ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या कमी भएसँगै राजस्व संकलन घट्यो 

२०७७ सावन, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन ६, चितवन । विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ को गम्भिर असर पर्यटन क्षेत्रमा परेको छ । अघिल्लो वर्षको तुलनामा गतवर्ष पर्यटकको संख्या अपेक्षाकृत रुपमा बढ्ने अनुमान गरिए पनि ४ महीनादेखि यो क्षेत्र ठप्प जस्तै भएको छ । 

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा पनि कोभिड १९ का कारण पर्यटकको संख्यामा कमी आएको छ । जल, जमीन, जंगलमा आधारित चितवनको पर्यटनमा निकुञ्जमा सफारी गर्न बन्द भएसँगै यसको असर राजस्वमा परेको हो । पर्यटन भ्रमण वर्षको तयारी अनुसार विगतका महीनामा पर्यटकको संख्या र अनुपात उल्लेखनीय भएपनि लकडाउनका कारण पर्यटकको संख्या शून्य भएपछि राजस्वमा समेत गिरावट देखिएको छ । 

पर्यटकको संख्यामा कमी 
गत आर्थिक बर्ष ०७६/७७ मा चितवन राष्ट्रिय निकुञ्जमा १ लाख ८३ हजार ९४१ जनाले जंगल सफारी गरेका छन् । गत वर्षको फागुन महीनासम्म पर्यटककको संख्यामा वृद्धि हुँदै गएपनि चैतपछि भने पर्यटकको संख्या शून्य छ । जसअनुसार उक्त वर्षमा सबैभन्दा बढी कार्तिक महीनामा ३६ हजार ७३९ जनाले निकुञ्जको सफारी गरेका छन् भने सबैभन्दा कम चैत्रमा ३ हजार ९०६ जनाले निकुञ्ज को भ्रमण गरेका छन् । पर्यटकको पिकसिजन अगस्टबाट शुरु भएसँगै कार्तिकमा बढी पर्यटक र कोभिड-१९ का कारण चैत्र ११ देखि लकडाउन भएपछि सबैभन्दा कम पर्यटक चैत्रमा देखिएको हो । 

त्यसै गरी गत आवको पुष महीनामा ३० हजार ८४४, मंसीर महीनामा ३० हजार २५७ जना, माघ महीनामा २८ हजार ३१७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । यसैगरी फागुन महीनामा २० हजार १०१ जना, असोजमा १५ हजार ५४४, साउन महीनामा ९ हजार ५१० र भाद्र महीनामा ७ हजार ४९८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । 

लकडाउनका कारण गत आवको वैशाखदेखि असारसम्म भने पर्यटक संख्या शून्य छ । अघिल्लो वर्ष ०७५/०७६मा पर्यटकको निकुञ्जमा कुल १ लाख ८७ हजार १०९ जनाले निकुञ्ज भ्रमण गरेका थिए ।  सौराहा लगायत अन्य चितवनका पर्यटकीय गन्तव्यमा आउने पर्यटकको संख्याको गणना गर्ने प्रणाली नभएपनि निकुञ्जमा आउने पर्यटकको संख्यालाई आधार मानिदै आएको छ । यद्यपी चितवन आउने सबै पर्यटक निकुञ्ज भ्रमण गर्न जादैनन् । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती गत वर्ष पर्यटक वृद्धिको अनुपात आशातित रुपमा बढेपनि लकडाउनका कारण पर्यटक र राजस्व संकलन समेत कमी भएको बताउँछन् ।

सौराहाका अध्यक्ष दिपक भट्टराई सिजन शुरु भएपछिनै लकडाउन भएका कारण सौराहाको पर्यटक संख्यामा कमी आएको बताउँछन् । ‘हामीले पर्यटन वर्षको भव्य प्रचारप्रसार गरी ४ लाख पर्यटन भित्र्याउने लक्ष्य सहित बढेका थियौं । उनले भने, पिकआवरमै पर्यटन क्षेत्र बन्द गर्नुपर्‍यो ।’ उनका अनुसार विगतका वर्षहरुमा चितवनमा २ लाख भन्दा बढी पर्यटक चितवन आउने गरेपनि गत आबमा ४ लाख पर्यटक आउने अनुमान पर्यटन व्यवसायीको थियो । 

राजस्व संकलनमा समेत कमी 
अघिल्लो आव ०७५/०७६ को तुलनामा गत आव ०७६/०७७ मा राजस्व संकलनमा समेत कमी आएको छ । निकुञ्ज कार्यालयका अनुसार गत आवमा रू. २१ करोड ३ लाख ७६ हजार ६८५ राजस्व संकलन भएको छ । 

जसअनुसार कार्यालयले काठ दाउरा विक्री बापत रू. ३ लाख ९१ हजार ५९९, पर्या पर्यटनबाट रू. १८ करोड २२ लाख ५६ हजार ४३० अन्य बन रोयल्टी बापत रू. २ करोड ४९ लाख २१ हजार ३०५ संकलन गरेको छ । 

यस्तै दण्ड सजायबाट १४ लाख १ हजार ६१० र अन्य शीर्षकबाट रू. १४ लाख ५ हजार ७४० संकलन भएको छ । अघिल्लो आवमा सबै शीर्षक गरी रू. २९ करोड ४४ लाख ६६ हजार ६३९ राजस्व संकलन भएको थियो ।  

गत आवमा झण्डै कुल ४० करोड हाराहारीमा राजस्व संकलन हुने लक्ष्यसँगै उत्साहित थियौं, उनले भने, तर संकलनको विगतको ट्रेण्ड हेर्दा पनि पर्यटकबाट उठ्ने राजस्व संकलन त्यति कम होइन ।’  निकुञ्जले पर्यटक प्रवेश शुल्क अन्तर्गत हात्ती सफारी, जीप सफारी, जंगल वाक लगायतका शीर्षक लगायत वनपैदावर र दण्ड जरीवानाबाट राजस्व असुल्ने गर्दछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)