ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पशु आहारा परियोजनाको लागि साढे २ करोड लगानी 

२०७७ सावन, ५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन ५, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित केशरबाघमा पशु आहार विस्तार परियोजना र नमूना गाई फार्मका लागि प्रदेश सरकार र स्थानीय सरकारले रू. २ करोड ४६ लाख लगानी गरेको छ । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले शनिवार ‘पशु आहार विस्तार परियोजना’ र ‘नमूना गाई फार्म’ को एकसाथ उद्घाटन गरेको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले दुवै कार्यक्रमको एकैसाथ उद्घाटन गरेकी हुन् । उक्त संरचनामा बाग्मती प्रदेश सरकारको एक करोड, सहकारीको एक करोड रकम साझेदारी रहेको छ । नमूना गाई फार्मको लागि भरतपुर महानगरपालिकाबाट रू. ३० लाख लागत साझेदारी रहेको सहकारीले जानकारी दिएको छ । ‘प्रदेश र स्थानीय सरकारले दिए बाहेकका अन्य रकम सहकारीले नै व्यवस्थापन गरेको छ,’ संस्थाका अध्यक्ष ऋषिराम चापागाईँले भने ।

सहकारीले कम लागतमा धेरै दुध उत्पादन गर्ने उद्देश्यले नमूना गाई फार्मको अवधारणा ल्याएको चापागाईले बताए । करीब १२ कठ्ठा क्षेत्रफलमा दुईओटा परियोजना सञ्चालनमा ल्याउन लागेको हो । गाई फार्म निर्माणको चरण अन्तिम भएपनि पशु आहार विस्तारमा भने अझ केही समय लाग्ने उनले बताए । 

हाल बन्दै गरेको फार्ममा ५० ओटा दुहुनो गाई राख्ने र गाईलाई दाम्लोरहित बनाउने योजना रहेको संस्थाका निवर्तमान अध्यक्ष भगिरथ तिमिल्सिनाले जानकारी दिए । नेपालमै पहिलोपटक ०६८ सालमा उन्नत गाईको स्रोतकेन्द्र स्थापना प्रजनन गराइएका गाईका बाछी विभिन्न जिल्लामा पठाउँदै आएको सहकारीले अन्तर राष्ट्रियस्तरको नमूना गाई फार्मको शुरु गरेको संस्थाका निवर्तमान अध्यक्ष भागिरथ तिमिल्सिनाले जानकारी दिए । 

उनका अनुसार गाईलाई स्वतन्त्र छाड्दा उत्पादन क्षमता बढ्नुका साथै रोग पनि कम लाग्ने छ । पशु आहारतर्फ भने गाईको लागि स्वस्थ दानाको उत्पादन हुनेछ । जहा साइलेज (घाँसलाई गुन्द्रुक बनाउने तरिका), टिएमआर (घाँस, अन्न, भिटामिनलगायत गाईलाई चाहिने संयुक्त आहार) र दाना उत्पादन गरिनेछ ।

यहाँ उत्पादन हुने आहारलाई बाहिरी जिल्लामा समेत निर्यात गर्न सकिने गरी उत्पादन गर्ने योजनासहित सञ्चालनमा ल्याउने प्रयास गरिएको तिमिल्सिनाले बताए । 

भरतपुर महानगरपालिकाले पनि कृषि क्षेत्रको लागि योजनाबद्ध रुपले लगानी बढाउँदै जाने बताएको छ । उद्घाटन पश्चात महानगर प्रमुख रेनु दाहालले यो वर्ष कृषि क्षेत्रको लागि मात्रै करीब रू. १५ करोड बराबरको बजेट विनियोजन गरेको जानकारी दिइन् । 

‘हामीले किसानको लागि सन्तुलित ढंगले बजेट विनियोजन गरेका छौँ,’ उनले भनिन्, ‘अबको दुई वर्षमा कृषिमा हामी थप लगानी बढाउदै लग्नेछौं ।’ यसअघि किसानले उत्पादनको आधारमा दूधमा पाउँदै आएको अनुदान रकम पनि एक रूपैयाँबाट बढाएर प्रतिलिटर तीन रूपैयाँ पु¥याउने निर्णय भइसकेकोले कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ ।

‘किसानले पाउँदै आएको एक रूपैयाँ अनुदानमा महानगरको एक रूपैयाँ र प्रदेश सरकारको एक रूपैयाँ थपेर प्रतिलिटर तीन रूपैयाँ अनुदानको कार्यान्वयन गर्दैछौँ,’ उनले भनिन् । 

०४१ सालमा ५० जना किसानबाट १३० लिटर दूध संकलन गर्दै स्थापना भएको सहकारीमा अहिले दैनिक साढे ८ हजार लिटर दूध संकलन हुँदै आएको छ । अहिले ६०० भन्दा बढी सदस्यहरू यो सहकारीमा आबद्ध छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)