ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय भरतपुर : राजस्व असुली लक्ष्यभन्दा २२ अर्ब कम

२०७७ सावन, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । गत आर्थिक वर्ष २०७६/७७ मा आन्तरिक राजस्व कार्यालय, भरतपुरको वार्षिक राजस्व संकलनमा लक्ष्यभन्दा रू. २२ अर्बले कमी भएको छ । राजस्व विभागले गत आवमा उक्त कार्यालयलाई रू. ४३ अर्ब ३८ करोड ७७ लाख लक्ष्य दिएकोमा कार्यालयले असार मसान्तसम्ममा रू. २१ अर्ब ९७ करोड ७८ लाख १० हजार राजस्व असुली गरेको छ ।

लामो समय भएको लकडाउनका कारण अधिकांश व्यापारिक प्रतिष्ठान बन्द रहेको र आथिर्क गतिविधिसमते ठप्प हुँदा राजस्वमा कमी आएको कार्यालयले बताएको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत कपिल नेपालले लकडाउनका कारण सबै आर्थिक क्षेत्र प्रभावित भएकोले राजस्व असुलीको लक्ष्य हासिल हुन नसकेको बताएका छन् ।

‘लकडाउनका कारण सबै उद्योग व्यवसाय बन्द पनि भए,’ उनले भने, ‘सरकारी खर्च घट्यो र आयकर पनि उठ्न सकेन ।’ मदिरा तथा सूर्तीजन्य उत्पादनको विक्री निकै घटेकाले पनि कर असुली नभएको उनको भनाइ छ ।

सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट कार्यालयको सबैभन्दा बढी राजस्व संकलन अन्तःशुल्कबाट हुने गरेको छ । गत आवमा पनि सबैभन्दा बढी राजस्व संकलन यसैबाट संकलन भएको छ भने सबैभन्दा कम शिक्षा सेवा शुल्कबाट भएको छ । अन्तःशुल्कबाट कार्यालयले रू. १९ अर्ब ८६ करोड १२ लाख ९ हजार असुल गरेको छ ।

विभागले उक्त शीर्षकमा रू. ३७ अर्ब ९४ करोड ४३ लाख ८८ हजार संकलनको लक्ष्य दिएको थियो । यस्तै शिक्षा सेवा शुल्कबाट रू. २ लाख ४७ हजार मात्र असुली भएको छ । उक्त शीर्षकमा विभागले रू. १ करोड ३७ लाख ४३ हजार उठाउने लक्ष्य दिएको थियो । लकडाउन अवधिमा मदिराजन्य उत्पादनका साथै विक्री वितरण पनि सहज नभएकोले अन्तःशुल्कको राजस्व असुली घटेको हो । शिक्षा सेवाशुल्क शीर्षकमा अधिकांश शैक्षिक संस्थाको राजस्व असुली नै कम भएको र विदेश जाने विद्यार्थीको संख्या घट्दा उक्त शीर्षकमा राजस्व उठ्न नसकेको कार्यालयका प्रमुख शुभप्रसाद रिजालले जानकारी दिए ।

कार्यालयले दोस्रो सबैभन्दा बढी राजस्व संकलन आयकरबाट गरेको छ, जसअनुसार गतवर्ष रू. २ अर्ब १९ करोड ३१ लाख ६१ हजार असुली भएको छ । सो अवधिमा कार्यालयलाई रू. ३ अर्ब ६ करोड ४७ लाख ४४ हजारको लक्ष्य दिइएको थियो । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ भने लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । गत आवमा कार्यालयलाई विभागले रू. २ अर्ब ८ करोड ८४ लाख ९८ लाख १९ हजार राजस्व संकलनको लक्ष्य दिएकोमा रू. २ अर्ब ९ करोड ८४ लाख ८६ हजार राजस्व संकलन भएको छ ।

ब्याजकरबाट गतवर्ष कार्यालयले रू. १४ करोड ९० लाख ९५ हजार राजस्व असुली गरेको छ । उक्त शर्षिकमा रू. १८ करोड १० लाख ८३ हजार राजस्व असुलीको लक्ष्य रहेको थियो । यस्तै घरबहाल कर शीर्षकमा कार्यालयले रू. ५ करोड ७९ लाख ५० हजार राजस्व असुल गरेको छ । उक्त शीर्षकमा रू. ९ करोड ३९ लाख २३ हजार संकलनको लक्ष्य दिइएको थियो । स्वास्थ्य सेवा करबाट कार्यालयले रू. १ करोड ७८ लाख ६८ हजार राजस्व संकलन गरेको छ । सो शीर्षकमा भने कुनै पनि लक्ष्य नदिइएको कार्यालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)