ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन राष्ट्रिय निकुञ्ज : पर्यटक घटेसँगै राजस्व संकलन प्रभावित

२०७७ सावन, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोभिड–१९ र लकडाउनका कारण चितवन राष्ट्रिय निकुञ्जको राजस्व संकलन पनि प्रभावित भएको छ । मुख्यतः राष्ट्रिय निकुञ्ज सफारी गर्न बन्द भएपछि यसको असर राजस्व आम्दानीमा परेको हो । भ्रमण वर्षको तयारी अनुसार लकडाउन अघिका महीनामा पर्यटकीय गतिविधि र राजस्व संकलन उल्लेख्य भए पनि लकडाउनपछि पर्यटक संख्या शून्य भएकाले निकुञ्जको राजस्व खुम्चिएको हो ।

निकुञ्ज कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा २१ करोड ३ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जसमा कार्यालयले काठदाउरा विक्री बापत ३ लाख ९१ हजार, पर्यापर्यटनबाट १८ करोड २२ लाख ५६ हजार, वन रोयल्टी बापत २ करोड ४९ लाख २१ हजार संकलन गरेको छ । यस्तै दण्ड सजायबाट १४ लाख १ हजार र अन्य शीर्षकबाट १४ लाख ५ हजार रुपैयाँ संकलन भएको छ । अघिल्लो आवमा सबै शीर्षकबाट गरी २९ करोड ४४ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांकले देखाएको छ ।  

‘गत आवमा ४० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन हुने लक्ष्यसँगै उत्साहित थियौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भने, ‘तर संकलनको विगतको प्रवृत्ति हेर्दा पनि पर्यटकबाट उठ्ने राजस्व संकलन त्यति कम होइन ।’ निकुञ्जले पर्यटक प्रवेश शुल्क अन्तर्गत हात्ती सफारी, जीप सफारी, जंगल वाक लगायत शीर्षकका साथै वनपैदावार र दण्ड जरीवानाबाट राजस्व असुली गर्दछ ।

गत आर्थिक वर्षमा निकुञ्जमा १ लाख ८३ हजार ९४१ जनाले जंगल सफारी गरेका छन् । गतवर्षको फागुनसम्म पर्यटकको संख्यामा वृद्धि हुँदै गए पनि चैतपछि भने शून्यमा झरेको छ । निकुञ्जका अनुसार गतवर्ष कात्तिकमा सबैभन्दा बढी ३६ हजार ७३९ जनाले निकुञ्ज भ्रमण गरेका छन् भने चैतमा सबैभन्दा कम ३ हजार ९०६ जनाले भ्रमण गरेका छन् । त्यसैगरी गत आवको साउनमा ९ हजार ५१०, भदौमा ७ हजार ४९८, असोजमा १५ हजार ५४४, मंसिरमा ३० हजार २५७, पुसमा ३० हजार ८४४, माघमा २८ हजार ३१७ र फागुनमा २० हजार १११ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।

लकडाउनका कारण गत आवको वैशाखदेखि असारसम्म भने पर्यटक संख्या शून्य छ । अघिल्लो आव २०७५÷७६ मा निकुञ्जमा कुल १ लाख ८७ हजार १०९ जनाले निकुञ्ज भ्रमण गरेका थिए । सौराहा, मेघौली लगायत जिल्लाका अन्य गन्तव्यमा आउने पर्यटकको गणना गर्ने प्रणाली नभए पनि निकुञ्जमा आउने पर्यटकको संख्यालाई आधार मानिँदै आएको छ । यद्यपि चितवन आउने सबै पर्यटक निकुञ्ज भ्रमणमा भने जाँदैनन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रूपाखेती गतवर्ष पर्यटक वृद्धिको अनुपात अपेक्षित रूपमा बढे पनि लकडाउनका कारण पर्यटक आगमन र राजस्व संकलन समेत घटेको बताउँछन् । ‘पर्यटन वर्षको माहोलले पनि निकुञ्ज भ्रमणका लागि आउनेहरू र राजस्व समेत बढ्ने अपेक्षा थियो,’ उनले भने, ‘तर कोरोना संक्रमण र लकडाउनले अवस्था उल्टो भयो ।’ क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष दीपक भट्टराई सिजन शुरू भएपछि नै लकडाउन भएकाले सौराहामा पर्यटक संख्या घटेको बताउँछन् ।  ‘पर्यटन वर्षको भव्य प्रचारप्रसार गरी ४ लाख पर्यटक सौराहा भित्र्याउने लक्ष्यसहित अघि बढेका थियौं,’ उनले भने, ‘तर पिक सिजनै पर्यटन क्षेत्र बन्द गर्नुप¥यो ।’ उनका अनुसार विगतका वर्षमा २ लाखभन्दा बढी पर्यटक चितवन आउने गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)