बसको कारबाहीबाट रू. ५० लाख ३४ हजार राजस्व संकलन गरेको थियो । यस्तै टेम्पोबाट कार्यालयले गत वर्ष रू. १८ लाख ७१ हजार ५०० राजस्व संकलन गरेको थियो । सो अवधिमा २ हजार ४८६ ओटा टेम्पो कारबाहीमा परेका थिए । अघिल्लो वर्ष रू. २२ लाख ५६ हजार ६०० राजस्व संकलन गरेको थियो भने ३ हजार ४४२ ओटा टेम्पो कारबाहीमा परेका थिए ।

गत वर्ष कार्यालयले १ हजार ४११ ओटा ट्र्याक्टरबाट रू. १० लाख ८२ हजार ५०० राजस्व संकलन गरेको छ भने अघिल्लो वर्ष २ हजार २० ओटा ट्र्याक्टर कारबाहीमा पर्दा रू. १६ लाख १६ हजार राजस्व संकलन भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)